भौतिक संरचना नहुँदा विद्यार्थीलाई समस्या

  ०७७ फागुन १९ गते

मुगुम कार्मारोङ गाउँपालिका –३ ताखाको केजाङ्गमा स्थापना गरिएको आवासीय विद्यालयमा भौतिक संरचना अभाव हुँदा विद्यार्थीको पढाइमा समस्या देखिएको छ ।

गाउँपालिका भित्रका बालबालिकालाई चार देखि ६ कक्षासम्म अध्ययन गराउनका लागि ०७६ सालमा स्थापना गरिएको ताखा आधारभुत विद्यालयमा भौतिक संरचना अभाव हुँदा सहज पठन पाठनमा अवरोध आएको छ ।

हाल विद्यालयमा मुगुम कार्मारोङ गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका विपन्न परिवारका र आमा बुबा नभएका गरी २ सय २ जना बालबालिकालाई राखिएको छ ।

संघीय सरकारले छात्रवृत्ति स्वरूप प्रति बालबालिकालाई मासिक ४ हजार रूपियाँका दरले उपलब्ध गराएको रकमबाट विद्यालय प्रशासनले बालबालिकाको स्टेशनरी, खाना, खाजा र सरसफाइका सामग्रीमा खर्च गरेको प्रधानाध्यापक कुसुल शाहीले बताउन भयो । अन्य कुर्सी तथा बेन्च नहुँदा  बालबालिकाले भुइँमा बसेर खाना खानु परेको उहाँको भनाई छ ।

‘खाटको अभावमा छात्रा र छात्रलाई सँगै राख्नुपरेको र दुई वटा खाटमा पाँच जनासम्मलाई सुताउनु परेको छ’ प्रधानाध्यापक शाहीले भन्नुभयो ।
प्रअ शाहीका अनुसार चार–चार कोठे दुई भवनमा अध्यापन र सुत्ने व्यवस्था गरिएको छ ।

शौचालय जान लाइनमा बस्नु परेको र खुल्ला चौरमा बसेर खाना खानु परेको कक्षा पाँचमा अध्यनरत छात्रा छिरिङ टोमा लामाले बताउनु भयो ।

भौतिक संरचना निमार्णका लागि सम्बन्धित निकायलाई बेला बेला अनुरोध गर्ने गरेको मुगुम कार्मारोङ गाँउपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनु भयो ।

विद्यालयमा विद्यार्थीहरूलाई छात्रवृत्ति संघीय सरकारले, भौतिक संरचना प्रदेश सरकारले निर्माण गर्ने र खानेपानी, शौचालय, शिक्षक लगायतका व्यवस्था स्थानीय सरकारले गर्ने व्यवस्था भएअनुसार आवश्यक संरचना निर्माणका लागि प्रदेश सरकारसँग अनुरोध गरेको अध्यक्ष लामाको भनाइ छ ।


जीवन सेजुवाल