भ्रष्टाचारविरूद्धको राष्ट्रिय अभियान विभिन्न कार्यक्रमको आयोजना गरी सुरू

नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूले भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान भदौ २३ गते देशव्यापि रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री, सभामुख, नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र तथा काठमाडौँ र ललितपुर महानगरपालिकाका कार्यालयमा पुगी भ्रष्टाचार विरूद्धको अभियानमा लग्न ज्ञापनपत्र बुझाएका छन् ।

यसैबिच ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याललाई इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आजै ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै उपमेयर सत्यालले घुस लिने मात्रै होइन घुस दिने पनि उत्तिकै जिम्मेवार भएकाले भ्रष्टाचार विरूद्धको अभियानमा लाग्ने प्रतिवद्धता जनाएकी थिइन् ।

त्यस्तै नेपाली काङ्ग्रेसका नेता तथा सांसद ध्यानगोविन्द रञ्जितलाई नागरिक समाजका अगुवा केदार खड्काले ज्ञापन पत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै रञ्जितले यस अभियानमा पार्टीको सदैव सहयोग रहने प्रतिवद्धता जनाए ।

त्यस्तै नेकपा एमालेका उपभोक्ता हित संरक्षण मञ्च तथा सुशासन समितिका प्रमुख धनेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझ्दै बस्नेतले भ्रष्टाचारविरूद्ध पहिलादेखि नै नेकपा एमाले लागेकोले यस अभियानमा एमाले सदैव तत्पर रहेको बताए । एमाले पार्टीको अडानका कारण भ्रष्टाचारीहरू प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने विधेयक पारित गराउन सफल भएको उनले बताए ।

धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार धादिङ जिल्लाको आह्वान भ्रष्टाचारविरूद्ध साझा अभियान भन्ने नाराका साथ धादिङमा भदौ २३ गते हस्ताक्षर अभियान सुरू भएको छ । इन्सेक, नेपाल पत्रकार महासङ्घ धादिङ, गैरसरकारी संस्था महासङ्घ धादिङ, डेक नेपाललगायतका संस्थाहरूको संयुक्त आयोजनामा हस्ताक्षर अभियान गरिएको हो ।

धादिङबेसीको बीचबजार चोकबाट भ्रष्टाचार नगर्ने, सदाचार अपनाउने र निर्वाचित जनप्रतिनिधिहरूलाई सदाचारप्रति प्रतिबद्ध रही कार्य गर्न लागिपर्ने प्रतिवद्धतासहित जिल्ला समन्वय समितिका संयोजक जगन्नाथ नेपालले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रम सुरू गरेका थिए ।

जिल्ला समन्वय समितिको निर्वाचन भएको एक महिना भएकोले नेपालको कानुन बमोजिम दुई महिनाभित्र जिल्ला समन्वय समितिका पदाधिकारीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने र आफू र आफू अन्तर्गत रहेको प्रतिनिधिहरूहरूलाई सदाचार अपनाउन लागि पर्ने उनले बताए ।

नीलकण्ठ नगरपालिकाका कार्यवाहक प्रमुख मनराज भण्डारीले आफू र आफ्नो नगरभित्र रहेका सम्पूर्ण जनप्रतिनिधि र सबै सार्वजनिक निकायलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता व्यक्त गरे । नीलकण्ठ नगरपालिका खुला सरकारको रूपमा काम गर्दै नागरिकको अधिकारलाई स्थापित गर्दै सूचना प्रविधिको प्रयोग गर्दै नागरिकहरूको सूचनाको अधिकारलाई दोहोरो सूचना प्रणाली अनुसार कार्य गर्ने भण्डारीको प्रतिवद्धता रहेको थियो ।

इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि सविना केसीका अनुसार "म सबै खाले भ्रष्टाचारको विरोध गर्दै, सदाचारप्रति प्रतिवद्ध रहनेछु" भन्ने नाराका साथ भक्तपुरमा भ्रष्टाचार विरूद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न भएको छ ।

अभियानको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले उद्घाटन गर्दै भ्रष्टाचार उन्मूलन नारामा मात्रै सिमित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय तहमा भ्रष्टाचार शुन्य बनाउन जनप्रतिनिधिहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

