भूकम्पबाट क्षति भएका विद्यालय पुनः निर्माण हुन नसक्दा बालबालिकाहरूको पठनपाठनमा समस्या
नेपालमा ०७२ साल वैशाख १२ गते आएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवन समयमै पुनः निर्माण हुन नसक्दा बागमती प्रदेशका अधिकांश विद्यालयका बालबालिकाहरूको पठनपाठनमा समस्या भएको छ ।
सरकारले पुनः निर्माण प्राधिकरणको स्थापना गरी भूकम्पबाट भएको भौतिक संरचनाको पुनः निर्माणमा जनताको निजी आवास निर्माणलाई सघाउन अनुदान उपलब्ध गराउनु, विद्यालय, सरकारी तथा सार्वजनिक भवन तथा सम्पदाको जीर्णोद्वार तथा पुनः निर्माण गर्ने लक्ष्य भए पनि समयमै पुनः निर्माण हुन नसक्दा उक्त समस्या भएको हो ।
दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा ०७२ साल वैशाख १२ गतेको भूकम्प र १३ र २९ गतेको पराकम्पबाट तत्कालिन अवस्थमा रहेका ३ सय ६२ ओटा सामुदायिक विद्यालयका भवन सबै क्षति भएको थियो । अधिकांश विद्यालयहरूमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएकोले स्थानीय तहले विद्यालय गाभ्ने (मर्ज) कार्य गर्दा हाल ३ सय ३७ ओटा सामुदायिक विद्यलय सञ्चालनमा रहेका छन् । भूकम्पबाट जिल्लाका सामुदायिक विद्यालयहरू मध्ये भइरहेको सबै भवन क्षति भएका थिए । भूकम्पबाट क्षति भएका विद्यालय मध्ये हाल जिरी माध्यमिक विद्यालय चिन सरकारको सहयेगमा निर्माणको शुरुवाती चरणमा रहेको, सर्ब मावि, जिलु र कालिनाग मावि, सुनखानी चिन सरकारको सहयोगमा निर्माण अन्तिम चरणमा पुगि हस्तान्तर गर्न बाँकी रहेको छ । जन ज्योति मावि, गौरीमुदीको विद्यालयको प्रवलिकरणको कार्य अन्तिम चरणमा पगि हस्तान्तरण गर्न बाँकी रहेको छ । जिल्लामा अस्थायी भवनमा अध्ययन अध्यापन गर्नु पर्ने अवस्था नभएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख शंकरबाबु श्रेष्ठले बताउनु भयो ।
सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातिबावु धितालका अनुसार त्यसैगरी ०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले सिन्धुपाल्चोक जिल्लामा रहेका ५ सय ४७ ओटा विद्यालयहरू भत्केका थिए । भुकम्पपछि विद्यालयहरू मर्ज गर्ने स्थानीय सरकारको नीति अनुसार केही विद्यालयहरू मर्ज हुँदा हाल जिल्लामा ४ सय ७९ ओटा विद्यालयहरू रहेका छन् । हाल सञ्चालनमा रहेका विद्यालयहरू सबै नयाँ पुनःनिर्माण भएका विद्यालयहरू हुन् । हाल जिल्लामा विद्यालयहरू पुनःनिर्माण हुन बाँकी नरहेको जिल्ला शिक्षा समन्वय इकाई प्रमुख कृष्णप्रसाद सुवेदीले इन्सेकलाई बताउनु भयो ।
रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार ०७२ साल वैशाखको विनाशकारी भूकम्पका कारण ध्वस्त उत्तरगया गाउँपालिका-१, तिरुगाउँ स्थित तिरु आधारभूत विद्यालयमा भवन अभावले विद्यार्थी एकै ठाउँमा राखेर पढाइन्छ । सो विद्यालयमा ५६ जना विद्यार्थी भर्ना भएका छन् । जसमा ४६ जना विद्यार्थी नियमित छन् । उक्त विद्यालयमा चार जना शिक्षक रहेको विद्यालयका प्रद्यानाध्यापक पोखरीप्रपाद भट्टराइले बताउनु भयो । भूकम्पका कारण ध्वस्त विद्यालय भवन अझै निर्माण हुन सकेको छैन । यसले गर्दा नजिकै रहेको अस्थाई सिकाई केन्द्रको एक कोठामा विद्यालयभरका सबै विद्यार्थी राखेर पढाउने गरेको उहाँले बताउनु भयो । अहिले सिकाइ केन्द्र पनि भत्काएर नयाँ भवन निर्माण सुरु गरेपछि नजिकैको एकीकृत बस्तीमा पढाउन थालिएको प्रद्यानाध्यापक भट्टराइले बताउनु भयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्र ममार्फत भवन निर्माण गर्नका लागि अस्थायी सिकाइ केन्द्र भत्काएको र त्यहाँ पनि समयमा जग बनाउन स्क्याभेटर र कामदार नपाएर ढिलाइ भएको उहाँले बताउनु भयो ।
