भुकम्पले भत्किएका विद्यालय पुनः निर्माण नहुँदा पठनपाठनमा समस्या

भुकम्पबाट भत्किएका अधिकांश विद्यालयहरू पुनःनिर्माण भएका छैनन् । पूर्ण र आंशिक रूपमा भत्किएका विद्यालयहरूको पुनःनिर्माण नहुँदा लेकाली भेगका विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।

Photo20180112Okhaldhunga (1)

विद्यालय भत्किएपछि अस्थायी टहरामा कक्षा सञ्चालन गरे पनि चिसोका कारण कक्षा सञ्चालन गर्न कठिनाइ भएको पात्ले माविका शिक्षक लाक्पा शेर्पाले बताए ।

जिल्लाका अधिकांश भत्किएका विद्यालयहरू पुनःनिर्माण भएका छैनन् । ०७२ को भुकम्प र त्यसपछिका पराकम्पका कारण ओखलढुङ्गाका ८४ विद्यालय पूर्ण क्षति र १ सय ७६ विद्यालय आंशिक क्षति भएका थिए । विद्यालयका ८ सय १० ओटा कक्षा कोठाहरू क्षति भएका थिए । अहिले जिल्ला शिक्षा कार्यालयबाट १ सय ४४ ओटा विद्यालयमा मात्र अस्थायी ट्रष्ट निर्माणको चरणमा छन् ।

Photo20180112Okhaldhunga (2)

एसियाली विकास बैङ्क र पुनः निर्माण प्राधिकरणले क्रमशः १९ र ४१ विद्यालय निर्माण गर्ने सम्झौता भए पनि भरखरै काम सुरू भएको छ ।

दुर्गम गाउँका विद्यालय पुनःनिर्माण नहुँदा अस्थायी टहरा बनाएर विद्यालय सञ्चालन भएका छन् । हावा, पानी र चिसोको समयमा कक्षा सञ्चालन गर्न नसकिने अवस्था रहेको महेश्वर मावि भदौरेका प्रधानाध्याक सन्तोषकाजी कार्कीले बताए ।

उनले विद्यालयका भत्किएपछि अस्थायी टहरा निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको पनि जानकारी दिए । विद्यालय पुनःनिर्माण हुने भनिए पनि काम भने सुरू नभएको उनको गुनासो छ । जिल्ला शिक्षा कार्यालयले भने पुनःनिर्माण गरिने विद्यालय निर्माणको काम सुरू भइसकेको दावी गरेको छ ।


शिवप्रसाद ढुङ्गाना