भूकम्प गएको आठ वर्ष बित्दा पनि बिस्थापितहरू अझै टहरोमै बस्न बाध्य

भूकम्पको गएको आठवर्ष बित्दा पनि  भूकम्प पीडित बिस्थापितहरू अझै टहरोमै बस्न बाध्य छन् । ०७२ वैशाखमा भएको भूकम्पमा २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थायी टहरामै बस्न बाध्य भएका छन् ।

बिस्थापित क्याम्पका वृद्धवृद्धा, महिला, बालबालिकाहरू अहिले जाँडो र गर्मीमा कष्टकर जीवन बिताउनु परेको उत्तरगया गाउँपालिका–५ खाल्टे स्थित क्याम्पका पूर्ण घलेले बताउनु भयो । “अवासको हक कसरी सुरक्षित हुन्छ मानव अधिकारकर्मीहरूले हाम्रो आवाज उठाइदिनु प¥यो ।” इन्सेक प्रतिनिधिसँगको कुराकानीमा घलेले भन्नु भयो ।

क्याम्पका अगुवा छेकु लामाले तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल आएर खाल्टेको सार्बजनिक स्थान बस्न भनेपछि आफुहरू त्यहाँ बसेको तर पछि प्राधिकारणले नै यहाँबाट उठाउन खोजेको र हाम्रो समस्या समाधान नभइ प्राधिकरण बिगठन भएको बताउनु भयो ।

भूकम्पका आठवर्ष बित्दा पनि निजी आवास पुनर्निर्माण हुन नसक्दा बिस्थापितहरू गर्मी र जाडो समस्या त छदैछ वर्षातको भेल, त्रिशूली नदिमा आउने बाढीले बस्ती बगाउने त्रासमा हुन्छ स्थानीय बुटी तामाङले  भन्नु भयो । “सधै त्रासमा कति बस्नु यहाँ महिला, बालबालिका, ज्येष्ठ नागरिक कहिलेसम्म जोखिममा बस्ने हो नागरिक अधिकारको प्रत्यभूति गर्न सकिएन ।,” तामाङले भन्नु भयो ।

सरकारले आफ्नो सुरक्षित घडेरी नभएका परिवारलाई २ लाख रूपियाँ  दिने नीति अनुरूप अनुदान दिएर बस्ती स्थानान्तरण सुरू गरेपनि त्यसले गति लिन सकेको छैन ।

आफ्नो स्वामित्वमा रहेको जग्गा आवास निर्माणका लागि असुरक्षित भएका परिवारलाई सरकारले तीन वर्षअघि तल्लो पैरेमा जग्गा अधिग्रहण गरेपनि अझै आवास निर्माण थालनी भएको छैन । खाल्टेमा बसेका सवै बिस्थापित परिवारलाइ पुग्ने गरी जग्गा नभएको स्थानीय पर्मा लामाले बताउनु भयो ।


हेमनाथ खतिवडा