अभियानकै क्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले जनताले पनि भ्रष्टाचारविरूद्ध खबरदारी गर्नुपर्ने औँल्याइन् ।

हस्ताक्षर अभियानमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष पुष्करराज बुढाथोकी, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष रमेश गिरी, सूचना अधिकार समाजका अध्यक्ष सोम शर्मा बजगाईलगायत विभिन्न संस्थाका प्रतिनिधिलगायतले भ्रष्टाचारीलाई राजनीतिक संरक्षण दिन नहुने र कडा कानुन अवलम्बन गर्नुपर्ने बताए ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबाबु धितालका अनुसार सिन्धुपाल्चोकको आह्वान, भ्रष्टाचारविरूद्धको साझा अभियान भन्ने मूल नाराका साथ भदौ २३ गते निर्वाचित जनप्रतिनिधिहरूलाई समूहिक हस्ताक्षर अभियान एक समारोहका बिच जिल्ला सदरमूकाम चौतराबाट सुरू भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुखसहितले सामूहिक हस्ताक्षर गरी भ्रष्टाचारविरूद्ध प्रतिवद्धता जनाए ।

Photo20170908Sindhupalchok

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गोपाल तामाङले अभियान महत्वपूर्ण भएको बताउँदै अभियानमा सहयोग गर्ने बताए । प्रमुख जिल्ला अधिकारी आशामान तामाङले भ्रष्टाचार भनेको देशद्रोही काम भएकोले सबैको सबै विषयमा पारदर्शिता भयो भने भ्रष्टाचारको न्यूनीकरण हुने बताए । त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमानसिं तामाङले भ्रष्टाचारविरूद्ध आफू सधैँभरी लाग्ने प्रतिवद्धता जनाए ।

रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार इन्सेक समेत आबद्ध रहेको मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र भ्रष्टाचार विरूद्धको स्थानीय समन्वय समितिले भदौ २३ गते मन्थलीमा आयोजना गरेको कार्यक्रममा जिल्लामा भ्रष्टाचार निर्मुल गर्न के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले विकास निर्माणका काममा भ्रष्टाचार हुने सम्भावना रहेकाले जिल्ला समन्वय समितिले यसको प्रभावकारी अनुगमन गर्ने बताए ।

रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले भ्रष्टाचार हुन नदिनका लागि सबैले 'मम' भन्नुपर्ने बताए । रामेछाप उद्योग बाणिज्य सङ्घका अध्यक्ष श्याम थापाले कालोबजारीको कुरा आएकोमा त्यसलाई प्रमाणसहित ल्याए कारबाही हुने बताए । गैरसरकारी संस्था महासङ्घ रामेछापका अध्यक्ष मिलनकुमार घिसिङले गैरसरकारी संस्थाको क्षेत्रमा कुनैपनि अनियमितता नभएको दावी गरे ।

काभ्रे जिल्ला प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार बढ्दै गएको भ्रष्टाचारका विरूद्ध जिल्लामा नागरिकस्तरबाट अभियान सञ्चालन गरिएको छ । अभियानको सुरूवात भदौ २३ गते बिहान काभ्रेपलाञ्चोकको धुलिखेल (सरस्वती बजार) मा जम्मा भएर र्‍याली निकालेर गरिएको थियो । र्‍यालीसहित नगरपालिका हलमा सभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिव सिम्खडा, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना र धुलिखेल नगरपालिकाकी उपप्रमुख विमला शर्माद्वारा भ्रष्टाचार नगर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी सबै सरकारी अधिकारी र जनप्रतिनिधिद्वारा 'म भ्रष्टाचार गर्दिन' भनेर हस्ताक्षर गरेका थिए ।

