भूकम्पले क्षतिग्रस्त विद्यालय पुनर्निर्माण नहुँदा विद्यार्थीलाई सास्ती

भूकम्पले विद्यालय क्षतिग्रस्त भएको ६ वर्ष भइसक्यो । विद्यार्थीको जीवनमा भूकम्पको कहर भने अझै गएको छैन । पुरानो भवन भत्कियो, अब त नयाँ भवनमा बसेर पढ्न पाउँला भन्ने इच्छा राखेका भक्तपुर दरबार क्षेत्रमा रहेको दुई विद्यालयका विद्यार्थीको पढाई अहिले पनि जस्ताको टहराामै सास्ती खेप्दै वितिरहेको छ ।

वि.स. १९८१ मा स्थापना भएको भक्तपुरको दरबारस्क्वायरस्थित श्रीपद्म मावि विद्यार्थी निकेतन माविको भवन २०७२ को भूकम्पबाट क्षतिग्रस्त छन् ।

भूकम्पले क्षतिग्रस्त भएको यो विद्यालय नयाँ भवन अझै बनेको छैन । भक्तपुर नगरपालिकाले विद्यालय पुनर्निर्माणका लागि समयमै नक्सा स्वीकृत नगरेपछि अहिलेसम्म विद्यालयको नयाँ भवन बन्न नसक्दा टहरामै विद्यार्थी पढाउनु परेको श्रीपद्म माविका प्रधानाध्यापक राम हाडा बताउनु हुन्छ ।

यो विद्यालय पुनर्निर्माणका लागि सरकारले २०७४ सालमै १६ करोड रुपैयाको बजेट छुट्याएको थियो । देश कै नमूना विद्यालय बनाउन सरकारले छनोट गरे पनि विद्यालय भवन बनाउन नगरपालिकाले स्वीकृत नदिदाँ त्यो बजेट फिर्ता गएको उहाँ बताउनु हुन्छ ।

Bidyarthi Nikatan Schoolविश्व सम्पदामा सूचीकृत भक्तपुर दरबार स्क्वायर परिसर भित्र परेको भन्दै नगरपालिकाले पुरानै राणकालीन स्वरूपमा विद्यालय भवन बनाउन रोक लगाएकाले पुनर्निर्माणमा कठिनाइ भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षा (डीएलपीआईयू) को भनाई छ ।

ठेक्कामार्फत निर्माण हुनुपर्ने जिल्लाकै एक मात्र नमुना विद्यालय स्थानीय तहबाट नक्सा पास नहुनाले बन्न नसक्ने अवस्था पुगेको डीएलपीआईयूका कर्मचारी बताउँछन् ।

दातृ निकायले अत्याधुनिक प्रविधि जडान गरेर विद्यालयको भौतिक संरचना, कक्षा, कोठा व्यवस्थापन शिक्षण सिकाइ गर्न तालिम हल, अडिटोरियम हल, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्र तथा छात्रा शौचालय, भित्र र बाहिर खेलमैदान सहतिको आवासीय नमूना विद्यालय बनाइदिने सम्झौता गरेका दुईवर्षपछि बजेट फ्रिज हुँदा अझै अन्योल बनेको प्रधानाध्यापक हाडा बताउनु हुन्छ ।

विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, ईलाइब्रेरी, इन्टरनेटसहित कम्प्युटर, फोटोकपी मेसिन, विषयगत र अन्तरविषय पुस्तकहरू, जर्नल, पत्रपत्रिकाको व्यवस्था गर्ने गरिने भनिए पनि विद्यार्थीका लागि यो सपना जस्तै बनेको छ । अस्थायी टहरा मै विद्यार्थी अझै पढिरहेका छन् ।

भूकम्पले क्षति पुर्याएको दरबार क्षेत्रकै अर्को विद्यार्थी निकेतन माविको अवस्था पनि उस्तै छ । क्षतिग्रस्त रातो स्टिकर टाँसेको भवनमा विद्यालय प्रशासन, लेखा, कम्प्युटर ल्याब सञ्चालनमा छ । विद्यार्थी अस्थायी टहरामा पढ्दै आएका छन् ।

