भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा विद्यार्थी टहरामै !

देवघाट गाउँपालिका–३ छिपछिपे भञ्ज्याङमा रहेको बालकेश माविको भूकम्पले भत्काएको विद्यालय भवन पुनर्निर्माण नहुँदा बालबालिका अझै पनि टहरामै पढ्न बाध्य छन् ।

०७२ सालको भूकम्पले सो विद्यालयको भवन भत्काएपछि त्यसयता कक्षा ४ र ५ का बालबालिका टिनले बारेको अस्थायी टहरामा बसेर पढ्न बाध्य भएका हुन् ।

भवन पुनर्निर्माण कार्य पूरा नगर्दा विद्यार्थीलाई अस्थायी टहरामा राखेर पढाउनु परिरहेको विद्यालयका प्रधानाध्यापक प्रेमकुमार बाचेले बताए । भवन नहुँदा खुल्ला टहरामा पढाउनु परेको कारण विद्यार्थीको पढाईप्रतिको ध्यान नभएको उनले बताए ।

शिक्षक अर्जुन थापाले पनि भूकम्प गएपछि ति दुई कक्षाका बालबालिकालाई खुल्ला टहरामा पढाउनु परेको कारण निकै समस्या भएको बताए । जाडोमा र गर्मीमा टहरामा पढाउँदा समस्या हुने गरेको उनले बताए । गर्मीमा टिन तातेर बस्नै नहुने तथा हावाहुरी र पानी कक्षा कोठा भित्रै पसेर बस्न नसकिने पनि शिक्षक थापाले बताए ।

कक्षा ४ की छात्रा देवी सारूले टहरामा बसेर पढ्न कष्टकर हुने गरेको बताइन् । ‘बाहिर विद्यार्थीहरू खेलेर, हल्ला गरेर हिँड्छन्, खुल्ला ठाउँ भएकोले सबै देखिन्छ ।’

शिक्षा मन्त्रालयले गत आर्थिक वर्षमा नै सो विद्यालयमा दुई कोठे पक्की भवन बनाउन १३ लाख ५० हजार रुपियाँ विनियोजन गरेपनि विद्यालय भवन अझै सम्पन्न भएको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख सुर्यप्रसाद क्षेत्रीले अघिल्लै आर्थिक वर्षमा भवन निर्माणको लागि रकम विनियोजन गरिएको र सो रकम फस्र्योट नभएसम्म उक्त विद्यालयमा नयाँ कार्यक्रम दिन नसकिने बताए ।

उनले ब्रिटिस वेलफेयर सेन्टर दमौलीले पनि उक्त विद्यालयमा नयाँ पक्की भवन निर्माणको लागि बजेट विनियोजन गरेर सम्झौता गरिसकेको हुँदा अब तुरून्तै नयाँ भवन निर्माणको लागि दबाब दिइने बताए ।

भवन अभाव भयो भने अहिले निर्माण सुरू भएको भवन सम्पन्न भएपछि अर्का कार्यक्रम दिन सकिने उनले बताए । २ सय ५० जना विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयमा हाल ९ कक्षासम्म सञ्चालन भएको र आगामी शैक्षिक सत्रबाट कक्षा १० सञ्चालन गरिने प्रअ थापाले जानकारी दिए ।

photo20190119tanahu (1)

photo20190119tanahu (2)

photo20190119tanahu (3)

photo20190119tanahu (4)

photo20190119tanahu (5)


प्रकाशचन्द्र भट्टराई