भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा

भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा  लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन ।   भूकम्पले  घर भत्किएपछि सल्यानको दार्मा गाउँपालिका–२ लिरापाजाकी ३५ वर्षीया लिला खत्री पाँच जनाको परिवार सहित एक महिना दिनदेखि भत्किएको घर नजिकै त्रिपाल लगाएर बस्दै आउनुभएको छ । त्रिपालमा बस्दा चिसोले उहाँसहित चार वर्षीया छोरीलाई ज्वरो आएको थियो । औषधि खाएपछि सन्चो भएपनि ह्वात्तै बढेको चिसोसँगैको वर्षातले उहाँको परिवारै थप प्रभावित भएको छ ।
त्रिपालमा बस्नुपर्ने बाध्यता र ओढ्ने ओछ्याउने गतिलो नभएपछि दार्मा गाउँपालिका–२ लिरापाजाकै २८ वर्षीया निमा केसी पनि बिरामी हुनुभएको थियो । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन कुमार बुढाको नेतृत्वमा डाक्टर र स्वास्थ्यकर्मीको टोलीले घर–घर गएर स्वास्थ्योपचार गरेपछि उहाँ ठिक हुनुभयो । उहाँलाई ज्वरो आउने, शरीर दुख्ने समस्याले सताएको थियो । हवात्तै बढेको चिसो र वर्षातले गर्दा उहाँलाई पुनः ज्वरो आएको छ ।

लिला र निमा मात्रै होइन्, दार्मा गाउँपालिकामा भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका परिवार थप प्रभावित भएका छन् । ह्वात्तै बढेको चिसो र वर्षातका कारण भूकम्पपीडित परिवार थप प्रभावित भएका हुन् । दार्मा गाउँपालिकाको तथ्याङ्क अनुसार भूकम्पका कारण पालिका भरी झन्डै चार हजार घर क्षति भएका छन् । १ हजार १ सय ७९ घर बस्नै नमिल्ने गरी क्षति भएपछि पीडितहरु त्रिपालमा बस्दै आएका छन् । चिसोका कारण रुघाखोकी, भाईरल ज्वरो र बालबालिका निमोनिया जस्ता रोगबाट प्रभावित भएका छन् ।

वर्षातसँगै बढेको चिसोले शरिरमा जटिल समस्या देखिन थालेको स्थानीय ४४ वर्षीय ज्ञानबहादुर खड्काले बताउनुभयो । केही दिन अघि आएको ज्वरो ठीक भएपनि चिसोले समस्या बल्झिन थालेको उहाँको भनाइ छ । ‘न्यानो कपडा पर्याप्त नभएकाले चिसोबाट बच्न गाह्रो भएको छ, खुला स्थानमा आगो बालेर खाना पकाउने हुन्थ्यो, त्रिपाल भित्र आगो बाल्दा धुवाँले बस्नै नसक्ने हुन्छ’ उहाँले भन्नुभयो । वर्षातले गर्दा त्रिपाल लगाएको वरपर चिसो भएको र बाहिर आउजाउ गर्न समस्या भएको छ ।

अस्थायी आवास निर्माणमा चार सय स्वंयसेवक

दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणको लागि प्राविधिकसहित विभिन्न पार्टी, संघसस्था, स्थानीय गरी चार सय स्वयंसेवक खटिएका छन् । चिसोका कारण त्रिपालमा बस्दै आएकाको ज्यान जोखिममा परेपछि अस्थायी आवासको लागि स्वयंसेवक खटिएका हुन् । एउटा समुहमा १० देखि १५ जना बनाएर पालिकाको ६ ओटै वडामा स्वयंसेवक खटिएका छन् ।
अस्थायी आवासका लागि खटिएका प्राविधिक तथा स्वयमसेवकले कामको बाँडफाँट गरेर कोही शौचालय मर्मत, कोही भत्किएको घरको सामग्री हटाउनमा, कोही बस्नै नमिल्ने गरी चर्किएको घर भत्काउन र अस्थायी आवास निर्माणमा जुटेको दार्मा गाउँपालिकाका अध्यक्ष नीमबहादुर केसीले बताउनुभयो । त्रिपालमा बस्दै आएका महिला, बालबालिका, ज्येष्ठ नागारिक, सुत्केरी, र गर्भवती बिरामी पर्न थालेपछि चिसोबाट बचाउन तत्काल राहत होस भनेर अस्थायी आवास निर्माण कार्य स्वयंसेवक मार्फत अगाडि बढाएको उहाँको भनाइ छ ।
क्षति भएका सबै घरका परिवार चिसोमा जोखिम मोलेर त्रिपालमा बस्दै आएका छन् । स्वयंसेवकले १ हजार अस्थायी आवास बनाउने लक्ष्य छ । भत्किएका तथा बस्नै नमिल्ने गरी चर्किएका घर भत्काउन तथा सामग्री व्यवस्थापन गर्न चाहिने औजार पालिकाले व्यवस्था गरेको छ ।

अस्थायी आवास निर्माणका लागि १ करोड ३० लाख निकासा

दार्मा गाउँपालिकामा अस्थायी आवास निर्माणका लागि एक करोड ३० लाख निकासा भएको छ । सङ्घीय सरकार मार्फत जिल्लाका भुकम्प प्रभावितको अस्थायी आवास निर्माणका लागि १ करोड ३० लाख रुपियाँ निकासा भएको पालिका अध्यक्ष केसीले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म पहिलो किस्ता लिनको लागि २२ जना भुकम्प पीडितले आवश्यक प्रक्रिया अघि बढाएका छन् ।

Photo20231205 Salyan (1)

Photo20231205 Salyan (1)

smart

Photo20231205 Salyan (2)

Photo20231205 Salyan (3)

Photo20231205 Salyan (4)

Photo20231205 Salyan (5)

Photo20231205 Salyan (6)


बुद्धिमान पुन