भाडगाउँका एक दलित परिवारको उठीबास,क्षतिपूर्तिकाे माग

  २०८१ जेठ १४

सिंजा गाउँपालिका – ६ भाडगाउँमा स्थायी रुपमा बसोबास गर्दै आएका ३७ वर्षीय प्रेमबहादुर दमाई दलित समुदायका एक विपन्न व्यक्ति हुन् । उहाँका तीन भाईको ११ जनाको घरपरिवार छ । उहाँको सम्पत्तिका नाममा २५ वर्गमिटर जमिन (जग्गा) मात्रै रहेको छ ।

उहाँका बुवा ०५२ सालमा चन्दननाथ नगरपालिका – ८ जुम्लादेखि सिंजा गाउँपालिका – ६ भाडगाउँमा बसाई सराई गरी पुगेका हुन् । तत्कालीन प्रधान मञ्च शिवचन्द्र रावतले लुगा सिलाउने, भोज भतेर, विवाह बन्धन, खुशीयाली, देविदेवताको मठमन्दिर पुज्ने बेलामा बाजा दमाया बजाउने भनेर प्रेमबहादुरका बुवालाई भाडगाउँमा राखेका हुन् ।

५२ सालदेखि भाडगाउँमा स्थायी रुपमा बसोबास गर्दै आएको प्रेमबहादुरको घरपरिवारको २५ वर्गमिटर मात्रै नापी भएको जग्गा धनी पुर्जा भएको जग्गा छ । त्यतिबेला बुवाले लुगा सिलाउने र दमाया बजाएर परिवारको पालनपोषण गर्दै आउनु भएको थियो । पछि घरपरिवार बढ्दै गएपछि लुगा सिलाउने र दमाया बजाएको आम्दानीले घरपरिवार पालनपोषण गर्नु नपुगेपछि सार्वजनिक बाँझो जग्गा जमिन खनजोत गरी परिवार पाल्न भनेर भाडगाउँस्थित काफलबारी जमिन खनजोत गरेको प्रेमबहादुरले बताउनु भयो । ०६० सालमा त्यो काफलबारी स्थित बाँझो सार्वजनिक जमिन खनजोत गरेर स्याउ र ओखरका विरुवा रोपिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, त्यतिबेला त्यो बाँझो जमिनमा खनजोत गर्ने क्रममा सामुदायिक वन पनि थिएन । बाँझो जमिन खनजोत गरेर स्याउ र ओखरको विरुवा रोपेर आम्दानी लिने बेलामा (२० वर्षपछि) सामुदायिक वन फडानी गरी खनजोत गरेको नाममा सबै विरुवा काटेर फालिएको छ ।

करिब सात हजार वर्गमिटर जमिनमा दुई सय ओखर र एक सय स्याउका विरुवा रोपेर बगैचा नै बनाएको थिए । उहाँले भन्नुभयो, ‘अहिले स्याउ र ओखर फलेर आम्दानी लिने बेलामा सबै विरुवा काटेर फालिएको छ । त्यो जमिन नापी त छैन । सार्वजनिक जमिन नै हो । आफूसँग गरी खाने जग्गा जमिन नभएको कारण सार्वजनिक जग्गा नै खनजोत गरी जिविकोपार्जन गर्दै आएको थिए । अब क्षतिपूर्तिकाे चाहियाे । ’

काफलबारी क्षेत्रबाहेक अर्काे क्षेत्रमा सानीपातल सामुदायिक वन बनाएको थियो । पछि हामीले खनजोत गरेर खाएकै बेलामा काफलबारी क्षेत्रको जमिन पनि गाभेर सानीपातल काफलबारी सामुदायिक वन बनाइयो । त्यो सामुदायिक वन कतिबेला दर्ता भयो । के भयो थाहाँ नै नभएको प्रेमबहादुरले बताउनु भयो । उहाँले भन्नुभयो, काफलबारी क्षेत्र पनि सामुदायिक वन बनाएको केही वर्षपछि थाहाँ पायौँ । ७/८ वर्षसम्म विवादित रुपमै रहेको थियो । अहिले मेरोसहित ७ जना भाडगाउँ र ४ जना जोडगाउँका स्थानीय बासीको सामुदायिक वन फडानी गरेको नाममा एक हजार स्याउ ओखरका विरुवा काटेर क्षति गरेर उठीबास नै गरिएको छ । क्षतिपूर्ति सरकार दिएन भने जिविकोपार्जनमा समस्या हुने उहाँकाे भनाइ छ ।

अहिले पनि त्यतिबेलाको जस्तो लुगा सिलाएर र दमाया बजाएर नै जिविकोपार्जन गर्नपर्ने सामुदायिक वन समिति अध्यक्षसहित अन्य गाउँका शिक्षित वर्गको बुझाइ रहेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, अहिले पनि दलितले हेपिएर चेपिएर नै बस्नु पर्ने शिक्षित वर्गको मनसाय रहेको छ ।

