भूकम्प गएको आठ वर्षसम्म टहरामै विद्यालय

  ०७९ कात्तिक २१ गते

कालिञ्चोक गाउँपालिका वडा नम्बर २ बाबरेहेको एक विद्यालय झण्डै आठ वर्षदेखि टहरामै सञ्चालन हुँदै आएको छ । भूकम्पका कारण पक्की भवनमा क्षति पुगेपछि टहरामै कक्षा सञ्चालन हुँदै आएको वडा नम्बर २ का वडा अध्यक्ष हेमबहादुर पाण्डेले बताउनु भयो ।

२०७२ सालको भूकम्प अघि कक्षा तीन कक्षासम्म सञ्चालनमा रहेको निको भगवती प्राविका भवनहरू भूकम्पले क्षति पुर्‍याएर कक्षा सञ्चालनमा समस्या भएपछि बन्द भएको थियो ।

निको भगवती प्राविका विद्यार्थीहरू नजिकको निकोभूमि माध्यामिक विद्यालयमा भर्ना भएका थिए ।

वडा नम्बर २ को सानोबाटा, ठूलोबाटा, कुटिस्याङ, स्यारबाराङ, डम्फा सहितका टोलका बाल कक्षा (इसिडि) मा अध्यन गर्ने विद्यार्थीहरूलाई समस्या भएपछि टहरा बनाएर पहिले विद्यालय रहेको ठाँउभन्दा केही तल निको भगवती प्राविलाई पुनः सञ्चालन गरिएको वडा अध्यक्ष हेमबहादुर पाण्डेले बताए ।

वडा अध्यक्ष पाण्डे भन्छन् स्थानीयको जग्गा भाँडामा लिएर टहरा बनाई सञ्चालन गरिएको विद्यालयमा अहिले बाल कक्षा (इसिडि) सञ्चालनमा रहेको र कक्षा १ सञ्चालनको तयारी गरिएको छ । विद्यालयमा ३० जना विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

झण्डै सात सय जनसङ्ख्या रहेको वडाको पाँच ओटा टोलको पायक पर्ने विद्यालय भएकोले निको भगवती प्राविमा कक्षा तीनसम्मै सञ्चालन गर्नु पर्ने आवश्यकता भएकोले वडाले थप भवन निर्माण, थप दरबन्दिको शिक्षक र खेल मैदान निर्माणको लागि सरोकारवाला निकायसँग पहल भैरहेको र अहिले विद्यालयमा एक जना बाल कक्षा (इसिडि) को शिक्षकको मात्र दरवन्दि रहेको पाण्डेले बताए ।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शङ्कर बाबु श्रेष्ठ भुकम्प पछि निको भगवती प्राविका विद्यार्थीहरू अन्यत्र गएको र अहिले उक्त विद्यालय एकिकृत शैक्षिक व्यवस्था (आईईएमआईएस) प्रणालीमा नदेखिएकोले उक्त विद्यालयबारे धेरै जानकारी नभएको बताए ।


उद्धव पोखरेल