भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्यचौकी पुनर्निर्माण नहुँदा सेवाग्राहीलाई सास्ती

०७९ कार्तिक २२ गते राति आएको बिनासकारी भूकम्पले भत्काएको सायल गाउँपालिका–४ डौड स्वास्थ्यचौकी पुनर्निर्माण नहुँदा स्वास्थ्यकर्मी त्रिपालको टहराबाट स्वास्थ्य सेवा प्रवाह गर्न बाध्य भएका छन् ।

जोखिमपूर्ण भवनमा सेवाग्राहीलाई सेवा दिन नसकिने भएकोले सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै त्रिपालको टहराबाट बिगत ६ महिनादेखि आफूहरुले स्वास्थ्य सेवा दिन बाध्य भएको डौड स्वास्थ्यचौकीमा कार्यरत डाक्टर कृष्णबहादुर बोहराले बताउनु भयो ।

उहाँले स्वास्थ्यचौकीमा औषधि भण्डारणका लागि एउटा मात्र कोठा सुरक्षित रहेको र भूकम्पल भवन भत्कायपछि भवन पुनर्निर्माणका लागि स्थानीय सरकारले चासो नदिएको बताउनु भयो ।

स्वास्थ्यचौकीको भवन पुनर्निर्माण नहुँदा गर्भवती र असक्त भएककाहरुलाई समेत त्रिपालमूनि असुरक्षित अवस्थामा नै स्वास्थ्य चौकीले स्वास्थ्य सेवा दिइरहेको सायल गाउँपालिका–४ डौडका स्थानीय शिक्षक तेजबहादुर सिंहले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्यचौकी नजिकै हाम्रो विद्यालय छ । स्वास्थ्यचौकीको भवन पुनर्निर्माण नहुँदा स्वास्थ्यकर्मी र स्थानीय सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।’

वर्षायाम सुरुभएसँगै भवन अभावमा स्वास्थ्य सेवा प्रवाह गर्न समस्या भएको र बेलाबेलामा भूकम्पको पराकम्पन् गइरहेकोले असुरक्षित भएर पनि सेवाग्राहीलाई सेवा दिनुपरेको डौड स्वास्थ्यचौकीका प्रमुख पुर्णिमा चन्दले बताउनु भयो ।

उहाँले स्वास्थ्यचौकीको भवन पुनर्निर्माणका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गरेको भएपनि सुनुवाइ हुन नसकेको गुनासो गर्नु भयो ।

गाउँपालिकाको मातहतमा चलिरहेको स्वास्थ्यचौकीको १० सैयाको भवन निर्माणका लागि वजेट विनियोजन गर्ने र अप्रयाप्त बजेटका लागि प्रदेश सरकारसँग माग गरिएकोले लामो समयसम्म भवनको समस्या व्यहोर्नु नपर्ने सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘गाउँपालिकाको बजेटले मात्रै स्वास्थ्यचौकी निर्माण गर्न सम्भव छैन् । यसका लागि प्रदेश सरकारसँग पटकपटक बजेट माग गरिएको छ । सुनवाइ नहुँदा भवन निर्माणमा ढिलाई भएको हो ।’

नागरिकको स्वास्थ्य अधिकारलाई मध्यनजर गर्दै यस आर्थिक वर्षको असार महिना भित्र अस्थायी टहरा निर्माण गरेर भएपनि सेवा प्रवाहलाई सहज बनाइने गाउँपालिकाका अध्यक्ष जोशीको भनाइ छ ।

०३७ सालदेखि स्वास्थ्य सेवा दिदै आएको यस स्वास्थ्यचौकीबाट दैनिकजसाे ३५ जना सेवाग्राहीहरुले सेवा लिदै आइरहेका जनाइएको छ ।


गणेश जोशी