भूकम्प पीडितलाई गाँस र बास कै चिन्ता
दार्मा गाउँपालिका–२ लिरापाजाकी वर्ष ३५ की लीला खत्रीको घर नजिकै ढकमक्क सयपत्री फुलेको छ । छिमेकी गाउँमा देउसीभैलो खेलेको आवाज कानमा गुञ्जिन्छ तर उहाँलाई भने गाँस र बासको चिन्ता छ । उहाँको पति ३६ वर्षीय उदयमान खत्री भूकम्पले भत्किएको घरको ढुंगा पन्छाउनमा व्यस्त हुनुहुन्छ । न त दुबैलाई तिहार पर्वको मतलवछ, न त पर्व मनाउनका लागि चाहिने सामग्री जुटाउने । उहाँहरु कसरी गुजारा गर्न सकिन्छ भन्नेमै लाग्नुभएको छ ।
दार्मा गाउँपालिका–५ लिरेडाँडाका डिल्लीप्रसाद खत्री चिसोले गर्दा जनजीवन प्रभावित भएपछि खुला स्थानमा टागेको त्रिपाललाई हावा नछिर्ने बनाउनमा व्यस्त हुनुहुन्छ । भूकम्पले घर भत्किएपछि पीडित भएका उहाँलाई तिहार आएको पत्तै छैन् । ‘भूकम्पले घर भत्किएको तनावले गर्दा तिहार आएको पत्तै भएन्, भूकम्पले क्षति नगरेका अन्य बस्तीमा देउसी भैलो खेल्नेको भिडभाड त देखिन्छ, मादल बजेको सुनिन्छ’ उहाँले भन्नुभयो ‘वर्षमा एक पटक आउने पर्व उल्लासका साथ मनाउन पाए हुन्थ्यो भन्ने लाग्छ तर के गर्नु बस्ने गतिलो बास छैन्, खानलाई गाँस छैन कसरी मनाउने तिहार ?’
यी दुई त उदाहरण मात्रै हुनुहन्छ । अहिले दार्मा गाउँपालिकाका सबै भूकम्प प्रभावितको अवस्था यस्तै छ । तिहार आएपछि अन्यत्र सबैका घर झिलीमिली भएका छन् । देउसीभैलोको खेल्नेहरुको उत्तिकै भिड देखिन्छ । ठाँउठाँउमा मादल बजेको सुनिन्छ । कतिका घरमा सेल रोटी, अन्य मिस्टान्न पनि पाकेका छन् तर भूकम्पले घर भत्किएपछि सातादेखि त्रिपालमा रात बिताउँदै आएका दार्मा गाउँपालिका स्थानीयमा भने तिहारको कुनै रौनक छाएको छैन् ।
भूकम्प प्रभावित बस्तीका स्थानीयमा भने तिहारको रौनकभन्दा अहिले चिसोबाट बच्न गतिलो बास, पेट भर्न दुई छाक गासमै सिमित रहेका छन् । ‘बस्ने गतिलो बास छैन, चिसोले गर्दा कठाङ्ग्रिएर बस्नुपर्छ, भत्किएका घरले खाद्यान्न पुरिएपछि दुई छाक गाँसको निश्चित छैन्, घरमा उत्पादित बस्तु अदुवा, टिमुर, भटमास, मकै, भांगो, खसीबोका, घिउ बिक्रि गरेर त्यसबाट आयआर्जन भएको रकमले पर्व मनाउने हुन्थ्यो’ बछेलाका शेरबहादुर केसीले भन्नुभयो ‘तिहार मनाउने रहर भूकम्पले लुट्यो ।’
भूकम्पले भत्किएको घर नजिकै बारीको छेउमा खाना पकाउदै गरेकी लिरापाजाकै २८ वर्षीया सीता खत्रीले भएको घर भूकम्पले बस्नै नमिल्ने गरी क्षति भएकाले गाँसबासकै चिन्ताले सताएको बताउनुभयो ।‘तिहार आइसकेको रहिछ, सबैले दिपावली गरे, हाम्रो त खुसी लुटिएको छ, गाँस र बासको टुंगो नभएको बेला पालमुनि के दिपावली गर्नु ?’ उहाँले भन्नुभयो ‘यो वर्ष तिहारको तयारी केही छैन्, भूकम्पकै कारण सबै लथालिङ्ग भएकाले माईत गएको छैन् ।’
‘दुई वर्ष अघि पति दुर्गेस केसीलाई स्थानीय सहकारीबाट पाँच लाख ऋण लिन लगाई घर निर्माण गरेकी थिए, घर बनाउँदा १० लाख भन्दा बढी खर्च लागेको थियो, बस्ने बास नरहेपछि ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलेको छ’ उहाँले भन्नुभयो ‘दैनिक बिहान बेलुकीको खर्च जुटाउन हम्मेहम्मे परेको छ, बालबालिकाले पेटभरी खान पाएका छैनन्, पैसा छैन््, के ले मनाउने हो र तिहार ?’
