भोजपुरमा कोभिड विरूद्ध सर्तकता,विदेशबाट फर्किएका उच्च निगरानीमा

  ०७६ चैत २० गते

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) विरूद्ध भोजपुरमा सर्तकता अपनाइएको छ । विदेशबाट फर्किएकाहरूलाई विशेष निगरानीमा राखी कोरोना विरूद्धको सर्तकता उच्च बनाइएको छ ।

कोरोनाको जोखिम नियन्त्रणका लागि भोजपुरमा १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साल्पासिलिछो गाउँपालिका, षडानन्द नगरपालिका र रामप्रसाद राई गाउँपालिकामा गरी क्वारेन्टाइनमा बस्नेको संख्या १२ जना पुगेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । साल्पासिलिछो गाउँपालिका–१ कुलुङको काम्लेटारमा रहेको सिंहमालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा नौ जनालाई राखिएको छ ।

संखुवासभामा निमार्णाधिन अवस्थामा रहेको अरूण तेस्रो जलविद्युत आयोजनामा काम गर्दै आएका वडा – १ का नौ जना क्वारेन्टाइनमा रहेको गाउँपालिका अध्यक्ष महेश राईले बताउनु भयो । उनीहरू २५ गते राती १२ बजे सम्म लकडाउन गर्ने सरकारको निर्णयपछि चैत्र १७ गते संखुवासभाबाट भोजपुर थिए । उनीहरूलाई देखेपछि स्थानीयले प्रहरी र वडा कार्यालयमा जानकारी गराएका थिए ।

कोरोना भाइरसको सङ्क्रमणको आशंकामा उनीहरूलाई वडाले बनाएको क्वारेन्टाइनमा बस्न आग्रह गरिएकोमा उनीहरू आफैले घर नजिक रहेको विद्यालयमा १४ दिन बस्ने सहमति गरेपछि उनीहरूलाई छुट्टै खानाको व्यवस्था गरिएको अध्यक्ष राईले जानकारी दिनु भयो । अहिले उनीहरू नौ जनाकै अवस्था सामान्य रहेको छ । त्यस्तै षडानन्द नगरपालिकाका दुई जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

चैत ४ गते कतारबाट जहाजमा नेपाल आएका भोजपुर नेपालेडाँडाका एक युवक र भारत सुनौली भन्सार हुँदै आएका सोही ठाउँका २० वर्षीय एक युवक पनि उनीसँगै क्वारेन्टाइनमा रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरको डिएसपी नरबहादुर सलामी मगरले बताउनु भाये ।

उनीहरू दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिकामा एक जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनी गत ५ गते दुवईबाट नेपाल आएका थिए ।


गणेश विष्ट