तिरु गाउँमा १ सय ३१ घरपरिवार थिए । भूकम्पका कारण विस्थापित भएकाहरू फर्कने क्रममा छन् । भूकम्पका कारण भत्केका बस्ती एकीकृत बस्ती निर्माण भएको छ । यसअघि यहाँका विस्थापितहरू भूकम्पका कारण ढलेपछि धेरैले गाउँ छाडेर नुवाकोटको बट्टार, बोगटीटार गायतका ठाउँमा बस्दै आएका थिए । अहिले अधिकांश गाउँमा फर्केका छन् । तर बालबालिका पढ्ने विद्यालय भवन निर्माण समयमा नबन्दा समस्या भएको छ । लेकको ठाउँ भएकोले हिउँ वा पानी परे पनि चिसो हुने र विद्यालय बन्द गर्नु पर्ने हुन्छ । विद्यालय भवन चाँढै निर्माण नभएर पढाइ प्रभावित भएको शिक्षिका शीला तामाङले बताउनु भयो । विद्यार्थीहरूलाई एकै कोठामा राखेर पढाउँदा गुणस्तरीय पढाइ हुन नसकेको र विद्यालय भवन पुनर्निर्माणमा पनि धेरै ढिलाई भएको स्थानीय तिरुका अभिभावक लाक्पा तामाङले बताउनु भयो । ‘सात वर्षअघि भत्केको विद्यालय अहिलेसम्म निर्माण भएन कहिले हाम्रा बालबालिकाले सुरक्षित विद्यालयमा राम्ररी पढ्न पाउने', उहाँले भन्नुभयो । त्यसै गरी भूकम्पका कारण भत्कोको मैलुङ्ग, गोगनेका विद्यालयहरू पनि पुनर्निर्माण नभएकोले समस्या परेको स्थानीयले गोगनेका आशा लामाले बताउनु भयो । मैलुङ्गमा धेरै बालबालिकाहरू छन् । गाउँमा विद्यालय छैन कहाँ पढ्ने ? नजिक विद्यालय छैन, घण्टौँ टाढा धाउनु पर्छ उहाँले भन्नुभयो ।
जिल्लामा हाल विद्यालय भवन निर्माण सम्बन्धमा कुनै कार्यक्रम नभएकोले बाँकी विद्यालय कुन कुन छन् थाहा नभएको शिक्षा समन्वय इकाइका प्रमुख रमाकान्त अर्यालले बताउनु भयो । नेपाल राष्ट्रिय आधारभुत विद्यालय, नवविजयी महेन्द्र मावि चीन सरकारको सहयोगमा निर्माण सुरु भएको उहाँले भन्नुभयो । तिरु आवि पनि चाँढै निर्माण हुने बताउनु भयो । टिनले बारेको अस्थायी सिकाइ केन्द्र पनि पानी चुहिने भएकोले विद्यार्थीहरूलाई पढाउन समस्या परेको उहाँको भनाई छ । भूगर्भविद्ले विद्यालय रहेको पूरै बस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि विद्यालय भवन निर्माण हुन नसकेको हो ।
उत्तरगया गाउँपालिका-५, खाल्टेमा रहेको विस्थापित क्याम्पमा ५ सय ६० जना बालबालिका पढ्ने विद्यालय छैन । नजिकै विद्यलयमा अभावले त्यहाँका बालबालिका विद्यालय नभएर आधारभूत शिक्षा लिन समस्यामा छन् । यहाँका बालबालिकाहरू आधारभूत शिक्षा लिनका लागि घण्टौँ हिँडेर टाढा पुग्नु पर्छन् । यहाँका विस्थापित बालबालिकाहरू नजिकै विद्यालय नहुँदा नुवाकोटको बिदुर नगरपालिका-१० स्थित रामचन्द्र आधारभूत विद्यालय र उत्तरगया आवासिय मावि तथा रसुवाको निलकण्ठ उमावि वा ट्रिनिटी आवासिय विद्यालयमा पढ्न जाने गरेको विस्थापित क्याम्पका अगुवा छेजु लामाले गुनासो गर्नुभयो । उत्तरगया गाउँपालिकाको कार्यालय छेवैमा रहेको क्याम्पमा विद्यालय निर्माण थालनी गर्ने कुरा भए पनि गफमै सिमित भएको स्थानीय पर्मा लामाले बताउनु भयो ।