दार्मा गाउँपालिका–५ बछेलाका ४० वर्षीय भिमबहादुर खत्रीले बर्षमा एक पटक आउने तिहार पर्व मनाउने रहर भएपनि बस्तीका सबै प्रभावित भएका, चेलीबेटी पनि नआएका र सबै पीडामा भएकाले कसैले तिहार नमनाएको र देउसीभैलो समेत कोही नखेलेको बताउनुभयो । तिहार पर्वको समयमा पनि पुरै बस्ती भूकम्पकै कारण सुनसान रहेका उहाँको भनाइ छ । पछिल्नो समयमा विभिन्न निकायले भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउँदै आएपनि प्रयाप्त नभएको र चिसोका कारण स्थानीय बालबालिका, सुत्केरी धमाधम बिरामी पर्न थालेको उहाँले जानकारी दिनुभयो ।
गत कात्तिक १७ गते राती गएको भूकम्पले सल्यानको दार्मा गाउँपालिकामा ७ सय ९४ घर बस्नै नमिल्ने गरी क्षति भएका थिए । यस्तै ८ विद्यालय पूर्णरुपमा क्षति भएका छन् । जसका कारण अहिले पनि २ हजार ६ सय जना विस्थापित भएका थिए । चिसोका कारण दार्मा गाउँपालिकामा ४ सय सुत्केरी, ४ सय ३७ बालबालिका र ५ सय भन्दा बढि ज्येष्ठ नागरिक प्रभावित छन ।विस्थापित भएका सबै त्रिपाल टागेर बस्दै आएका छन् ।
भूकम्प पीडितका लागि टहरा बनाइदैँ
भूकम्प प्रभावित क्षत्र दार्मा गाउँपालिकामा अस्थायी टेण्ट निर्माण गर्न थालेको छ । पहिलो चरणमा स्वास्थ्य चौकी, वडा कार्यालय, बिद्यालय र बढि प्रभावित क्षेत्रमा टेण्ट निर्माण गर्न सुरु गरेको हो । भुकम्पले क्षति पुर्याएको नौ ओटा बिद्यालय, दुई ओटा वडा कार्यालय, तीन ओटा स्वास्थ्य संस्था र अति प्रभावित क्षेत्रमा अस्थायी टेण्ट निर्माण गर्न लागिएको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म १७ ओटा टेण्ट निर्माण भइसकेका छन ।
क्षति पुर्याएका भवनबाट तत्कालको लागि सहज रुपमा सेवा दिने उदेश्यले अस्थायी टेण्ट निर्माण भइरहेको उहाँले बताउनु भयो । भूकम्पले पूर्णरुपमा क्षति भएका घरपरिवारको लागि तत्कालको लागि अस्थायी टेण्ट निर्माण गरिने छ । दार्मा गाउँपालिकामा गृहमन्त्रालयबाट ५० थान र युनिसेफले ३० थान टेण्ट उपलब्ध गराएपनि अझै टेण्टको अपुग रहेको अध्यक्ष केसीले बताउनुभयो । टेण्ट निर्माणका लागि सिद्धिबक्स गण सिमखर्कबाट नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
दार्मा गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस
भूकम्पबाट प्रभावित बनेको दार्मा गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरिएको छ । भूकम्पग्रत क्षेत्र दार्मामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दार्मा गाउँपालिका क्षेत्रलाई भूकम्प प्रभावित संकटग्रस्त क्षेत्र घोषणाको लागि नेपाल सरकार र प्रदेश सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ ।भूकम्पका भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दा क्षतिग्रस्त घरहरुलाई बस्न मिल्ने र बस्न नमिल्ने गरी दुई प्रकारमा वर्गीकरण गरी सोही अनुसार तथ्याङ्क सङ्कलन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलले जानकारी दिनु भयो ।
यस्तै भूकम्पले क्षतिग्रस्त आवास तथा भौतिक संरचनाहरुलाई पूननिर्माण कार्यमा जोडन नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने, दार्मा गाउँपालिका लगायत जिल्ला भर प्रभावित नागरिकहरुको राहत, क्षतिपूर्ति तथा पुनस्थापनाका लागि विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुलाई अनुरोध गर्ने र एकद्धार प्रणाली मार्फत राहत वितरणको व्यवस्था गर्ने निर्णय भएको खरेलले बताउनु भयो ।
बुद्धिमान पुन
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…