भूकम्पले भवन भत्केपछि विद्यार्थीको पठनपाठन चौरमा

  ०८० पुस ५ गते

तातोपानी गाउँपालिका – ७ ताम्तीको जनजागृति माध्यमिक विद्यालयकाे भवनमा भूकम्पले भत्केपछि बस्ने कक्षा कोठा नहुँदा विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् ।

विद्यालयको ०६२ सालमा बनेका तीन ओटा भवन भूकम्पले भत्किएपछि माइनस तापक्रममा समेत खुला चौरमा पठनपाठन भइरहेको छ । २०७२ सालको भूकम्पले चर्किएका भवन गत ०८० कात्तिक १७ गतेको भूकम्पले भत्किदा पठनपाठनमा निकै कठिनाई भएको प्रधानाध्यापक गोपाल सुनारले बताउनु भयो । ‘जाजारकोटसँग सिमा जोडिएको ताम्ती क्षेत्रमा भूकम्पले विद्यालयका भवन ध्वस्त भएका छन् । घाम लागेको समयमा जेनतेन चौरमा बसेर भएपनि पठनपाठन भएको छ । तर वर्षाद र हिमपात भएपछि चिसोले विद्यार्थी बिरामी पर्न थालेको प्रधानाध्यापक सुनारले भन्नुभयो ।

माइनस तापक्रममा खुला चौरमा बसेर पढ्न नसकिने भएपछि अधिकांश विद्यार्थी विद्यालय आउनै छाडेका छन । चिसो बढ्दै छ, हिमपात भइरहेको छ, चौरमा बसेर पढ्न सकिदैन, कतिपय विद्यार्थी त स्कुल आउनै छाडेको कक्षा १० मा अध्ययनरत छात्र टेकेन्द्र बुढाले बताउनु भयो ।

जनजागृति माध्यमिक विद्यालयमा दुई गाउँ ताम्ती र बारागाउँका गरी ३ सय ३४ जना विद्यार्थी छन् । कक्षा १ देखि १० सम्म पठनपाठन भइरहेको छ ।

विद्यार्थीलाई ज्ञान आर्जन गर्न विद्यालय पढाउँदा चिसोले धमाधम बिरामी भएर घर फर्कने गरेको स्थानीय भैर रावतले बताउनु भयो । ‘बालवालिका घरबाटै विद्यालय जान मान्दैनन्, गएपनि कसैलाई ज्वरोले भेट्छ, कसैलाई रुघा खोकी लाग्छ, ।’ उहाँले भन्नुभयो । ‘विद्यालय नपठाउँ भविष्यको चिन्ता छ, पठाउँ, दण्ड दिएजस्तो हुन्छ, निकै हैरानी खेप्नु परेको छ ।’ अहिलेको वैज्ञानिक युगमा समेत विद्यार्थीलाई बस्ने कक्षा कोठा सम्म नहुनु दुखद पक्ष हो ।

चारकोठे पक्कि भवनमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई व्यवस्थापन गरिएको र बाँकी सबै कक्षाहरु चौरमा सञ्चालन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेर बहादुर रावतले बताउनु भयो । शिशु कक्षा पक्की भवनको कोलियामा सञ्चालन गरिएको उहाँले जानकारी दिनु भयो । जीर्ण भवन भूकम्पले भत्किएपछि विद्यालयको अवस्था दयनीय भएको उहाँले गुनासो गर्नुभयो ।

भेरी खोलाकै पुरानो शैक्षिक धरोहर जनजागृति माध्यमिक विद्यालयको समस्या निकै संवेदनशील भएको तातोपानी गाउँपालिका–७ का वडा अध्यक्ष तिलक बहादुर रावतले बताउनु भयो । उहाँले भन्नुभयो ‘वडाको सिमति बजेटले ठूला समस्या समाधान गर्न सम्भव नभएकोे उपल्लो निकायले ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।’

भूकम्पले दर्जनौं विद्यालयका पुराना भवन चर्किएको, जनजागृति मावि ताम्ती र दुर्गा माध्यमिक विद्यालय लाम्राकाे भवन भत्किएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौंलागाईले बताउनु भयो । विद्यालय पुननिर्माणका लागि प्रदेश र संघ सरकारसँग पहल भइरहेको उहाँले भन्नुभयो  ।

Photo20231221Jumla (2)

Photo20231221Jumla (1)


मानदत्त रावल