नेपालको संविधानले आवासको हक नागरिकको मौलिक हकका रूपमा समेटिए पनि भूकम्पका कारण विस्थापित २ सय ६९ परिवारको बस्ती स्थानान्तरणमा ढिलाई हुँदा अझैसम्म अस्थयी टहरामै बस्न बाध्य भएका छन् । विस्थापित समुदायका बालबालिकाहरू पढ्नका लागि विस्थापित क्याम्पदेखि घण्टौँ टाढा रहेको विद्यालय धाउनु परेको खाल्टे क्याम्पका विद्यार्थीहरूको गुनासो छ ।
विनाशकारी भूकम्पका आठ वर्ष बित्दा समेत विस्थापित बालबालिकाहरूका लागि विद्यालय स्थापना गर्ने सपना जस्तै भयो । कतै विद्यालयमा विद्यार्थी भन्दा शिक्षक सङ्ख्या बढी भएको तर यहाँ विस्थापित बालबालिका पढाउने विद्यालय नभएको स्थानीय बुटी तामाङले भन्नुभयो । विस्थापितको निजी आवास पुनर्निर्माण हुन नसक्दा विस्थापित समुदायको बस्ती स्थानान्तरण हुन नसकेको उहाँले बताउनु भयो । क्याम्पमा रहेका सयौँ विद्यार्थी पढ्ने विद्यालय छैन । सानो छाप्रोमा बसेर बिहान बेलुका कसरी गृहकार्य गर्ने उनीहरूको भविष्य अन्यौलमा छ ।
नेपालको संविधान २०७२ को भाग ३ अन्तर्गत मौलिक हकको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ । भाग ४ अन्तर्गत राज्यको निर्देशक सिद्धान्त र नीति उपदफा ‘ञ’ को ६ मा मुक्त कमैया कमलरी, हरूवा, चरुवा, हलिया भूमिहीन, सुकुम्वासी पहिचान गरी उचित बसोवासका लागि घडेरी, जीविकोपार्जनका लागि कृषि योग्य जमिनको व्यवस्था वा रोजगारीको व्यवस्था गर्दा पुर्नस्थापना गर्ने उल्लेख छ । विस्थापित शिक्षा, स्वास्थ्य जस्ता आधरभूत अधिकार रक्षाका लागि राज्यले ध्यान दिन नसकेको खाल्टे क्याम्पका अभिभावक पर्मा लामाले बताउँनु भयो ।
जोखिम बस्तीमा परेर विस्थापित भएका पाँच ओटा निमाण हुन सकेको छैन । चीन सरकारले निर्माण गर्ने भनेको नवविजयी महेन्द्र मावि, नीलकण्ठ नमुना मावि, नेपाल राष्ट्रिय आधारभूत निर्माणाधीन अवस्थामा छन् । तर कालिका गाउँपालिका–१ को अनन्त स्मृति आधारभुत विद्यालय, उत्तरगया गाउँपालिका–१ को तिरू आधारभूत, कालिका आधारभूत, बालोदय आधारभूत, भूमेदेवी आधारभूत विद्यालय भूकम्पका कारण क्षति भए पनि अझै पुनर्निर्माण नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।
उत्तरगया गाउँपालिका-१, तिरु, कालिका, अनन्त स्मृति आधारभूत विद्यालय अझै सञ्चालनमा आएका छैन । विद्यालय भवन पुनर्निर्माण हुन नसक्दा विद्यार्थीहरू ढुक्कले पढ्न समस्या भएको छ । कति बेला भवन भत्किन्छ भनेर त्रासमा अध्ययन गर्नु परेको तिरु प्राविका विद्यार्थी सितार तामाङले गुनासो गर्नुभयो । विनाशकारी भूकम्पपछि जोखिमयुक्त बस्तीमा परेकाले यी स्थानहरूमा विद्यालय निर्माण हुन नसकेको हो । भूगर्भविद्ले विद्यालय रहेको पूरै बस्ती जोखिममा रहेको भनेर प्रतिवेदन दिएपछि विद्यालय भवन निर्माण हुन नसकेको हो ।
धादिङ जिल्ला प्रतिनिधि सीताराम अधिकारीका अनुसार भुकम्प गएको आठ वर्ष बितिसक्दा पनि धादिङका केही विद्यालय अझै निर्माण सम्पन्न हुन सकेका छैनन् । भुकम्पका कारण जिल्लाका सबै विद्यालय भत्किएर क्षतिग्रस्त भएको थियो । यसमध्ये निर्माणको जिम्मा लिएको भारतीय राजदुतावासको पाँच ओटा विद्यालय र एसियाली विकास बैँकको दुई ओटा विद्यालय अझैसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
