मतदाता शिक्षा र परिचय पत्र सँगसँगै

दार्चुलाका ९ ओटै स्थानीय तहमा असार ११ गतेदेखि मतदाता शिक्षा र परिचय पत्र सँगसँगै दिइने भएको छ । सबै क्षेत्रमा प्रभावकारी रूपले मतदाता शिक्षा नपुगेको गुनासो पछि परिचय पत्र वितरणकै क्रममा मतदाता शिक्षा दिइने भएको हो ।

यसअघि यार्सागुम्बा खोजीका लागि लेक गएका कारण सबै क्षेत्रमा मतदाता शिक्षा प्रभावकारी हुन सकेको थिएन । झण्डै एक महिनापछि यार्सागुम्बा सङ्कलकहरू घर फर्किएपछि उनीहरूलाइ मतदाता स्वयम्सेवक र निर्वाचनमा खटिएका कर्मचारीहरूले आइतबारदेखि मतदाता शिक्षासमेत दिने तयारी गरेको जिल्ला निर्वाचन अधिकारी तुल्सीराम पाण्डेले बताए । तीन दिनसम्म हरेक घरको एक जना परिचय पत्र लिन आउँछन, सोही मौका छोपी मतदाता शिक्षा दिन निर्देशन भएको छ ।

जिल्लाका खासगरी अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिकालगायतका क्षेत्रमा मतदाता शिक्षा कम पुगेको स्थानीयले बताएका छन् । मतदाता शिक्षाबारे जानकारी गराउने जिम्मेवारी पाएका नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ दार्चुला कार्यक्रम संयोजक रमेश लोहारका अनुसार बजार क्षेत्रमै मतदाता शिक्षा प्रभावकारी भएको छैन । सबै घरधुरीमा स्वयम्सेवक पुग्न सम्भव नभएको कारण पनि नमूना मतदानको क्रममा १० प्रतिशत मत बदर हुँदै आएको थियो ।

हिमाली जिल्ला भएको कारण ६१ ओटै वडाका घरधुरीमा पुग्न समेत समस्या हुने गरेको लोहारले बताए । स्थानीय पत्रकार केशव भट्टका अनुसार शहरी क्षेत्रमै मतदाता शिक्षाबारे धेरैलाई जानकारी छैन ।

जिल्ला निर्वाचन अधिकारी पाण्डेले भने, मतदाता स्वयंसेवकलाई हरेक घरधुरीमा गएर मतदाता शिक्षाबारे जानकार गराउन निर्देशन गरिएको बताए । मतदाता शिक्षा स्वयंसेवकलाइ हरेक घरधुरीमा पुगेको नामावली ल्याउन भनिएको कारण सबै ठाउँमा मतदाता शिक्षा पुग्न दाबी गरे ।


नरेन्द्रसिंह कार्की