र्‍यालीमा सहभागीहरूले म घूस लिन्न, घूस दिन्न र भ्रष्टाचार पनि सहन्न । भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न दिन्न र भ्रष्टाचार पनि सहन्न । घूस लिने र दिने दुवै देशका शत्रु हुन् । भ्रष्टाचारको विरोध मैले नगरे कसले गर्छ ? म भ्रष्टाचारको विरोधी हुँ । भ्रष्टाचारविरूद्ध बोल्ने र उजुरी गर्ने हिम्मत गरौं । भ्रष्टाचारविरूद्ध मैले नबोले कसले बोल्छ ! भ्रष्टाचार रोकौं र सम्वृद्ध नेपालको निर्माण गरौं जस्ता प्लेकार्ड बोकेएका थिए ।

दोलखा जिल्ला प्रतिनिधि उद्धब पोखरेलका अनुसार जिल्लामा स्थानीय तहका जनप्रतिनिधि र गैरसरकारी संस्थाहरूले भ्रष्टाचारलाई आगामी दिनमा निरूत्साहित गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

इन्सेक, हुराडेक नेपाल, गैसस महासङ्घ जिल्ला शाखा र दोलखाका संस्थाहरूले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममार्फत् जिल्लालाई भ्रष्टाचारमुक्त बनाउने भन्दै हस्ताक्षर कार्यक्रमको अयोजना गरियो ।

कार्यक्रमका जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेलले व्याप्त भ्रष्टाचार न्यूनीकरणको प्रतिवद्धता कार्यान्वयनमा ल्याउन सबै क्षेत्रको भूमिका उत्तिकै महत्वपूर्ण रहेको बताइन् ।

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार इन्सेक सहित जिल्लामा विभिन्न आठ संस्थाहरूले भदौ २३ गतेबाट संयुक्त रूपमा नुवाकोटलाई भ्रष्टाचार मुक्त बनाउने अभियान सुरू गरेका छन् । विदुरमा भएको कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूले सार्वजनिक रूपमा भ्रष्टाचार विरूद्धको अभियान पत्रमा हस्ताक्षर गरेर अभियानको सुरूवात गरिएको हो ।

जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले नुवाकोट जिल्लालाई भ्रष्टाचारमुक्त बनाउनका लागि आफू लाग्ने प्रण गरेका छन् । उनले नागरिकहरू आफैँ सचेत नभएकोले समुदायमा भ्रष्टाचार बढेको बताए । 'सामान्य भनेर छाडिएको कुराहरूबाट विकराल भ्रष्टाचार हुने गरेको छ ।'-उनले भने-'सामान्य कुरामा पनि नागरिकहरूले आवाज उठान थाले मात्रै भ्रष्टाचारमुक्त जिल्ला बन्ने परिकल्पना साकार हुन्छ ।'

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जनप्रतिनिधिहरू भ्रष्टाचारमुक्त जिल्लाको अभियानमा लागिरहेको र त्यसमा सबै निकाय, सङ्घसंस्था र नागरिकहरूको साथ आवश्यक पर्ने बताए ।

स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले सरकारी क्षेत्र मात्रै नभई गैरसरकारी क्षेत्रमा समेत भ्रष्टाचार हुने गरेको तर्फकम ध्यान जाने गरेको बताए । 'सरकारी निकायमा हुने भ्रष्टाचार हेर्ने संयन्त्र मात्रै छ । गैरसरकारी निकाय, निजी क्षेत्र, दातृ निकायमा हुने भ्रष्टाचारको नियमनको लागि न कानुन छ न कुनै निकाय स्थापना भएको छ ?'-उनले भने-'भ्रष्टाचार निवारणको लागि धेरै कानुन निर्माणको खाँचो रहेको छ ।'

जिल्ला समन्वय समितिका प्रमुख तामाङले हस्ताक्षर गरी आरम्भ गरेको अभियानमा विभिन्न सरकारी तथा गैरसरकारी संस्था तथा सर्वसाधारणले हस्ताक्षार गरेका छन् । अभियान इन्सेक, नेपाल पत्रकार महासङ्घ, गैर सरकारी संस्था महासङ्घ, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल, नुवाकोट वार, सामुदायिक विकास केन्द्र, सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल नागरिक समाज नुवाकोटलगायतका संस्थाहरूले संयुक्त रूपमा अघि बढाएका छन् ।


इन्सेक क्षेत्रीय कार्यालय, काठमाडौँ