पहिला बुवा बाजे बसेको ठाउँमा पनि जग्गा जमिन छैन । अहिले बसोबास गरेको ठाउँमा पनि जग्गा जमिन छैन । त्यही सार्वजनिक जमिन पनि खनजोन गरी परिवारको जिविकोपार्जन गर्दै आएको थिए । त्यो ठाउँबाट पनि उठीबास बनाए । भुमि आयोगमा पनि सुकुम्बासीको फाराम परेको उहाँले बताउनु भयो । भुमि आयोगमा फाराम परेको पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।

यस जिल्लाको मुख्य आम्दानीको स्रोतका रुपमा रहेको स्याउ खेतीलाई प्रवर्धन गर्नु पर्नेमा विरुवानै काटेर फालेपछि आलोचना समेत भयो ।  वनको जग्गा अतिक्रमण गरेर विरुवा रोपिए पनि वनकै स्वामित्वमा राख्ने गरी विरुवा संरक्षण गर्नुपर्नेमा वन समिति, डिभिजन वन कार्यालयले गरेको उत्पादन दिइरहेको विरुवा काट्ने कार्य भने वैज्ञानिक होइन ।

सामुदायिक वनको करिब पाँच हेक्टर क्षेत्रफलमा रोपिएका एक हजार ओखर स्याउका विरुवा उखेलिएको सानीपातल काफलबारी सामुदायिक वन समितिका अध्यक्ष रंगबहादुर रावतले बताउनु भयो । २०७१ सालदेखि अतिक्रमण गरेको जग्गा फिर्ता ल्याउन प्रयास गरेपनि नमानेपछि बाध्य भएर विरुवानै काट्नु पर्ने अवस्था आएको उहाँले भन्नुभयोे । अतिक्रमण गरेको जग्गा फिर्ता गर्ने धेरै निर्णय कार्यान्वनमा अटेरी गरेपछि सव डिभिजन वन कार्यालय नराकोट, प्रहरी र स्थानीयको सक्रियतामा विरुवा काटेका हौँ । अब अन्य विरुवा रोपेर वनलाई हराभरा बनाउँछौ ।’

उहाँले भन्नुभयो, उहाँका (प्रेमबहादुर) बुवालाई पहिलो हाम्रो सेवा गर्ने, देउतीको (देविदेवता) सेवा गर्ने भनेर भाडगाउँमा बसोबास गरेका हुन् । अहिले हाम्रो सेवा गर्न पनि छोडे देउतीको सेवा गर्न पनि छोडेर अन्य धर्म मानिरहेका छन् । खासमा उहाँको एक किर्ता जग्गा मात्रै दर्तावाला जग्गा छ भन्ने छ । उहाँको जग्गा छैन भनेर मैले पाँच हजार वर्गमिटरको नापी वाला जग्गा दिन खोजेको हुँ । तर उहाँले लिनु मान्नु भएन ।

डिभिजन वन कार्यालयका वन अधिकृत खड्कलाल नेपालीले नियमनुसार अतिक्रमण गरिएको वनको जग्गा खाली गरिएको बताउनु भयो । यो सबै वन कार्यालयले गरेको निर्णय होईन । उहाँले भन्नुभयो, ‘पटक पटक मुद्दा प्रकृयादेखि सहमति भएपनि अटेरी गरेपछि गाउँलेको सहमतिमा विरुवा काटिएको हो । फल्ने बेलाका विरुवा काट्न नहुनेमा हाम्रो पनि सहमति हो । तर वन ऐन २०७६ लगायतका अन्य ऐन नियमले पनि अतिक्रमण भएको जग्गा पूर्ण रुपमा खाली गराउनु पर्ने कानुनी प्रावधान छ । त्यसैले गाउँलेले अतिक्रमण हटाएका हुन् ।’ सामुदायिक वनको संरक्षण, अतिक्रमण हटाउने नियमन तथा निरीक्षण गर्ने अधिकार समेत सामुदायिक वन उपभोक्ता समितिलाई रहेको छ । अतिक्रमण भएको जमिन फिर्ता ल्याउन निकै कठिन रहेको उहाँको भनाइ छ ।

सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार भाडगाउँका प्रेमबहादुरको विपन्न परिवार नै हो । उहाँले भन्नुभयो ‘उहाँको नाममा २५ वर्गमिटर मात्रै दर्तावाला जग्गा रहेको छ । नापी नभएको त्यही स्याउको बगैचा थियो । त्यो पनि सामुदायिक वनको अतिक्रमण जग्गा परेपछि उहाँ समस्यामा पर्नु भएको छ । उहाँले जग्गाको व्यवस्थापन गर्नुभयो भने गाउँपालिकाले घर निर्माण गरिदिने योजना बनाएको छ । ’

Photo20240527Jumlaa (2)

Photo20240527Jumla (3)


मानदत्त रावल