मतदाता शिक्षा प्रभावकारी भएन, नमूना मतदानमै अल्मलिए मतदाता

स्थानीय तहको दोश्रो निर्वाचनका लागि जिल्लामा सञ्चालित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ । गाउँ-गाउँमा तालिम प्राप्त मतदाता शिक्षा स्वयम्सेवक परिचलान गरिएको भएपनि अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको पाइएको हो ।

जिल्लामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको भएपनि जिल्ला निर्वाचन कार्यालयले बुधबार आयोजना गरेको नमूना मतदान कार्यक्रममा ११ मत बदर भएको छ । कूल ४३ जनाले नमूना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । यो सङ्ख्या २५ दशमलब ५८ प्रतिशत हो ।

नमूना मतदानमा सहभागी ज्येष्ठ नागरिक मतपत्र लामो भएका कारण मतदान गर्ने क्रममा अलमलमा परेका थिए । अलमलमा परेका सहभागीले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका प्रतिनिधि, दलका प्रतिनिधि, पर्यवेक्षक लगायतसँग जानकारी लिएपछि मात्र नमूना मतदानमा सहभागी भएका थिए ।

कतिपय मतदाताले मत हाल्ने विधिकै विषयमा जानकारी नपाएको पाइएको छ । गोप्य कोठामा गएर स्वस्तिक चिन्ह मसीमा चोब्न नजान्दा मत हालेको ठाउँमा स्वस्तिक चिन्ह नदेखिँदा दोहोर्‍याएर छाप लगाउनु परेको पनि पाइयो ।

त्यसैगरी केही मतदाताले मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने क्रममा समेत अलमलमा परेका थिए । नमूना मतदानमा देखिएको अलमलले जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेको टिप्पणी गरिएको छ ।

जिल्लामा गत वैशाख १ गतेदेखि सुरु भएको मतदाता शिक्षा कार्यक्रम वैशाख १२ गतेदेखि स्थगित गरेर पुनः जेठ ५ गतेदेखि सुचारु गरिएको छ । १ सय ७३ मतदान केन्द्र रहेको खोटाङमा स्थानीय तहको निर्वाचनका लागि १ सय ७५ जना मतदाता शिक्षा स्वयम्सेवक खटाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


सुनिता मगर