भूकम्पले पानीको मूहानमा क्षति पुर्‍याएपछि विद्यालयमा पीउने पानीको समस्या

  ०७३ मङ्सिर ९ गते

बिनाशकारी भूकम्पले पानीको मूहानमा क्षति पुर्‍याएपछि नागदह गाविसमा रहेको झटेश्वर माध्यमिक विद्यालय धोवीमा खानेपानीको समस्या भएको छ । खानेपानीको मूहान बिग्रिएपछि विद्यालयमा पीउने पानीको हाहाकार भएको हो ।

विद्यालयका प्रधानाध्यापक केवल तिमल्सिनाका आनुसार पहिला देखि नै खानेपानीको समस्या भएको धोवी डाँडामा भूकम्पले खानेपानीको मूहानमा पनि क्षति पुर्‍याएपछि समस्या बढेको हो । खानेपानीको मूहानमा क्षति भएपछि सो मूहानको पानी पनि आउन छाडेको उनले बताए । यसले विद्यालयमा पीउने पानी ठप्प भएको छ ।

पीउने पानीको अभाव भएपछि हरेक विद्यार्थीलाई बोतलमा पानी ल्याउन लगाउने गरेको प्रधानान्यापक तिमल्सिनाले बताए । यसो गर्दा पनि कतिपय विद्यार्थीहरू बोतल व्यवस्थापन गर्न नसक्दा त्यतिकै विद्यालय आउने गरेको उनले सुनाए । 'ती बालबालिकालाई पानी खुवाउनै गाह्रो भो !'-तिमल्सिनाले भने ।

खानेपानी विद्यार्थीहरूले घरबाटै ल्याउने गरेको भए पनि हातमुख धुने तथा शौचालयमा प्रयोग गर्ने पानीको कुनै प्रबन्ध गर्न नसकिएकाले विद्यार्थी तथा शिक्षकको स्वास्थ्यमासमेत प्रभाव पर्न थालेको प्रधानाध्यापक तिमिल्सिनाले बताए ।

विद्यालय र स्थानीयबासीले खानेपानी नपाउँदा पनि स्थानीय खानेपानी उपभोक्ता समितिले चासो नदेखाएको स्थानीयबासीको आरोप छ । धोवी बजार क्षेत्रमा पानीलाई तेलजस्तै जोगाएर प्रयोग गर्ने गरेको स्थानीय भूपेन्द्र खड्काले बताए ।

खानेपानीको मूहान मर्मतको लागि जिल्ला विकास समितिले गतसाल १ लाख रुपियाँ यहाँको उपभोक्ता समितिलाई पठाएको थियो । तर, त्यो रकम आएको र खर्च भएको बारे समेत समितिका अध्यक्ष बाहेक अरूलाई थाहा नभएको उपभोक्ता समितिका सचिव साजनकुमार तामाङले आरोप लगाए । उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर तामाङले रकम ल्याएको भए पनि त्यसको उचित व्यवस्थापन हुन नसकेको सचिव तामाङ्को गुनासो छ ।


नवराज पथिक