भीमबहादुरको शव ३३ दिनदेखि अस्पतालमै !

  ०७८ मङ्सिर १ गते

भरतपुर महानगरपालिका–४ दुर्गाचोकमा असोज २८ गते मृत्यु भएका सोही ठाउँका ५८ वर्षीय भीमबहादुर बिकको शव परिवारले अझै बुझेको छैन ।

घटना भएको ३३ दिन पुगिसक्दासम्म पनि आफन्तले शव नबुझेको चितवन प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम असोज ३० गते भरतपुर अस्पतालमा गरिएको थियो ।

शव बुझ्न नपर्ने कुनै कारण नरहेको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले भन्नु भयो–‘हामीले सबै प्रशासनिक सहयोग गर्छौँ । शव उठाउनुस भनेको हो खै किन उठाउन ढिला गरिरहनुभएको छ ? पत्तो भएन ।’

भीम बिक संयुक्त न्यायिक सङ्घर्ष समिति चितवनका सदस्य तारा बिकले प्रशासन समक्ष राहतका लागि माग गरिएको तर उपलब्ध हुन नसकेको बताए ।

भरतपुर मनपा–४ स्थित दुर्गाचोकमा रहेको दुर्गा मन्दिरमा दशैँका बेला बोका चढाउने विषयमा भीमबहादुरले सोधखोज गर्दा गालीगलौज र कुटपिट गरिएको मृतक परिवारको आरोप छ ।

असोज २८ गते बिहीबार दुर्गाचोकमा स्थानीय ३७ वर्षीय सीताराम बस्नेत ३६ वर्षीय दिलिप श्रेष्ठले कुटपिट गरी हत्या गरेको भनी मृतकका छोरा किसान बिकले प्रहरीमा उजुरी दिनु भएको थियो ।

आरोपितहरूलाई सोही दिन नै नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान थालेकोमा कात्तिक २२ गतेबाट आरोपितद्वय पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ । आवेश प्रेरित हत्या भनी मुद्दा चलेको छ ।


दिपेन्द्र अधिकारी