भूकम्पपीडितका साझा प्रश्न-'भूकम्पका कारण खोसिएको खुसी कहिले फर्केला ?'

पात्ले गाविस-३ लट्टेबारीकी फुर्लु शेर्पालाई आफ्नो उमेरसमेत ठ्याक्कै थाहा छैन । उनले तीन जना छोरी र सात जना छोरा गरी १० जना सन्तान जन्माइन् । सबैभन्दा कान्छो छोरा पाँच वर्षका छन् । जेठो छोरा र छोरीले विवाह गरेर आ-आफ्नै घरजम गरिसके । जग्गा जमीन धेरै देखिए पनि लेकको जग्गा भएकाले एक बाली मात्रै अन्न फल्छ । बारीको उब्जनीबाट वर्षभरिलाई खान पुग्दैन । श्रम गरेर कमाउन गएका पति लाङटाङमा पुरिएपछि उनको खुसी खोसिए झैँ भएको छ । त्यसपछि फुर्लुका  दुःखका दिन सुरु भए । अहिले उनी आफूसँग आश्रित चार जना सन्तान कसरी पाल्ने भन्ने चिन्तामा छिन् ।

उनका ५० वर्षीय पति कामी शेर्पा रसुवाको लाङटाङ पहिरोमा ०७२ वैशाख १२ गते गएको भूकम्पका कारण आएको हिमपहिरोमा बेपत्ता भएका हुन् । फुर्लु दिनरात आफ्ना बेपत्ता पति सम्झेर आँसु खसालिरहन्छिन् । 'हामीले लाससम्म देख्न पाएनौँ ।'-उनले भनिन्-'जेठो छोरालाई खोज्न पठाएको थिएँ, भेटिनँ भन्दै फर्कियो ।' यति भनि नसक्दै उनका आँखा आँशुले भरिएका थिए । त्यसयता उनको परिवारको खोसिएको खुसी जीवनमा फर्किएको छैन । जबरजस्ती हाँसे पनि आँखा रसाएका हुन्छन् । सरकारले दिएको १ लाख ४० हजार राहत रकम पतिको काजकिरियामा लामा बोलाएर पूजापाठ गर्दागर्दै सकियो । बाँकी दिन कसरी बिताउने भन्ने टुङ्गो छैन । माइलो र साइलो छोराले ट्रेकिङ गएर कहिलेकँही दुईचार पैसा ल्याउँछन् । नत्र बनिबुतो गरेरै साना छोराछोरीको पेट पालेकी छन् । उनका अनुसार अर्थिक अभावकै कारण छोराछोरीले पढाइ छोडिसके ।

पात्ले-३ कै ६० वर्षीया सन्ती शेर्पाको अवस्था पनि फरक छैन । उनको १६ वर्षीय कान्छो छोरा भूकम्प गएको दिनदेखि लाङटाङकै पहिरोमा बेपत्ता भए । दुई जना छोरा र एक जना छोरीमध्ये कान्छो छोराको शव उनले पनि देख्न पाइनन् । 'भूकम्पले घर भत्किएको छ । तर, बनाउने पैसा छैन । कमाउन थालेको छोरा बितेपछि ब्याजमा ऋण काढेको पैसा साहुलाई तिर्न सकेकी छैन ।'-उनले भनिन् । सरकारले दिएको अनुदान खर्चेर घर बनाउन ढुङ्गा कुटाउन थालेको बताएपनि उनले जग हाल्ने पैसा नभएको गुनासो गरेकी छन् । 'सरकारले दिएको पहिलो किस्ता ५० हजार रुपियाँले त ढुङ्गा कुटाउन पुगेन । बाँकी कसरी बनाउने ?'-उनले भनिन् ।

फुर्लू र सन्ती मात्रै होइनन् पात्ले-३ लट्टेबारी र पात्ले-५ ताउरका सात घरधुरीको खुसी भूकम्पले खोसेको दुई वर्ष हुनै लाग्यो । सात परिवारका १० जनाको अवस्था भुकम्पका कारण लाङटाङमा आएको पहिरोमा परेर अहिलेसम्म अज्ञात छ । आफन्त बेपत्ता भएसँगै भुकम्पले घर भत्किएपछि उनीहरू अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन् । जस्ताका टहराबाट झर्ने शीत, पुस र माघभरी पर्ने हिउँ र चिसोमा कष्टपूर्ण दिनरात कटाउन अर्को विकल्प नभएको उनीहरूले बताए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार भूकम्पमा जिल्लाबाहिर बेपत्ता हुने २३ जना थिए । जिल्लाकै दुर्गम मानिने पात्लेका अधिकांश युवा लाङटाङ र नाम्चेतिर सिकर्मी, डकर्मी कामका लागि बर्षेनी जाने गर्छन् । लेकाली क्षेत्रमा आलु, मकै, गहुँ, उवाजस्ता बालीको उब्जाउ भए पनि एक मौसममा मात्रै हुने उत्पादनले वर्षभरी खान नपुग्ने भएपछि मजदुरीका लागि गाउँ छाड्नु बाध्यता भएको स्थानीयबासीको भनाई छ ।

एकातिर आफन्त गुमाउनुको पीडा त छँदैछ, अर्कोतिर परिवार पाल्ने र लडेको घर बनाउने उनीहरूको सपना पुरा गर्न राज्यका निकायले ध्यान नदिँदा जीवन यापन दिनप्रतिदिन कष्टकरण बन्दै गएको छ ।

 


शिवप्रसाद ढुङ्गाना