मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्यौँलमा

  ०७९ वैशाख २३ गते

स्थानीय तह निर्वाचन–२०७९ नजिकै जाँदा मतदाता शिक्षा सञ्चालन नगरिएका कारण मत बदर हुने डर रहेको जिल्लास्थित मतदाताहरुले गुनासो गर्नु भएको छ । चुनाव आउन अब सात दिन मात्रै बाँकी छ । तर मतदाताले नमूना मतपत्र समेत देख्न नपाउदा अन्यौलमा परेका हुन् ।

राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले भोट माग्ने गरेको भएपनि कसरी मतदान गर्ने भन्ने बारेमा जानकारी नदिएका कारण मत बदर हुने डर बढ्दै गएको चन्दननाथ नपा–७ का नागरिक समाजका अगुवा राजबहादुर महतले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘‘भोट कसरी हाल्ने भनेर अहिलेसम्म कसैले सिकाएका छैनन् । मतदानको अनुभव नै नभएका नागरिक पनि पहिलो पटक भोट दिने अवसर पाएको हुन्छ । तर, भोट कसरी दिने भन्ने राम्रोसँग जानकारी नभएकोले मत बदर हुने सम्भावना देखिएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा नागरिकलाई निर्वाचन शिक्षा दिने गरिएको थियो । तर यसपालिको निर्वाचन शिक्षा नभएको जानकारी प्राप्त भएको उहाँले बताउनु भयो । यो विषयमा मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचनसँग जिज्ञासा राखेका थियौँ ।

अशिक्षित मतदाता धेरै छन् । कतिपय मतदातालाई कसरी मतदान गर्ने भन्ने विषयमा जानकारी नभएको चन्दननाथ नपा–९ का राजेश्वर उपाध्यायले बताउनु भयो । उहाँले भन्नुभयो, मतदाताले सही रुपमा मत हाल्न नसकेमा बदर मतको सङ्ख्या बढी हुने देखिन्छ ।

स्थानीय तह निर्वाचनमा नगरपालिका भए प्रमुख, उपप्रमुख र गाउँपालिका भए अध्यक्ष, उपाध्यक्ष सहित वडाध्यक्ष र पाँच वडासदस्य गरी सात जनालाई मतदान गर्नु पर्ने हुन्छ ।

निर्वाचन आयोगले यस पटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा सञ्चालन नगरेका र राजनीतिक दलहरुले पनि मतदान गर्ने तरिकाका बारेमा जानकारी नदिएका कारण मत बदर हुन सक्ने हिमा गाउँपालिका–१ बड्कीका खाम्बा शाहीले बताउनु भयो ।

मतदाता शिक्षाका लागि निर्वाचन आयोगबाट बजेट तथा कार्यक्रम नपठाएकोले मतदात शिक्षा कार्यक्रम सञ्चालन नभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश ज्वाहरप्रसाद सिंहले बताउनु भयो ।

स्थानीय तह निर्वाचन–२०७४ मा ५४ हजार ६ सय ९४ मतदाता रहेकोमा ४३ हजार ९ सय २६ मत खसेकोमा ३ हजार ५ सय ४७ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ । यस पटकको निर्वाचनमा जिल्लाका ८ स्थानीय तहका ६० वडामा ६७ हजार ७ सय ४४ मतदाताले मतदान गर्न पाउने छन् ।


मानदत्त रावल