मतदाता शिक्षामा लाग्न पर्यवेक्षहरूलाई इन्सेक अध्यक्ष प्याकुरेलको आग्रह

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले मतदाता सचेत भए निर्वाचन ७५ प्रतिशत सफल हुने भएकोले आ-आफ्नो ठाउँबाट मतदाता शिक्षामा लाग्न पर्यवेक्षहरूलाई आग्रह गरेका छन् ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २६ गते काठमाडौँमा आयोजना गरेको स्थानीय तह निर्वाचन-२०७४ पर्यवेक्षण अभिमूखीकरण कार्यक्रममा इन्सेक अध्यक्ष प्याकुरेलले संविधान साभ निर्वाचनको अनुभवका बारेमा उल्लेख गर्दै हाम्रो लक्ष्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने रहेकोले पर्यवेक्षकहरूलाई गाउँ तथा स्थानीय स्तरसम्म पुगेर मतदाता सचेतना कार्यमा लाग्न आग्रह गरेका हुन् ।

अभियानले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै अध्यक्ष प्याकुरेलले नेपालमा रहेका सञ्चारमाध्यमहरूले मतदाता शिक्षालाई दैनिक रूपमा 'लाइभ' गर्न र पिएसए तथा जिङ्गलमार्फत सचेतना जगाउन सुझाव दिए ।

पर्यवेक्षकलाई स्थानीय तहको निर्वाचनमा हस्तक्षेप गर्ने अधिकार नभएको उल्लेख गर्दै उनले सम्बन्धित ठाउँमा उजुरी दिन सक्ने अधिकार भने पर्यवेक्षलाई रहेको बताए ।

स्थानीय तहको निर्वाचनको क्रममा पर्यवेक्षकहरूलाई देखेको कुरा सम्बन्धित संस्थामा पठाउन र सम्बन्धित निर्वाचन अधिकृतलाई जानकारी गराई सहयोगी भूमिका निर्वाह गर्न सुझाव दिँदै कुनै पनि हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न पर्यपेक्षकहरूलाई निर्देशन गरे ।

इन्सेकका कार्यकारी निर्देशक बिजयराज गौतमले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अभियानको औचित्यताबारे जानकारी दिएका थिए ।

कार्यक्रममा निर्वाचन आयोगका योजना तथा अनुगमन समावेशीकरण शाखाका उपसचिव मुकुन्द शर्माले निर्वाचन आचारसंहिताप्रति संवेदनशील हुन पर्यवेक्षकहरूलाई आग्रह गर्दै निर्वाचनसम्बन्धी प्रचलित कानुन र स्थानीय तह निर्वाचन पर्यवेक्षण नीति २०७३, स्थानीय तह निर्वाचन पर्यवेक्षण निर्देशिका २०७३ तथा स्थानीय तह निर्वाचन पर्यवेक्षण आचार संहिता, २०७३ बारेमा सहजीकरण गरेका थिए ।

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानमा इन्सेक, नेपाल मानव अधिकार सङ्गठन, सामुदायिक रेडियो प्रशारक सङ्घ, निर्वाचन पर्यवेक्षण समिति, निर्वाचनका लागि युवा, साझा अभियान र बहिर्गमित लडाकु नेपाल, राष्ट्रिय युवा महासङ्घलगायतका संस्था छन् । यस अभियानको सचिवालय इन्सेकमा रहेको छ ।

वैशाख ३१ र जेठ ३१ गतेका लागि घोषित स्थानीत तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सञ्जालमार्फत अभियान सञ्चालन गरिएको जनाइको छ ।


इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