भूकम्पले भत्केका १० विद्यालय अझै पुनर्निर्माण भएनन्
जोखिम बस्तीमा परेका सात ओटा र अन्य तीन ओटा गरी भूकम्पका कारण भत्केका रसुवाका १० विद्यालय भवन अझै निर्माण हुन नसक्दा विद्यार्थीहरूलाई पठनपाठनमा समस्या परेको छ ।
भूकम्प गएको पाँच वर्ष बित्न लाग्दा समेत विद्यालय भवन नबन्दा असुरक्षित भवनमा जोखिममा पढ्नु परेको स्थानीयको गुनासो छ ।
गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको अवस्था दयनीय रहेको स्थानीयले बताएका छन् ।
विद्यालयको तीनकोठे पक्की भवन छ । जसमा एउटामा कार्यालय र एउटामा पुस्तकालय सञ्चालित छ ।
बाँकी एउटा मात्र कोठामा पढाइ हुन्छ । अरू कक्षाको पढाइ जस्ताको टहरामा भइरहेको छ । यो विद्यालय तीन वर्षअघि चीन सरकारले निर्माण गर्नका लागि जिम्मा लिए पनि कुनै प्रयास भएको छैन ।
‘जस्तापाता कतिबेला हुरीले उडाउँछ भन्ने त्रासमा पढाउनु परेको छ । विद्यालय निर्माण नगर्ने भए हामीले अन्यत्र पहल गर्न सहज हुन्थ्यो ।’–प्रधानाध्यापक फुर्पुदोर्जे घलेले भने–‘चीन सरकारले निर्माण गर्ने भनेर ओगटेर राख्दा भवन निर्माण गर्न समस्या भइरहेको छ ।’
भूकम्प गएको ५ वर्ष वित्नलाग्दा समेत जिल्लाका १० ओटा विद्यालयको निर्माण अझै सुरु हुन सकेको छैन् ।
जग्गाको अभाव र जोखिममा परेर बस्ती विस्थापित भएका सातओटा र चीन सरकारले जिम्मा लिएका तीनओटा विद्यालयको निर्माण सुरू नभएको शिक्षा विकास तथा समन्वय एकाई रसुवाले जनाएको छ ।
चर्को घाम र कठ्याङ्ग्रिदो जाडोमा विद्यार्थीहरूले सहज रूपमा पठनपाठन गर्न नपाएको अभिभावक सितार तामाङले बताए ।
‘ठूलो हावाहुरी आयो भने भएको संरचना उडाएर लैजाने चिन्ता छ ।’–कालिका गाउँपालिका–५ स्थित नीलकण्ड नमुना उच्चमाविका प्राचार्य नारायण देवकोटाले भने ।
कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, करूमर्याङ आधारभूत, भूमेदेवी आधारभूत र आमाछोदिङमो गाउँपालिका–५ स्थित पाजुङ आधारभूत विद्यालय भूकम्पका कारण क्षति भएपनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।
ती विद्यालयमा कठ्याङग्रिदो चिसोमा टिनको छानाको अस्थायी सिकाई केन्द्रमै पढन् बाध्य हुनुपरेको विद्यार्थीहरूको गुनासो छ ।
कति बेला भवन भत्किन्छ भनेर त्रासमा अध्ययन गर्नु परेको तिरु प्राविका विद्यार्थी साजन तामाङले गुनासो गरे ।
विनाशकारी भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको हो । धेरै सामाजिक संस्था र जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) मा धाएपनि रकम विनियोजन नगरेको पाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक केदार घिमिरेले बताए ।
‘वर्षातमा पानी परेको समयमा र पुसमाघमा हिमपात भएपछि विद्यालय बन्द गर्नु पर्ने स्थिति आउँछ ।’–प्रधानाध्यापक घिमिरेले भने ।
अस्थायी सिकाइ केन्द्र पनि पानी चुहिने भएकाले विद्यार्थीहरूलाई पढाउन समस्या परेको उनले बताएका छन् ।
भूगर्वविद्ले विद्यालय रहेको पूरै बस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि रसुवाको सात स्थानमा विद्यालय भवन निर्माण हुन नसकेको हो । शिक्षा समन्वय एकाईका ध्रुव लामिछानेले भने–‘सरकारले असुरक्षित भनेको स्थानमा विद्यालय भवन निर्माण हुन सकेन ।’
भूकम्पका कारण पूरै गाउँ जोखिम बस्तीमा परेका कारण त्यही ठाउँमा भवन निर्माण गर्न नमिल्ने भएकाले विद्यालय बनाउन नसकिएको जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा)ले जनाएको छ ।
‘भूकम्प गएको पाँच वर्षसम्म पनि विद्यार्थीहरू अस्थायी सिकाइ केन्द्रमा बसेर कष्टसाथ पढ्न बाध्य भएका छन् ।’–पाजुङ प्राविका प्रधानाध्यापक केदार घिमिरेले भने–‘भवन बनेन कहाँ पढाउनु समस्या छ ?’
कक्षा कोठा अभावमा भूकम्प प्रभावित विद्यालय अझै उस्तै रहेकाले विद्यार्थी समस्यामा परेको आमाछोदिङमो गाउँपालिका–५ का वडा सचिव छोवाङ तामाङले बताए ।
उनले भने–‘न बस्ती स्थानान्तरण हुन सक्यो न विद्यालय नै स्थानान्तरण भयो । खुल्ला चौरमा कतिदिन जोखिममा पढ्नु, पढाउनु ?’
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…