भारतीय राजदुतावासले जिम्मा लिएको १० ओटा विद्यालयमध्ये पाँच ओटा विद्यालय निर्माण हालै सम्पन्न भएको छ तर पाँच ओटा विद्यालय अझैसम्म पनि बनेको छैन । भारतीय राजदुतावासले सालबास मावि, चैनपुर, रानीपौवा मावि, सल्यानटार, त्रिपुरासुन्दरी मावि, खरी, बराहकालिका मावि, ढोला, सल्यानकोट मावि, सल्यानकोट एक वर्ष भित्र निर्माण गर्ने गरी ०७४ को सुरुवातमै जिम्मा लिएको थियो । जिल्लामा ठूला विद्यालय बनाउने जिम्मा लिएर समयमै काम नगरे पनि हाल निर्माण सकिन लागेको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भगवानप्रसाद पौडेलले बताउनु भयो ।
एसियाली विकास बैँकले निर्माण गर्ने भनेर जिम्मा लिएको १५ विद्यालयमध्ये थाक्रे गाउँपालिका स्थित आदर्श मावि, तसर्पु र गङ्गाजमुना गाउँपालिका स्थित बसेरी मावि अझै निर्माण सम्पन्न भएको छैन । ठेकेदारले समयमै काम नगरेको आरोप लगाउँदै दातृ निकायले पन्छिने गरेको छ । लामो ससमयसम्म टहरामा बसेर पढेका विद्यालयका विद्यार्थीहरू अझै केही समय सात विद्यालयले भने कक्षा कोठा पाउने छैनन् । आगामी डिसेम्बरसम्म निर्माण सम्पन्नको समय दिइएको र त्यसपछि पुनः निर्माण पूर्ण रूपमा सकिने पौडेलको भनाइ छ ।
हालसम्म धादिङका ४ सय ४५ विद्यालय पुनः निर्माण भएको छ भने १ सय ५६ विद्यालयमा शौचालय र ९९ विद्यालयमा खानेपानीका योजना निर्माण सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । धादिङमा ७० हजार १ सय ८९ विद्यार्थी अध्यायनरत छन् । धादिङमा ५ सय २५ सामुदायिक विद्यालय रहेका छन् ।
काभ्रे जिल्ला प्रतिनिधि सुमित्रा आचार्यका अनुसार भुकम्पबाट क्षति भएका काभ्रेपलाञ्चोक जिल्लाका विद्यालयहरूमा १ सय ४१ ओटा शौचालय निमार्ण गर्ने भनिए पनि अझै चार ओटा निमार्णाधिन रहेका छन् । खानेपानीका ८७ ओटा योजना सम्पन्न भएका छन् । विनासकारी भुकम्पपछि २ सय ६९ ओटा भवनहरू र जसमा ९ सय ३५ ओटा कक्षा कोठा बनाउने लक्ष्य राखिएको भए पनि हालसम्म २ सय ६३ ओटा विद्यालय भवन निमार्ण भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गोकर्णध्वज कार्कीले बताउनु भयो ।
निमार्णाधिन भवनहरूमा ९ सय १ ओटा कक्षा कोठा निर्माण भएका छन् भने अझै ६ ओटा भवनका २४ ओटा कक्षा कोठा निमार्ण हुन बाँकी रहेका छन् । उहाँका अनुसार मुल्याङ्कनभन्दा बढी रकम माग गरेका, डिजाइन अनुसार काम नभएको र मुद्दा मामिला परेका कारण बाँकी विद्यालय भवन समयमा बन्न नसकेको हो । नागदेबी मावि, जनविकास मावि, टासि बालविकास आवासीय विद्यालय, कालिदेबी मवि, पञ्चकन्या मावि वाल्टिङ र मेन्दोफोले आवासीय विद्यालयका केही काम हुन बाँकी रहेका छन् ।
जिल्लामा ४ सय ९० ओटा बाल विकास केन्द्र, सामुदायिक तर्फ आवासीय विद्यालय ३ सय ७८ ओटा, माध्यमिक विद्यालय १ सय ४९ ओटा, संस्थागत विद्यालयतर्फ आवासीय विद्यालय २६ ओटा र माध्यमिक विद्यालय ७६ ओटा रहेका छन् । क्यापसतर्फ सामुदायिक १६ ओटा र निजीस्तरबाट सञ्चालित तीन गरी १९ ओटा रहेका छन् । प्राविधिक तर्फ शिक्षा र मानव शंसाधन विकास केन्द्रका ६ ओटा र सिटिभिटीका आठ ओटा विद्यालय सञ्चालित छन् । जिल्लामा सामुदायिक सिकाई केन्द्रहरू ३४ ओटा रहेका छन् । यस जिल्लामा पाँच वर्ष माथिको साक्षर प्रतिशत ६९.८ रहेका छन् ।
