भूकम्पका कारण विस्थापित भएका परिवारमा खाद्यान्न अभाव

०७२ को भूकम्पका कारणबाट विस्थापितको बस्ती स्थानान्तरण हुन नसक्दा अझै टिनको छाप्रोमा गुजारा चलाउँदै आएका विस्थापित परिवारमा खाद्यान्न सङ्कट पर्न थालेको उत्तरगया गापा–५ खाल्टेमा रहेको विस्थापित क्याम्पका स्थानीय पूर्ण घलेले बताउनु भएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसका कारण पनि बस्ती स्थानान्तरणमा ढिलाई हुनाले र ज्याला मजदुरी गरेर छाक टार्ने व्यवस्था समेत नहुँदा खाद्यन्न अभाब भएको क्याम्पमा बस्तै आउनु भएका छेकु लामाले बताउनु भयो ।khalte idp camp (2)

उहाँले भन्नु भयो– “हामी सुरुमा बोगटीटारमा जग्गा भाडामा लिएर छाप्रा हालेर बसेका थियौं । भाडा तिर्न नसकेर उत्तरगया गाउँपालिका–५ खाल्टे बगरमा बसेको पनि चार वर्ष बित्यो । कोरोना भाइरसको त्रासपछि भएको लकडाउनले गर्दा ज्याला मजदुरी गर्न पनि पाइएन, गाँस न बास भयो ।”

खाल्टेमा मात्र १ सय ६९ परिवार छन् । त्यहाँ दैनिक मजदुरी गरेर जीविका चलाउनेहरू खाद्यान्न अभावले मर्कामा परेका हुन् । स्थानीय बुटी तामाङले भन्नुभयो – “गरेर खाने अवस्था छैन । गाँस र बास आधारभूत अधिकार भनिए पनि खोइ त ? राहतको चामल सकिएको छ । अहिले खाद्यान्न अभावले आफूहरू भोकै बस्नु परेको छ ।”

भूकम्पका कारण उत्तरगया गाउँपालिका–१ को गोगने गाउँ पूर्ण रूपमा बस्न नहुने गरी पहिरोले बगाएपछि उनीहरू त्यहाँबाट बेत्रावतीस्थित खाल्टेमा झरेका थिए । अझै पनि बस्ती स्थानान्तरण नहुँदा टिनका छाप्रामा खाल्टे क्याम्पमा बसिरहेका हुन् ।

भूकम्प गएको पाँचवर्ष बित्दा पनि हाम्रो सुरक्षित आवासको अधिकार सुरक्षित हुन सकेन स्थानीय पर्मा लामाले भन्नुभयो । बस्ती स्थानान्तरणका लागि स्थानीय सरकारले पनि तत्परता देखाएन । काम गर्न नपाएर हामी भोकै बस्नु पर्ने अवस्था आइपरेको छ ।

रसुवा जिल्लाभर एक हजार १ सय ८ परिवार जोखिमका लाभग्राही ३१ भूमिहीन लाभग्राही गरी जम्मा एक हजार १ सय ४० रहेकोमा ६ सय ७१ परिवार जोखिम क्षेत्रका (विस्थापित) लाभग्राही, २१ भूमिहीन लाभग्राही गरी ६ सय ९३ लाभग्राही परिवारलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट घडेरी खरिदका लागि दुई लाख रुपियाँ प्रदान गरी घडेरी खरिद भयो ।

अब जोखिमका ४ सय ३७ लाभग्राही परिवारलाई जग्गा व्यवस्थापन गर्न बाँकी रहेको बस्ती स्थानान्तरणमा सहजिकरण गरिरहेको आत्मनिर्भर केन्द्रका विस्वास नेपालीले बताउनुभयो । समयमै विस्थापितहरूको समस्या हल हुन नसकेर भोकै बस्नुपर्ने अवस्था भएको उहाँले बताउँनुभयो । लकडाउनको सुरुमा गाउँपालिका र स्थानीय जलविद्युत आयोजनाले खाद्यान्न राहत दिए पनि अहिले धेरै छाप्रोमा अन्न सकिएकोले भोकै पर्ने अवस्था आएको स्थानीय पूर्ण घलेले बताउनुभयो ।

उत्तरगया गाउँपालिकाको तल्लो पैरेबेशीमा १ सय २८ परिवार, तिरुमा १ सय २५ परिवार, बोगटीटारमा ५३ परिवार, नौकुण्ड गाउँपालिका लाम्बुमा २१ परिवार र आमाछोदिङ्मो गाउँपालिका पाङ्लिगङमा ५१ परिवार एकीकृत बस्ती विकासको लागि प्राधिकरणबाट निर्णय भइसकेको जिल्ला अनुदान कार्यालयका सूचना अधिकारी सूर्यबहादुर थोक्राले बताउनुभयो ।


हेमनाथ खतिवडा