मजदुरीले पढाइ छुटाउँदै बालबालिका

  ०७४ वैशाख १८ गते

पिठ्यूँमा भारी बोक्ने बोरा र दाम्लो, खुट्टामा चप्पल लगाएका एक बालक दिनभर भारी खोज्दै खलङ्गा बजारमा भौँतारिएका देखिन्छन् । उनी बिहान बस आउने समयको पखाई कुर्दै बसपार्कमा भेटिन्छन् भने त्यसपछि खलङ्गासँग सीमा जोडिएको भारतीय बजार धारचुलामा आउने ट्रकको पर्खाइ ! पेट पाल्न तथा विद्यालयको लागि पढाइ खर्च जुटाउन दिनभर भौँतारिएका र भारी बोक्दै गरेका देखिने बालक दार्चुला जिल्लाका भने हैनन् । उनी बझाङ दहबगरबाट भारी बोक्न दार्चुला आएका हुन् ।

Photo20170501Darchula

१२ वर्षीय भीमबहादुर बोहरा गाउँकै विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दागर्दै खलङ्गा आएका हुन् । 'तीन महिना अघि भारी बोक्न दार्चुला आइपुगेको हुँ ।'-उनले भने-'आफ्नो पढ्ने धोका पूरा गर्नुभन्दा पनि आफ्नो र परिवारको पेट पाल्नु ठूलो छ । पढ्ने रहर हुँदाहुँदै पनि भारी बोक्न विवश छु ।'-उनले थपे-'पढ्ने मन त छ । तर, घरको आर्थिक अवस्था कमजोर भएपछि विद्यालय छोडेरै यहाँ (दार्चुला) आएको हुँ । घरमा बुवा बुढो भइसक्नुभयो । आम्दानी गर्ने कोही छैनन् ।' अझै तीन महिना यतै बसेर पैसा कमाएर विद्यालय भर्ना हुने धोको रहेको उनले बताए । 'बिहानैदेखि साथीहरूसँग भारी खोज्न बसपार्कदेखि धारचुलाको भोटेपाडवमा जान्छौँ । कहिले दिनभरमा ७/८ सय रुपियाँ कमाइ हुन्छ । कहिले हुँदैन । दिनभर गाउँकै ठूला मान्छे सँग जान्छु, उनीहरूले भने अनुसार भारी बोक्नुपर्छ । कहिल्यै गरो गरुङ्गो भन्न पाइँदैन । बाध्य भएर पनि बोक्नै पर्छ ।'

Photo20170501Darchula1

बझाङ दहकोटकै चार जना माध्यमिक तहको परीक्षा दिएका बालबालिकाहरू पनि मजदुरीका लागि दार्चुला पुगेका छन् । कक्षा ९ मा पढ्ने १६ वर्षीय भरतबहादुर बोहरा पढाइमा कक्षामा प्रथम हुने गरेको सुनाउँछन् । 'हरेक वर्षकक्षामा पहिलो हुँदै आएको छु । सबै विद्यार्थीभन्दा अगाडि नै हुन्छु । तर, आर्थिक अवस्था कमजोर भएकाले परीक्षा दिएर पैसा जोहो गर्न मजदुरीका लागि आएको हुँ । एक/डेढ महिना काम गरेर केही रुपियाँ पैसा जम्मा गरेको छु ।'-उनले थपे-'अब विद्यालय खुल्ने समयमा गाउँ जान्छु । बझाङमा दार्चुलाको जस्तो भारी बोक्न नपाइने भएकोले गाउँका मान्छेसँग आएको हुँ ।' भारी नबोक्ने हो भने कापी कलम किन्न पैसाको अभाव हुने उनले बताए । 'विद्यालयको पोशाक किन्नै पर्‍यो । भारी बोकेको रुपियाँले कापी, कलम, विद्यालय पोशाक किन्ने सोच बनाएको छु ।'

Photo20170501Darchula2

बझाङ बुङगलका ५५ वर्षीय गोरे गुर धामी गरिबीकै कारण अर्को जिल्ला आएर भारी बोक्नु पर्ने बाध्यता सुनाउँछन् । 'मैले दार्चुलामै आएर भारी बोकेको १० वर्षभन्दा बढी भयो । छोरालाई पढाउन भारी बोक्दैछु । मैले त कक्षा ६ सम्म पढेँ । अहिले छोरो १५ कक्षामा काठमाडौँमा पढाउँदैछु । गाउँमा खान लगाउन नपुगेपछि बच्चाहरू समेत भारी बोक्न आएका छन् ।'-उनले भने-'घरमा कमाउने कोही नभएपछि आउनै पर्‍यो नि !'

Photo20170501Darchula3


नरेन्द्रसिह कार्की