भारी बोक्ने बालबालिका भन्छन्-'भोको पेटले कसरी विद्यालय जानु !'
कालो पाइन्ट । निलो र्सट । हँसिलो अनुहारभित्र निराशाको बादल मडारिइरहेको स्पष्टै देखिन्छ । गार्हो भयो भन्न सक्दैनन् । तर, हाउभाउले त्यसै भन्छ । झिसमिसे मै डेढ घण्टाको उकाली । उज्यालो भएपछि दुई घण्टाको ओरालीको यात्रा । आर्थिक जोहो गर्नुछ । कापी कलम किन्नु छ । भोको पेट भर्न दिनहुँ भारी बोक्नैपर्छ । कोहीको पिठ्यूँमा डालचीनका भारी । कोहीका पिठ्यूँमा दाउराको भारी । उकाली ओराली चिप्लो भिरालो बाटोको यात्रा । विद्यालय जानु भन्दाअघि घर खर्च जुटाइसक्नुपर्छ । रुन्चे हाँसोमा भन्छन् -'भारी नबोक्ने हो भने, खोक्रो विद्या कसरी सिक्ने ? भोको पेटले केलाइ स्कुल जाने ?'
रानिशिखर-५ का १४ वर्षीय सुरेशसिंह ठगुन्ना र सात वर्षीय जनक ठगुन्नाले बुवा गुमाएको तीन महिना भयो । दुवै दाजुभाइको दैनिकी यसैगरी भारी बोकेरै चलेको छ । जेठि दिदी विवाह गरेर सकिन् । घरमा साहारा आमा कौशीला ठगुन्नाको उमेर ढल्किइसक्यो । 'कापी कलम किन्न र घर खर्च चलाउन भारी नबोकी सुखै छैन ।'-सुरेशले भने । 'दुवै दाजुभाइ बिहानै जङ्गलमा जान्छौँ र दुई घण्टा लगाएर गोकुलेश्वर बजारमा विक्री गरी कापी कलम र खाद्यान्नको जोहो गर्छौँ ।' सुरेश गाउँकै मालिकार्जुन मावि काडापारीको विद्यालयमा कक्षा ६ मा पढ्छन् भने भाइ जनक कक्षा दुईमा पढ्छन् । तीन महिना अघि हृदयघातका कारण अस्पतालमै बुवाको ज्यान गएपछि दाजुभाइको विद्यालय यात्रा कठिन बनेको हो ।
बुवाको मृत्युपछि अहिले उनीहरू पढाइ भन्दा घर धन्दामा जुटेका छन् । 'भारी नबोके सुखै छैन'-सुरेशले भने-'हामीले काम नगर्ने हो भने हातमुख जोडिँदैन । न त कापी कलम नै हुन्छ । एक्लैले बोकेको पैसाले दुवैको खर्च चलाउन नसकिने भएपछि दाजुभाइ नै भारी बोक्दैछौँ ।' रानिशिखरबाट गोकुलेश्वर पुर्याएर डालचीन विक्री गरेबापत प्रतिकिलोग्राम ३७ रुपियाँ पाउने उनले बताए । 'विद्यालयबाट घर फर्केपछि जङ्गल जान्छौँ ।'-उनले भने-'बेलुकी घरमा ल्याएर राख्छौँ । बिहानै गोकुलेश्वरमा पुर्याएर विक्री गर्छौँ ।' डालचीन विक्रीबापत आएको पैसाले कापी कलम र खाद्यान्नको जोहो गर्ने गरेको उनले बताए ।
