भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि बालकुमारीमा आगजनी
दक्षिण कोरियमा रोजगारमा जानका लागि आवश्यक रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षामा सहभागी हुन नपाएको भन्दै असन्तुष्ट युवाहरूको समूहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमाथि बालकुमारीमा आगजनी गरेका छन् । आगजनीबाट मन्त्री ज्वाला चढ्ने गरेको बा २ झ ५८६१ नम्बरको गाडीमा पूर्ण रूपमा क्षति पुगेको छ ।
जिल्ला परिसर, ललितपुरका प्रहरी प्रवक्ता एसपी नवराज कार्कीका अनुसार कोरियामा जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएकाहरूले पार्टीको बैठकमा हिँडेका मन्त्री ज्वालाको गाडीलाई रोकेर हावा फुस्काएपछि उनीहरूले गाडीमा आगजनी गरेको एसपी कार्कीले इन्सेकलाई जानकारी दिनुभयो ।
एसपी कार्कीका अनुसार प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन चार राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ भने प्रदर्शन, आगजनी र तोडफोड गरेको आरोपमा पाँच जनालाई गिरफ्तार गरेको छ । गिरफ्तारीमा परेकाहरूलाई जिल्ला प्रहरी परिसर, जावलाखेलमा राखेर अनुसन्धान र सोधपुछ गरिरहेको एसपी कार्कीले जानकारी दिनुभयो ।
इपिएससम्बन्धी विवाद
इपीएस नेपाल शाखाले सन् २०२३ भित्र दक्षिण कोरियामा पानी जहाज बनाउने (सिप बिल्डिङ) कामका लागि परीक्षा दिएकाहरूले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुन नपाउने भन्दै ०८० पुस २ गते खुलेको उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाएको थियो ।
इपीएस नेपाल शाखाको उक्त निर्णय विरुद्ध सिप बिल्डिङ परीक्षामा सहभागी भएका सुरज पाठकसहित १८ जनाले उत्पादनमूलक क्षेत्रको कामका लागि लिइने परीक्षामा समेत आवेदन दिन पाउनु पर्ने भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । उच्च अदालत पाटनले ०८० पुस ५ गते उक्त मुद्दाको सुनुवाइ गर्दै सिप बिल्डिङ कामका लागि परीक्षा दिइसकेहरूलाई उत्पादनमूलक क्षेत्रको काममा लिइने परीक्षामा समेत सहभागी हुन निवेदन भर्न दिनु भन्दै अन्तरिम आदेश दिएको थियो ।
अदालतको आदेशसँगै इपीएस नेपाल शाखाले पुस ११ गते एक सूचना जारी गर्दै उच्च अदालतमा रिट हालेकाहरूलाई मात्र पुस १३ गते पासपोर्ट, पासपोर्ट साइजको फोटो, सिप बिल्डिङ परीक्षामा सहभागी भएको प्रवेश पत्रसहित तोकिएको शुल्क लिएर आवदेनका लागि बेलाएको थियो ।
अदालतको आदेश लत्याएर मुद्दा हालेका १८ जना बाहेक अरुलाई इपिएस नेपाल शाखाले उत्पादनमूलक क्षेत्रको परीक्षामा सहभागी हुन नदिएको भन्दै सन् २०२३ मा जहाज निर्माण (सिप बिल्डिङ) परीक्षा दिइ अनुत्तीर्ण रहेका २८ हजारभन्दा बढी युवाहरू आन्दोलित भएका हुन् ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…