भुक्तानी नपाएको विरोधमा उपभोक्ताद्वारा प्रमुख जिल्ला अधिकारीको टेबुल तोडफोड

गोठीचौर गाउँपालिका-१ का स्थानीयबासीले कार्यसम्पादनपछि भुक्तानी नपाएको भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा रहेको टेबुल साउन ३ गते तोडफोड गरेका छन् ।

गोठीचौर गाउँपालिकाको छेडादह सडकको ८ लाख रुपियाँ सम्झौता भई कार्यसम्पादन भएपनि ५ लाख रुपियाँ मात्र भुक्तानी दिएर स्थानीय विकास अधिकारी हरिनायारण बेल्वासे डिएसपी गुरुविष्णु काफ्लेको सुरक्षामा राति भागेर गएको आरोप लगाउँदै उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले प्रजिअको टेबुल तोडफोड गरेको बताए ।

गोठीचौर गाउँपालिका चोत्रा रामीदहा हुँदै मौरया सडकको २४ लाख ६० हजार रुपियाँ सम्झौता भएको र ६ लाख ६० हजार रुपियाँ भुक्तानी नदिएर स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासे 'भागेको' विषयमा स्थानीयबासीले प्रमुख जिल्ला अधिकारीसँग गुनासो गरे ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय विकास अधिकारी भागेर गएको आफूलाई जानकारी नभएको बताए । उनले भने-'कार्यसम्पादनपछि उपभोक्ताको रकम रोक्न नहुने हो ।' यस विषयमा आफू अनविज्ञ रहेको र आफ्नो क्षेत्राधिकार पनि नभएको प्रजिअले बताए ।

जिल्ला प्राविधिक कार्यालय जुम्लाका प्रमुख इञ्जिनियर राजकुमार गोहितले कार्यसम्पादनपछि आफूले दस्तखत गरी भुक्तानीका लागि स्थानीय विकास अधिकारीसमक्ष पेश गर्दा रकम कटौती भएर भुक्तानी भएको बताए । पुन मुल्याङ्कन र कार्यसम्पादनपछि भुक्तानीका लागि पहल गरिने प्रमुख इञ्जिनियर गोहितले बताए ।

स्थानीय विकास अधिकारी बेल्वासेलाई कमिशनका आधारमा कोटेशन बाँड्ने र उपभोक्ता समितिसँग कमिशन मागेर भुक्तानी दिनेलगायतका आरोप स्थानीयबासीले लगाएका छन् ।

उपभोक्ता समितिले कार्यसम्पादनपछि पनि भुक्तानी नपाएपछि तीन दिनदेखि जिल्ला समन्वय समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।


मानदत्त रावल