मतगणनामा खटिएका कर्मचारीद्वारा सुरक्षाको माग

शारदा नगरपालिकाको मतगणनामा खटिएका कर्मचारीहरूले जिल्ला प्रशासन कार्यालयसँग सुरक्षाको माग गरेका छन् ।

शारदा नगरपालिकाको मतगणनामा खटिएका १६ जना कर्मचारीहरूले सामूहिक रूपमा जिल्ला प्रशासन कार्यालयमा आफुहरू असुरक्षित भएको भन्दै जेठ ४ गते निवेदन दिएका हुन् ।

एमाले, माओवादी केन्द्र र रापप्राका जिम्मेवार नेताहरू र मेयरका उम्मेदवारले आफूहरूलाई मतगणनाको विषयमा जे पनि हुन सक्ने भन्दै धम्की दिएको कर्मचारीहरूले बताएका छन् ।

कर्मचारीहरूले सुरक्षामा गम्भीर चिन्ता देखिएको भन्दै जीउ ज्यानको सुरक्षा गरिदिन प्रमुख जिल्ला अधिकारी भरतकुमार बुढाथोकीलाई आग्रह गरेका छन् । मतगणनामा खटिएका कर्मचारी सुरेशकुमार खड्का, हरि राम्जा, राजीराम रसाइलीलगायतका कर्मचारीले जेठ ४ गते संयुक्त विज्ञप्ति प्रकाशन समेत गरेका छन् ।

मतगणनामा खटिएका कर्मचारीहरूले प्राप्त मत परिणामको अभिलेखीकरणमा गल्ती गरेको भन्दै एमालेले मतगणना वहिष्कार गरेपछि जेठ २ गते साँझदेखि शारदा नगरपालिका सल्यानको मतगणना रोकिएको थियो ।

त्यसपछि एमाले, माओवादी केन्द्र र राप्रपाले पुनः मतगणनाको माग गर्दै आएका थिए । जेठ ४ गते दिउँसो बसेको सर्वदलीय वैठकले आवश्यक ठानेमा असन्तुष्ट पक्ष अदालत जान सक्ने, मतगणना गर्दा लगाइएका रेजाको पुनःपुष्टि गर्ने र मतगणनामा खटिएका कर्मचारीहरूको हेरफेर गर्ने सहमति भएपश्चात मतगणना सुरु गर्ने सहमति भएको नेताहरूले बताएका थिए । तीन दिनदेखि रोकिएको मतगणना जेठ ४ गते साँझदेखि शुरु भएको छ ।


मीना बुढाथोकी