शिक्षक शिक्षिका र प्रशासन रातो स्टिकर टाँसेको भवन मै बस्न बाध्य छन् । यही भवनमा कम्प्युटर ल्याब भएको र अर्को भवन नहुँदा विद्यार्थीले कम्प्युटर ल्याबको सदुपयोग गर्न पाएका छैनन् ।

भवन अभावले अतिरिक्त क्रियाकलाप गराउन कठिन भएको विद्यालयकी प्रधानाध्यापक सर्जनी जोशी बताउनुहुन्छ । २००४ सालमा स्थापना भएको यो विद्यालयको पुनर्निर्माण अनिश्चित जस्तै भएको उहाँ बताउनुहुन्छ ।

पुनर्निर्माणका लागि पेस गरेको नक्सा नगरपालिकाले स्वीकृत नगर्दा नयाँ भवन निर्माण हुन नसकेको बताउँदै नगरपालिकाको भनेजसरी दोश्रो पटक पेश गरेको नक्सा नगरपालिकाले अध्ययन गर्ने बाहनामै वर्षौ रोकेपछि विद्यार्थी टहरामै पढ्न बाध्य भएको उहाँ बताउनु हुन्छ ।

दरबार क्षेत्रकै अर्को शारदा मावि भने नगरपालिकाले पुर्ननिर्माण गरेको छ ।     २००९ सालमा स्थापित यो विद्यालयको तीनतले भवन भूकम्पका कारण भत्किएपछि दुई तला भूकम्पले भत्काएको रातो स्टिकर टाँसेको भवनमा तीन वर्ष प्रशासन, पुस्तकालय, कम्प्युटर ल्याब, लेखा, प्रशासन रहेपनि अहिले मल्लकालिन शैलीमा यो भवन पुर्ननिर्माण भएपछि विद्यार्थी नयाँ भवनमा पढ्न थालेका छन् । तर एकै दिन भत्किएको दरबार क्षेत्रकै श्रीपद्य मावि र विद्यार्थी निकेतनको अवस्था भने अझै उस्तै छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विश्व सम्पदा सूचीमा सुचिकृत दरबार क्षेत्रभित्र संरचना निर्माण गर्दा अन्य क्षेत्रमा जस्तो सहज नहुने बताउनुभयो ।

भक्तपुरको ऐतिहासिक ९९ चोकभित्र अध्ययन, अनुसन्धान र उत्खनन गर्नु आवश्यक रहेकाले नयाँ संरचना निर्माण गर्दा त्यसलाई ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

नगरपालिकाले सम्पदा संरक्षण र ९९ चोकको उत्खनन् तथा अनुसन्धान गर्ने योजना बनाएकाले जथाभावी भवन निर्माणको स्वीकृत नदिएको बताउनु भयो ।

विदेशी दाताले जथाभावी रूपमा सम्पदाको अवमूल्यन हुने गरी बनाउन खोज्दा नगरपालिकाको मापदण्ड अनुसार नक्सा ल्याउन भन्दा विद्यनलयले नै ढिलाइ गरेको भन्दै उहाँले नगरपालिकाको मापदण्ड अनुरुप भवन बनाउन स्वीकृत गरेको बताउनु हुन्छ ।

श्रीपद्य माविका प्रधानाध्यापक हाडाले नगरपालिकाले बजेट आउँदा नक्सा स्वीकृत नै नगरेको र अहिले बल्ल मल्लाकालिन शैलीमा पुरानो भवन भन्दा पर भवन बनाउन नक्सा पास गरे पनि बजेट नहुँदा अन्योल भएको बताउनु भयो ।

श्रीपद्य माविमा ८ सय ५० र विद्यार्थी निकेतनमा ४ सय ८० विद्यार्थीै अध्ययनरत छन् । जाडो बढ्दै जाँदा विहान कक्षा ११ र १२ पढ्ने तथा दिउँसो पढ्ने विद्यार्थीलाई निकै सास्ती भोग्नु परेको विद्यालयका शिक्षकहरु बताउँछन् ।


रमेश गिरी