मतदानमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकको अपिल

  ०७९ वैशाख २९ गते

देशैभरका स्थानीय तहमा वैशाख ३० गते हुने निर्वाचनमा भाग लिई सार्वभौम अधिकारको प्रयोग गर्न इन्सेकले अपिल जारी गरेको छ ।

इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा वैशाख २९ गते जारी अपिलमा मतदानमा भाग लिन आग्रह गरिएको हो ।

जननिर्वाचित प्रतिनिधिले प्रशासनिक, व्यवस्थापकीय तथा कार्यकारी क्रियाकलाप आधिकारिक रूपमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन कार्यक्रम कार्यान्वयन गर्छन् । निर्वाचित प्रतिनिधिहरू स्वाभाविक रूपमा स्थानीय जनताप्रति जिम्मेवार हुन बाध्य हुन्छन् । फेरि लोकतान्त्रिक पद्दतिलाई बलियो बनाउने काम सबैभन्दा बढी स्थानीय तहले नै गर्ने हो । लोकतन्त्र बलियो बनाउन जनताको सहभागिता महत्वपूर्ण हुन्छ ।

'स्थानीय तहको निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न आमजनसमुदायमा हार्दिक अनुरोध गर्दछौँ ।'-अपिलमा भनिएको छ ।

मानव अधिकार, सामाजिक न्याय र विधिको शासनको प्रकृयाको सुदृढिकरण र सवलीकरणमा यो स्थानीय तहको निर्वाचनले महत्वपूर्ण योगदान पुर्‍याउने इन्सेकले विश्वास लिएको छ ।

'नेपाली जनताले भोलि हुने निर्वाचनमार्फत आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई छान्न पाउने संविधान प्रदत्त सार्वभौम अधिकार प्रयोग गर्ने दिन हो । बिना कुनै डर, धाक–धम्की, त्रास र प्रलोभनमा नपरी मतदान गर्न हामी सम्पूर्ण मतदातालाई अपिल गर्दछौँ ।'-अपिलमा भनिएको छ ।


अनलाइन डेस्क