भूकम्पपीडितको राहत सामग्री गोदाममा कुहिँदै

भूकम्पपीडितहरूलाई वितरण गर्नको लागि विभिन्न दाताहरूले दिएको राहत सामग्री जिल्ला दैवी प्रकोप उद्धार समितिको गोदाममा कुहिएको छ ।

Photo20171227Nuwakot

समितिले विदुरस्थित इलम प्रशिक्षण केन्द्रमा थन्क्याएको करोडौँको सामग्री अलपत्र परेको हो । अलपत्र सामग्रीलाई समितिले व्यवस्थापन गरी सडेका सामग्री नष्ट गर्ने र काम लाग्ने सामग्री छुट्याएर आवश्यकता हेरेर वितरण गरिने योजना बताएको जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए ।

विभिन्न दाताहरूले जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत वितरण गर्न प्रदान गरेको सामग्री समयमा वितरण नगर्दा खेर जान थालेपछि काम लाग्ने सामग्रीको सुरक्षित व्यवस्थापन गर्न लागिएको हो ।

Photo20171227Nuwakot1

०७२ सालको वैशाख र जेठ महिनामा प्राप्त भएका उक्त सामग्रीहरूमा खाद्य सामग्रीहरू, कपडाहरू, टेण्ट र त्रिपालहरू काम नलाग्ने भएको छ ।

लामो समय चिसो भुइँमा थन्क्याएर बन्द कोठामा भण्डारण गरिएका कारण खाद्य सामग्री कुहिएको र लत्ताकपडा तथा भाडावर्तनसमेत प्रयोग गर्न नमिल्ने भएका छन् । भण्डारण गरिएका राहत सामग्रीमा विदेशी दाताबाट प्राप्त गुणस्तरीय टेण्ट, त्रिपाल, तयारी पोशाक, भाँडावर्तन, औैषधि तथा खाद्यान्नलगायत रहेका छन् ।


नवदीप श्रेष्ठ