मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौलमा

  ०७८ वैशाख १९ गते

स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि जिल्लामा मतदाता शिक्षा सञ्चालन हुँन नसक्दा आफूहरु मतदान कसरी गर्ने भन्ने विषयमा अलमलमा परेको स्थानीय मतदाताहरुले गुनासो गर्नु भएको छ ।

निर्वाचन कार्यालय तथा अन्य सम्बन्धीत सरोकारवाला निकायहरुले मतदाता शिक्षालाई प्राथमिकतामा नराखेका कारण मतदाताहरु अलमलमा परेका हुन् ।

जयपृथ्वी नगरपालिका–१ का रामजङ्ग सिंहले आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्ने बारे आफूहरु अनविज्ञ रहेको बताउनु भयो ।

जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा आफू जस्तै धेरै मतदाता अन्याैलमा परेको उहाँको भनाइ छ ।

दलहरुबीच चुनावी गठबन्धन भएको कारण र मतदाता शिक्षा सञ्चालन नभएका कारण मतहरु बदर हुने सम्भावना रहेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विमलप्रसाद गौतमले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘बजेट अभावका कारण यसपटक  निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम सञ्चालन गर्न सकेन् । गैरसरकारी क्षेत्रबाट पनि मतदाता शिक्षासम्बन्धी कार्यक्रमहरु हुन नसकेकोले समस्या देखिएको छ । जिल्लामा १ लाख २२ हजार १ सय ३७ मतदाता रहेका छन् ।’

जिल्लाभरी  १ हजार ३ सय १८ जनाको उम्मेदवारी दर्ता भएकोमा १ सय १४ जनाको उम्मेदवारी फिर्ता

जिल्लाभरीमा प्रमुखमा एक महिलासहित आठ जना, उपप्रमुखमा १० जना, अध्यक्षमा ४४ जना, उपाध्यक्षमा ३२ जना, वडाध्यक्षमा ३ सय १७ जना, सदस्यमा ४ सय ७८ जना, महिला सदस्यामा २ सय २८ जना र दलित महिला सदस्यमा २ सय १ जना र खुला सदस्यमा ३ सय १८ जनाको मनोनयन दर्ता भएको भएपनि वैशाख १६ गतेसम्म १ सय १४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

जयपृथ्वी नगरपालिकाका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष गरी १६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यसैगरी बुंगल नगरपालिकामा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष गरी २३ जना, तलकोट गाउँपालिकामा उपाध्यक्ष, महिला सदस्य, वडासदस्य गरी तीन जना, मष्टा गाउँपालिकामा अध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी आठ जना, वित्थडचिर गाउँपालिकामा वडाध्यक्ष, महिला सदस्य, वडासदस्य गरी चार जना, थलारा गाउँपालिकामा उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य गरी १२ जना, दुर्गाथली गाउँपालिकामा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य गरी नौ जना, सुर्मा गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडासदस्य गरी पाँच जना, छविसपाथिभेरामा उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी १२ जना, खप्तडछान्ना गाउँपालिकामा वडाध्यक्ष, दलित महिला सदस्य, सदस्य गरी १८ जना, केदारस्युँ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष गरी तीन जना, साइपाल गाउँपालिकामा एक जना अध्यक्षका उम्मेदवार गरी १ सय १४ जनाले उम्मेदारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले बताउनु भयो ।

उम्मेदवारी फिर्तापछि जिल्लामा नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला वडासदस्य, दलित महिला वडा सदस्य र वडा सदस्य खुल्ला गरी १ हजार १ सय ९३ जनाको उम्मेदवारी रहेको छ ।


सत्यराज सिंह