भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !

  ०८१ मङ्सिर १८ गते

तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् ।

कुन रोगले भेडा मरेका हुन एकिन हुन सकेको छैन । पशु चिकित्सकलाई सो ठाउँमा लिन पनि मुस्किल भइरहेको छ । भेडा धमाधम मर्न थालेपछि भेडा पालक स्थानीय किसान कर्णविर शाही चिन्तित बनेको तिला गाउँपालिका–५ का वडाध्यक्ष ललित शाहीले बताउनु भयो । तीन दिन भेडा धमाधम मर्न थालेपछि राहत र उपचारका लागि सम्बन्धित निकायलाई जानकारी गराए पनि अहिलेसम्म कुनै उद्दार नभएको भेडा पालक किसान कर्णविर शाहीले गुनासो गर्नुभयो ।

भेडा किसान शाहीका अनुसार जाजरकोटको छेडागाड नगरपालिका–७ मा रहेको पौँजा भन्ने ठाउँमा चरिचरणका लागि जुम्लादेखि लिएको थियो । तीन दिनभित्र अहिलेसम्म २५ ओटा भेडा मरिसको छ । बिरामी भेडाको मुखबाट र दिसा पिसाव गर्ने ठाउँबाट रगत निस्कने गरेको छ । बाँकी रहेका भेडालाई बचाउन सरोकारवालासँग हारगुहार गरे पनि सुनुवाइ हुन सकेको छैन । रगत निस्किएको एक घण्टाभित्रै भेडा मर्ने गरेको भेडा पालक किसान शाहीले बताउनु भयो ।

वडाध्यक्ष ललित बहादुर शाहीका अनुसार गत आव २०८०/८१ को जिल्ला पशु सेवा कार्यालय जुम्ला र तिला गाउँपालिकाको संयुक्त कार्यक्रम अन्तर्गत माइथाप्ला भेडा पकेट कार्यक्रमबाट तिला गाउँपालिका–५ का विपन्न घरपरिवारलाई भेडा वितरण गरिएको हो ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रबहादुर बुढाथापाले जाजरकोटको पशु अस्पतालका प्रमुख कपिल प्रसाद उपाध्यायलाईलाई घटनाको जानकारी गरिएको बताउनु भयो । किसानका भेडा बचाउन सबै निकायसँग पहल भइरहेको उहाँको भनाइ छ । भेडा राखेको ठाउँमा आवश्यक चिकित्सकको टोली पठाइ भेडामा लागेको रोग पहिचान गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख बुढाथापाले जानकारी दिनुभयो ।

Photo03122024Jumla


मानदत्त रावल