भूकम्प पीडित बालबालिकाहरु जन्डिस रोगबाट प्रभावित

  ०८१ असार ६ गते

भूकम्प पीडित बालबालिकाहरु जन्डिस रोगबाट प्रभावित भएका छन् । भूकम्प प्रभावित क्षेत्र सल्यानको दार्मा गाउँपालिकाका बालबालिकामा जन्डिस देखिन थालेको छ ।

गर्मी र दूषित पानीका कारण बालबालिकामा जन्डिस देखिन थालेको हो । दार्मा गाउँपालिकामा रहेका आठ ओटै स्वास्थ्य संस्थामा बिरामी बालबालिकाको सङ्ख्या बढेको छ । सबै स्वास्थ्य संस्थामा जन्डिसको परीक्षण सुविधा नभएकाले बिरामीले रगत परीक्षण तथा उपचारका लागि निजी क्लिनिक, जिल्ला अस्पताल र पश्चिम रुकुमको चौरजहारीस्थित मिसन अस्पताल धाउनु परेको छ ।

चर्को गर्मी र केही दिन अघिको वर्षातले पानीका मुहान दूषित भइरहेका कारण बालबालिकामा जन्डिस भएको हुन सक्ने दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताउनुभयो । जन्डिस सरुवा रोग भएकाले एक अर्कामा सरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार पालिका भरि पाँच वर्षमुनिका झन्डै १ हजार ७ सय बालबालिका छन् । साता यता एक सय भन्दा बढी बालबालिका जन्डिस देखिएको उहाँले बताउनुभयो ।

बालबालिकामा वान्ता हुने, खान नरुच्ने, दुब्लाउँदै जाने समस्या बढी देखिएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताउनुभयो । ‘दुई दिन अघि क्लिनिकमा ३५ जना बालबालिका उपचारका लागि आएका थिए, त्यस मध्ये २२ जनामा जन्डिस देखिएको थियो’ उहाँले भन्नुभयो ‘पालिका भित्रका स्वास्थ्य संस्थामा सहज उपचार नभएको र भूकम्पका कारण अधिकांश परिवार आर्थिक मारमा परेकाले बालबालिकाको उपचार गराउन गाह्रो भएको छ ।’

गत कात्तिक १७ मा जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले यहाँका विभिन्न घरमा क्षति पुगेपछि पीडित परिवार अस्थायी टहरामा बस्न बाध्य छन् । भल्चौर स्वास्थ्य चौकीकी स्वास्थ्यकर्मी गीता केसीले बालबालिकामा जन्डिस मात्र नभइ झाडापखाला पनि देखिरहेको बताउनुभयो ।

भूकम्पपछि खानपानको उचित व्यवस्था गर्न नसक्दा बालबालिकामा विभिन्न रोगको समस्या देखिइरहेको स्थानीय लीला खत्रीले बताउनुभयो । भूकम्पले घर ध्वस्त भएपछि अस्थायी टहरामा बसिरहेको र अहिले पाँच वर्षको छोरालाई जन्डिसको समस्या देखिएपछि आर्थिक अभावका कारण उपचार गर्न कठिनाइ भएको छ । कमाइ छैन् । छोरा बेलाबेलामा बिरामी हुँदा उपचार गराउन गाह्रो भएको उहाँले भन्नुभयो ।


बुद्धिमान पुन