मतदाता शिक्षाको अभावले मत बदरको संख्या बढ्न सक्ने

  ०७९ वैशाख २४ गते

मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा बदर मत बढ्न सक्ने देखिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले वैशाख २३ गते वीरेन्द्रनगरमा गरेको नमुना मतदानमा एक तिहाई मत बदर भएको छ ।

बदर मत कम गर्न र मतदान शिक्षालाई जोड दिदैँ गरिएको नमुना मतदानमा कूल खसेको ३६ मत मध्ये २४ मत मात्रै सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बदर भएका मत मध्ये दुई मत पूर्णरुपमा बदर भएका छन् । बाँकी १० मत भने आंशिक रुपमा सदर छन् ।

मत बदर हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको नमुना मतदान कै मत परिणामले पनि मत बदर हुने संख्या बढ्न सक्ने देखिएको छ । मतदान गर्दा मतदाता संयमित नभए विगतको भन्दा बदर मत बढ्न सक्ने निर्वाचन अधिकृत चालिसेको भनाई छ ।

नमूना मतदानमा सुरक्षा व्यवस्था, कर्मचारी परिचालन, मतपत्र, मतपेटिका लगाएत सम्पूर्ण प्रक्रिया पुरा गरिएको थियोभने चुनाव चिन्ह सांकेतिकरुपमा राखिएको थियो ।

मतदाता शिक्षाको अभावले कसरी मतदान गर्ने भन्ने अन्योल रहेको नमुना मतदानमा सहभागि वीरेन्द्रनगरकी कुमारी भुषाल बताउँनुहुन्छ ।
मतपत्र ठूलो आकारको र गठबन्धनका उम्मेदवार हुदाँ कसरी, कसलाई छाप लगाउँदा सदर हुन्छ भन्ने कुरा आमनागरिकले स्पष्ट नबुझेको बताउनुभयो । अघिल्ला निर्वाचनमा जस्तो मतदाता शिक्षाका लागि घर घर जनशक्ति नपठाएपनि बदर मतको संख्यामा कमी ल्याउन राजनीतिक दलहरु सक्रिय भई मतदान गर्ने तरीकाका बारेमा बताउनुपर्ने उहाँको भनाई छ ।

यसअघिका निर्वाचनमा बदर मत घटनाका लागि मतदाता शिक्षा अनिवार्य गरिएको थियो । तर,यस पटक भने यो कार्यक्रम सञ्चालन गरिएको छैन् । मतदाता शिक्षामा खर्च कटौती गरेको निर्वाचन आयोगले यस निर्वाचनमा सञ्चार माध्यम र प्रविधिको प्रयोगलाई जोड दिएको छ ।
SurkhetPhoto_2022-05-07. SurkhetPhoto_2022-05-07


पूर्णबहादुर खड्का