भेण्टिलेटर सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित

  ०७९ असार ३१ गते

एनेस्थेसियोलोजिष्ट डक्टरको अभावमा दुई वर्ष अगाडि मध्यविन्दु जिल्ला अस्पतालमा जडान गरिएको भेण्टिलेटर सञ्चालन नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ ।

२०७७ साउनमा गण्डकी प्रदेश सरकारले उपलब्ध गराएको तीन ओटा भेण्टिलेटर एनेस्थेसियोलोजिष्टको अभावमा सञ्चालनमा आउन नसकेको मध्यविन्दु जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट विरबहादुर थापाले बताउनु भयो ।

अस्पतालमा रहेको भेण्टिलेटर सञ्चालन नहुँदा भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीहरूलाई थप उपचारको लागि चितवनको भरतपुर पठाउने गरेको उहाँले बताउनु भयो ।

थापाका अनुसार अस्पतालमा दैनिक जसो एक-दुई जना भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बिरामीहरू आउने गर्छन् ।

तर, तीन ओटा भेण्टिलेटरसहितको पाँच बेडको आइसियू रहेको जिल्ला अस्पतालले एनेस्थेसियोलोजिष्टको अभावमा अन्य स्वास्थ्य संस्थाहरूमा उपचारको लागि पठाउनु परेको उहाँले बताउनु भयो ।

अस्पतालमा सर्पदंशका बिरामीहरु धेरै आउने गरेका छन् । उनीहरूलाई भेण्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्थामा चितवन पठाउनुपर्ने बाध्यता रहेको थापाको भनाइ छ ।

पूर्वपश्चिम राजमार्गसँगै रहेको जिल्ला अस्पतालमा राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटनाका गम्भीर घाइतेहरू उपचारका लागि ल्याउने गरिएपनि भेण्टिलेटर सञ्चालन नहुँदा उपचार गर्न कठिनाई हुने गरेको उहाँले बताउनु भयो ।

अस्पतालमा आवश्यक एनेस्थेसियोलोजिष्टको व्यवस्थापन गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयसँग समन्वय गरिरहेको भएपनि व्यवस्था हुन नसकेको थापाले बताउनु भयो ।


तिर्थराज डुम्रे