भुवनेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाको पठनपाठन प्रभावित

महाकाली नगरपालिका वडा नम्बर २ स्थित भुवनेश्वरी आधारभूत विद्यालय, पण्डारोमा अध्ययनरत विद्यार्थीको पठनपाठान प्रभावित भएको छ बाढीका कारण लाक्लु खोलामा निर्माण गरिएको काठेपुल बगाएको भए पनि क्षतिग्रस पुलको पुनर्निर्मिण हुन नसकेपछि आवगजावत गर्न नसकिने भएकोले विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको हो ।

शिशु कक्षादेखि ३ कक्षासम्मका २४ जना विद्यार्थी भुवेनेश्वरी विद्यालयमा अध्ययनरत छन् । खोलामा लगाएको काठेपुल बगाएपछि डुङ्गरी लगायतका बस्तीबाट जाने विद्यार्थी विद्यालय जान नसकेको विद्यालयका शिक्षक पदमसिंह खत्रीले जानकारी दिनुभयो । खोलावारिका विद्यार्थी विद्यालय जान पाएका छैनन् । शिक्षक पनि माथिबाट घुमेर विद्यालय पुग्नुपरेको छ ।

विद्यार्थी आउन नसक्दा विद्यालयको पठनपाठन समेत प्रभावित भएको उहाँले बताउनु भयो । उस्तै पनि थोरै विद्यार्थी छन्, उहाँले भन्नु भयो, पुल बगाएपछि झन विद्यार्थी घटेका छन् ।

photo20230815darchula (1)

०७९ भदौ २४ गते आएको बाढीका कारण बगाएको भुवेनेश्वरी विद्यालय भवन गत असारमा निर्माण सम्पन्न गरिएको थियो । यसअघि विद्यार्थीले झण्डै एक वर्ष त्रिपालमा बसेर अध्ययन गरेका थिए । त्रिपालमुनि कलिला बालबालिका भविष्य खोज्दै भनेर इन्सेक अनलाइनमा यसअघि फिचर समाचार प्रकाशित भएको थियो ।

अहिले विद्यालय भवन बनेपछि विद्यार्थीको लागि केही राहत भएको विद्यालयका प्रधानाध्यापक रामसिह धामीले बताउनु भयो ।  यो विद्यालय महाकाली नगरपालिकाको वडा नम्बर १, २ र ३ को केन्द्र भागमा पर्छ । अहिले पनि तीन ओटै वडाबाट विद्यार्थी यहाँ अध्ययन गर्ने गर्छन् ।विद्यालयमा दुई जना स्थायी, एक जना शिशु कक्षामा अध्ययन गराउने गरी शिक्षक राखिएको छ । बाढीका कारण यहाँका गाउँमा जाने अधिकांश काठेपुल बगाएको छ ।

लास्कु खोलाकै कारण महाकाली नगरपालिका वडा नम्बर १ र ४ जोड्ने लास्कुखोलाको काठेपुल समेत बगाएको छ । गत असारमा महाकाली नगरपालिकाले निर्माण गरेको काठेपुल बगाएपछि श्रीवगड, धम्पनेरा, लास्कु छापरी लगायतका ठाउँबाट आउने विद्यार्थीलाई समस्या भएको अमटिकर पब्लिक स्कुलका प्रधानाध्यापक प्रवेश प्रताप ऐतवालले बताउनु भयो ।

photo20230815darchula (2)

लास्कुदेखि सेलासम्म निर्माण गरिएका बिभिन्न स्थानका काठेपुल लास्कुखोलाले बगाएका कारण स्थानीयहरुले सास्ती खेप्नु परेको वडा नम्बर २ का प्रकाश नगालले जानकारी दिनु भयो । नगरपालिकाले गत असारमा निर्माण गरेका काठेपुल बाढीले बगाएपछि स्थानीयलाई दैनिक तरकारी बजारसम्म ल्याउन पनि समस्या भएको उहाँले बताउनु भयो ।

काठेपुल बगाएको ठाउँमा अहिलेलाई वैकल्पिक रुपमा अस्थायी काठेपुल मर्मतको काम भइरहेको वडा नम्बर २ का वडाध्यक्ष एवम् नगर प्रवक्ता शङ्कर डोबालले बताउनु भयो । बाढीले धेरै ठाउँमा काठेपुल बगाएकोले तत्काललाई काठेपुल निर्माणको लागि पछि भुक्तानी हुने गरी काम गर्न स्थानीयलाई आग्रह गरिएको उहाँले बताउनु भयो ।


नरेन्द्रसिंह कार्की