भारतीय सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु

पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको नेपाल भारत सिमा क्षेत्रमा भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले चलाएको गोली लागेर पुर्नवास नपा-५ का २५ वर्षीय गोविन्द गौतमको मृत्यु भएको छ ।

भारतीय सिमा सुरक्षा वलको टोलीले पुर्नवास नपा-८ आनन्दबजार नजिकै रहेको कर्ल्भट तोडन खोजेकाले त्यसो नगर्न स्थानियबासीले आग्रह गरेका थिए ।

हतियार सहित नेपाल प्रवेश गरेका भारतीय सिमा सुरक्षा वलका सुरक्षाकर्मीहरूले जबरजस्ती कर्ल्भट तोड्न थालेपछि स्थानियबासीले प्रतिकार गरेका थिए । स्थानियबासीले कर्ल्भट नतोडन भनी प्रतिकार गर्दा भएको झडपमा भारतीय सिमा सुरक्षा वलले चलाएको गोली लागी गोविन्द गौतम घाइते भएका थिए ।

घाइते भएका गौतमलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । घाइते गौतमको उपचारका क्रममा सेती अञ्चल अस्पताल, धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलाली जिल्ला प्रतिनिधि रविना चौधरीका अनुसार सो घटनापछि कैलालीबासी आन्दोलित भएका छन् । प्रदर्शनमा उत्रेका स्थानीयबासीले भारत सरकारविरुद्ध नाराबाजी गर्दै नेपाल सरकारसमक्ष मृतकलाई राष्ट्रिय शहीद घोषणा गर्न र मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

भारतीय सीमा सुरक्षा वल नेपालीहरूको घरघरमा हातहतियार सहित आएर धम्क्याउने गरेको र धेरै जना घाइतेसमेत रहेको मृतकका आफन्तले आरोप लगाएका छन् ।


कोमलनिरञ्जन भाट