सिन्धुली जिल्ला प्रतिनिधि नबिनबाबु अधिकारीका अनुसार ०७२ साल वैशाख १२ गतेको भुकम्प र त्यसपछिका पराकम्नले सिन्धुलीका ५ सय ६४ विद्यालयमा क्षति पुर्यायो । तत्कालीन समयमा जिल्लामा रहेका ५ सय ८० सामुदायिक विद्यालय मध्ये ५ सय ६४ सामुदायिक विद्यालयका ३ हजार १ सय ९७ ओटा कक्षा कोठामा क्षति पुगेको थियो । भुकम्पबाट क्षति भएका विद्यालयहरूको पुनः निर्माणका लागि राष्ट्रिय पुनः निर्माण प्राधिकरण अन्तर्गत ०७३ माघ २० गते केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सिन्धुलीको स्थापना भयो । त्यसपछि जिल्लामा रहेका भुकम्पबाट क्षति भएका विद्यालयहरूको पुनः निर्माण कार्य सुरु भयो ।
हालसम्म उपभोक्ता समिति मार्फत ४ सय ८१ विद्यालय मध्ये ३ सय ३ ओटा विद्यालयको पुनः निर्माण सम्पन्न भइसकेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिनुभयो । जसमा १ सय ७८ ओटा विद्यालयमा भने उपभोक्ता समिति मार्फत पुनः निर्माण नभई बोलपत्र तथा गैर सरकारी संस्थाहरूले उक्त विद्यालयको पुनः निर्माण गरिएको छ ।
बोलपत्र मार्फत ४६ ओटा विद्यालय पुनः निर्माणको काम सुरु भएकोमा ३९ ओटा विद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको र सात ओटा विद्यालयको निर्माण कार्य भइरहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले इन्सेकलाई जानकारी दिनुभयो । गैर सरकारी संस्था मार्फत ३७ ओटा विद्यालय निर्माण गर्नु पर्नेमा ३७ ओटै विद्यालय निर्माण भइसकेको उहाँको भनाई छ ।
चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवनमा भूकम्पबाट भत्केका विद्यालय पुनः निर्माणको काम सकिएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख भूमिलाल सुवेदीले बताउनु भयो । जिल्लामा २ सय ३३ ओटा विद्यालयका ७ सय ४० ओटा कक्षा कोठामा क्षति पुगेको उहाँले जानकारी दिनुभयो । केही कक्षा कोठा बनाउन आवश्यक रहे पनि समग्रमा निर्माणको काम सकिएको उहाँको भनाइ छ । विद्यालय भवन संरचना भत्किएर पढ्न असुविधा भएका विद्यालयमा अहिले पक्की भवन निर्माण भएको प्रमुख सुवेदीले इन्सेकलाई जानकारी दिनुभयो ।
अतः नेपालको संविधान, २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था गरेको छ जसमा सबै नागरिकलाई आधारभूत शिक्षामा पहुँचको प्रत्याभूत गरिएको छ । त्यसैगरी आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निः शुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निः शुल्क पाउने हक हुने भनिएको छ । उक्त धाराको उपधारा ५ मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानुन बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुने व्यवस्था भए पनि बागमती प्रदेशका अधिकांश जिल्लामा ०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको विद्यालयहरू समयमै निर्माण हुन नसक्दा विद्यार्थीहरू गुणस्तरीय र निः शुल्क शिक्षा पाउनबाट वञ्चित भएका छन् ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
बेपत्ताको अवस्था सार्वजनिक नहुँदा परिवारमा अन्यौल
'म अभागी रहेछु । जिन्दगीभर जसले हात समाएर साथ दिन्छु भन्दै लिएर आएको थियो, आज उही मेरो साथमा छैन । उ बिना म एक्ली भएकी छु । तर पनि फर्कि…
विद्यालयमा शौचालयको अभावः सेनेटरी प्याड मैत्री शौचालय नहुँदा छात्रालाई कठिनाई
सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय, डाँडाफयामा शौचालयको अभाव भएको छ । विद्यालयमा शौचालयको अभाव भएसँगै सो विद्यालयका विद्यार्थी र शिक्षकलाई समस्या भएको हो । विद्यालयमा थप समस्या त सेनेटरी…
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…