भूकम्पपीडितको व्यथाः सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो !

महादेवस्थान गाविस-२ सिमथलीका चन्द्रबहादुर चेपाङको घर भत्कियो । उनले भूकम्पले भत्केको घर प्राविधिकलाई देखाए । प्राविधिकले उनको घर भत्केको भनेर लेखेनछन् । गाउँमा अरूले राहत पाउँदा उनले पाएनन् । घर बनाउन नसक्ने भएकाले उनको परिवार अहिले परालले छाएको सामान्य टहरामा रात बिताइरहेको छ । उनले गाविसमा गएर गुनासो टिपाए तर अझै पनि सहयोग पाउन नसकेकाले दुई वर्षदेखि सो छाप्रो उनीहरूको बास बस्ने ठाउँ भएको छ । भूकम्पपीडितको व्यथाः सरकारको पैसा कुर्दाकुर्दै मर्ने भइयो शीर्षकमा राससले जनएको छ ।

एक संस्था भूकम्पपछि शौचालय बनाइदिन आयो तर कोही घर बनाइदिन नआएपछि चेपाङ परिवारको बिचल्ली भएको शिक्षक तिलक चेपाङको भनाइ छ । 'मेरा दुई छोरी अपाङ्गता भएका छन्, यस्तो अवस्था हुँदा पनि सरकारले किन देखेन ?'-चेपाङले गुनासो गरे-'सरकारको पैसा कुर्दाकुर्दै बारीको पाटैमा मर्ने भइयो ।'

गाउँमा भूकम्पले घर भत्किएपछि उनी जस्तै अरू चेपाङ प्राविमा बस्दै आए । पछि विद्यालय खुल्यो । उनीहरू स्याउलाले छानो बनाएर बारीको पाटामा बस्छन् । सरकारले खटाएका प्राविधिक गाउँमा पुग्यो । उनीहरूले भत्केको घर देखाए तर उनीहरूको घर अनुदान दिने सूचीमा आएन । तिनले गाविसमा गएर गुनासो फाराम भरे तर अझै राहत पाइन्छ भन्ने निश्चय नभएकाले उनीहरू बारीको पाटामा बस्दै आएका छन् ।

लामो समयदेखि बारीको पाटामा बस्दा सिमथलीका बालबालिका पटक पटक बिरामी परेका छन् । तिनलाई स्वास्थ्य चौकी लैजाँदासमेत 'औषधि छैन' भन्ने जवाफ पाएको सिमथलीका चेपाङको गुनासो छ । महादेवस्थान-२ मा २५ चेपाङका घर भूकम्पपीडितको सूचीमा आएन । वडा नं ३ मा यस्ता १८ घर छन् । गाउँमा आएका प्राविधिकको लापरबाहीले उनीहरूको नाम छुटेको स्थानीयको गुनासो छ । जोगीमारा गाविसको जवाङमा रहेका ५२ घर चेपाङले अहिले घर बनाउन सरकारको अनुदान नपाउने भए । नाम नआएपछि उनीहरू समस्यामा परेका छन् । घर भत्किएर खरको छाप्रो बनाएर बसिरहेकालाई समेत सरकारले नहेरेको उनीहरूको गुनासो छ ।

यस्तै धुषा गाविस-३ र ४ मा १ सय घर छुटेको नेपाल चेपाङ सङ्घले जनाएको छ । जिल्लाभर १५ हजार गुनासो परेकामा सम्बोधन हुन सकेको छैन ।


अनलाइन डेस्क