उनीहरूसँग इन्सेक प्रतिनिधिको भेट हुँदा निधारको पसीना पुछ्दै मुसुक्क मुस्काए । विद्यालय पोशाकमा भारी बोकिरहेका दुवै दाजुभाइले एकै स्वरमा भने-'कापी कलम किन्न भारी बोक्दैछौँ ।' 'घरमा यिनका आमा काम गर्न सक्ने अवस्थामा छैनन् ।'-स्थानीय लालसिंह ठगुन्नाले भने । घरको साहारा कोही नभएपछि विद्यालय जानै छाडेर पनि उनीहरू भारी बोक्न बाध्य छन् । त्यसो त घरमा आमाबावु भएकाहरूलाई समेत विद्यालय भन्दा पनि घरको काममा बढी लाग्नुपर्ने बाध्यता छ । रानिशिखर-५ कै ११ वर्षीया नरमा धामी कक्षा ५ मा विद्यालय भर्ना त भइन् तर विद्यालय कमै जान्छिन् । दुई महिना अघि घरमा बुवाले घर बनाउन सुरु गरेपछि उनी गिट्टी बालुवा बोक्ने काममा व्यस्त छिन् । उनी दुई महिनादेखि विद्यालय गएकी छैनन् । जङ्गलबाट दाउरा ल्याउँदै गरेको अवस्थामा भेटिएकी उनले सुनाइन्-'बावाममी घरमा काम गर्न सघाउ भन्नुहुन्छ । कति बेला पढ्ने ? त्यो भन्दा त स्कूल नजानु नै वेश !' उनले भनिन्-'मैले मात्र हैन, दिदीलेसमेत कक्षा १० मै विद्यालय जान छोडेकी छन् ।'
मालिकार्जुन मावि काडापारी रानिशिखरका प्रधानाध्यापक धनन्जय विष्टका अनुसार यहाँका अधिकांश बालबालिकाहरू बालश्रममा छन् । विद्यालय पढ्नु भन्दा पनि घरको काममा बढी व्यस्त हुनुपर्ने उनीहरूको बाध्यता छ । नियमित विद्यालय नआउने, बालबालिका विद्यालय पठाउँ भन्दा पनि अभिभावकले ध्यान नदिँदा यहाँ बालश्रम व्याप्त भएको उनले बताए । बालश्रम गराउन नपाइने भएपनि आर्थिक अभाव, गरिबीका कारण घरबाट समेत काम गराउनु बाध्यता छ । बाल सञ्जाल रानिशिखरका अध्यक्ष जनकराज भट्टले गाविसमा बढ्दो बालश्रम, बालविवाह रोक्नको लागि गाउँ अभियान चलाइरहेको बताए । उनले भने-'हामी सबै सरोकारवाला सहयोग मागिरहेका छौँ गाविसलाई बालमैत्री घोषणाको लागि अभियान थालेका छौँ ।'
बाल अधिकारसम्बन्धी महासन्धी १९८९ तथा नेपालको संविधानले बालबालिकालाई जोखिममा लगाउन नहुने व्यवस्था गरेको छ । संविधानको धारा ३९ को ४ मा कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन पाइने छैन भन्ने उल्लेख छ । यस्तै बालबालिकासम्बन्धी ऐन २०४८ तथा बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ ले कुनै पनि बालबालिकालाई बालश्रम र जोखिमपूर्ण काममा लगाउन नहुने व्यवस्था गरेको छ ।
बालश्रम गरिरहेका बालबालिका र विद्यालय नियमित जान नसकिरहेका विद्यार्थीहरूको लागि गरिने कार्यक्रमहरू यस्ता प्रभावित क्षेत्रमा हुनु जरुरी छ । जिल्ला शिक्षा कार्यालय दार्चुलाका सूचना अधिकारी रामदत्त भट्ट भने विद्यालय बाहिर रहेका बालबालिकाको लागि विविध कार्यक्रम सञ्चालन गरिने बताउँछन् । यसरी आर्थिक अभावका कारण विद्यालयको पढाइ नियमित गर्न नसकेका, तथा बालश्रमका कारण पढाइ प्रभावित भएकाहरूको लागि समयमै सरोकारवाला निकायको ध्यान जानु जरुरी छ ।
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…