भूकम्पले स्वास्थ्यचौकी भवन चर्किएपछि खुल्ला चौरमा बसेर स्वास्थ्य सेवा दिन बाध्य

दार्मा गाउँपालिकाको तीन स्वास्थ्यचौकीमा भूकम्पले क्षति पुगेपछि स्वास्थ्यकर्मी चर्किएको भवनको बरन्डा तथा खुल्ला चौरमा बसेर सेवा दिइरहेका छन् । पक्की भवन चर्किएर बस्न नमिल्ने भएपछि स्वास्थ्यकर्मी बरन्डा र खुल्ला चौरबाट सेवा दिन बाध्य भएका हुन् ।

भूकम्पले दार्मा पालिकाभरी पूर्ण र आंशिक गरी दुई हजार भन्दा बढी घर क्षति भएको थियो । पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार सामुदायिक स्वास्थ्य इकाई केन्द्र र स्वास्थ्यचौकीसहित आठ स्वास्थ्य संस्था रहेको दार्मामा भूकम्पका कारण दार्माकोट, भल्चौर र ढाकाडामको कागुनोखोलामा रहेका स्वास्थ्य संस्थामा क्षति भएको छ । भवन क्षति भएका कारण स्वास्थ्यकर्मीले बरन्डा तथा खुल्ला चौरमा बसेर सेवा दिनु पर्दा स्वास्थ्यकर्मीले मात्र नभइ बिरामीले समस्या झेल्नु परिरहेको छ ।

सुत्केरी सेवालगायत अन्य सेवा प्रभावित भएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताउनुभयो । चिसोले गर्दा त्रिपालमा बस्दै आएका पालिकावासी बिरामी पर्दा एक स्वास्थ्य संस्थामा दैनिक १५ देखि २० जनासम्म बिरामी उपचारका लागि आउने गरेकाले स्रोत साधन र औषधि अभावमा सेवा दिन कठिनाइ भइरहेको उहाँको भनाइ छ । ‘हामीले स्वास्थ्य संस्था मर्मत तथा पुनर्निर्माणको लागि सम्बन्धित निकायमा माग गरेका छौं, सम्बन्धित निकायले तत्कालका लागि अस्थायी टहरा निर्माण गरेर सेवा नियमित सञ्चालन गर्न सुझाव दिएको छ, विकल्प केही छैन, त्यही भएर खुल्ला चौर र चर्किएको भवनको बरन्डा प्रयोग गर्न बाध्य हुनु परेको छ’ उहाँले भन्नुभयो ।

सामुदायिक स्वास्थ्य इकाई केन्द्र कागुनोखोलाका प्रमुख यज्ञ खड्काले भवन बस्नै नमिल्ने गरी क्षति भएपछि गत केही दिन सेवा प्रभावित भएको र स्थानीय समस्यामा नपरुन् भनेर मङ्सिर १ गते देखि खुल्ला चौरबाट सेवा दिँदै आएको बताउनुभयो । क्षतिग्रस्त भवनबाट अत्यावश्यक सामग्री तथा औषधि निकाल्न नसकेको उहाँको भनाइ छ । ‘भवन चारैतिर चर्केको छ, कुनै पनि बेला भत्कन सक्ने भन्दै प्राविधिकले उक्त भवनमा नबस्न सल्लाह दिएपछि त्रासका कारण कोठामा बस्न सकेका छैनौं,’ उहाँले भन्नुभयो ‘स्वास्थ्य संस्थाबाट बेलुकीसम्म सेवा दिँदै आएका थियौं, अहिले खुला स्थानमा बसेर दिउँसो २ बजेसम्म सेवा दिन कठिनाइ भएको छ, उपचार गर्नेभन्दा चिसोले आफैं बिरामी हुने अवस्था देखिएको छ ।’

भल्चौर स्वास्थ्याचौकीकी महिला स्वास्थ्यकर्मी गीता केसीले स्वास्थ्यचौकीको भवन चारैतिर चर्किएकाले सुत्केरी सेवाभन्दा ओपीडी सेवा दिन कठिनाइ भएको बताउनुभयो । बिरामी धेरै आएका बेला बस्ने ठाउँ नहुने समस्या पनि रहेको उहाँको भनाइ छ । सुरक्षित सेवा प्रवाहका लागि छिट्टै भवन पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायलाई आग्रह गरिएको उहाँले बताउनुभयो । दार्माकोटमा रहेको स्वास्थ्यचौकीको प्रसूति गृह पूरै भत्किएपछि अर्को स्थानमा सारिएको छ । तर, कोठा साँगुरो हुँदा सेवा दिन कठिनाइ भइरहेको छ ।

दार्मा गाउँपालिका–५ लिरेडाँडाकी १९ वर्षीया विन्दु खड्का सुत्केरी भएको जम्मा १९ दिन भयो । त्रिपालमुनि बस्नुपर्दा उहाँलाई ज्वरो र रुघाखोकीको समस्या देखिएको छ भने उहाँकी सानी छोरीलाई समेत स्वास प्रस्वास बढेको छ । स्वास्थ्य संस्थाका भवनमा भुकम्पले क्षति गरेपछि त्रिपाल र बरण्डाबाट सेवा लिनुपर्दा समस्या भइरहेको उहाँको भनाइ छ । दार्मा गाउँपालिकामा ४ सय सुत्केरी, ४ सय ३७  जना बालबालिका प्रभावित भएका छन् ।

घरमै गएर स्वास्थ्य उपचार

दार्मा गाउँपालिकामा चिसोले बिरामी परेका भूकम्पपीडितको घरमै गएर स्वास्थ्य उपचार थालिएको छ । चिसोका कारण बालबालिका, सुत्केरी, ज्येष्ठ नागरिक बिरामी परेपछि मङ्सिर ५ गते देखि बिरामीको घरघरमा गएर स्वास्थ्य उपचार हो । स्वास्थ्य सेवा कार्यालय र दार्मा गाउँपालिकाको संयुक्त आयोजनामा स्वास्थ्य उपचार थालिएको हो । स्वास्थ्य उपचारका लागि स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढामगर लगायत डाक्टर, स्वास्थ्यकर्मी र स्थानीय तहको स्वास्थ्यकर्मीको सहित १४ जनाको टोली खटिएको छ । खटिएको टोलीले जनज्योती माध्यमिक विद्यालय फारुलामा अध्ययनरत विद्यार्थीबाट स्वास्थ्य उपचार सुरु गरेको थियो ।

शिविर सञ्चालन गर्दा भौगोलिक विकटताका कारण पालिकाका सबैलाई समेटन नसकिने र बिरामी परेका समेत उपचारका लागि जान नसक्ने अवस्था सिर्जना भएपछि बिरामी परेकाको घरघरमा गएर स्वास्थ्य उपचार गर्न थालिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बस्नेतले बताउनुभयो ।
स्वास्थ्य उपचार दुई दिन सम्म सञ्चालन गरिने र आवश्यकता अनुसार समय थपिने उहाँले बताउनुभयो । ‘बालबालिकामा निमोनिया, ज्येष्ठ नागरिकमा दम र सुत्केरी तथा गर्भवती लगायत अन्यमा ज्वरोका समस्या देखिएपनि कसैले ज्यान गुमाएका छैनन’ उहाँले भन्नुभयो ।

Photo20231122Salyan


बुद्धिमान पुन