भाउजु हत्या घटनाका आरोपित गिरफ्तार

  ०७९ जेठ १७ गते

बोदे बर्साइन नपा–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहको हत्या आरोपमा प्रहरीले २१ वर्षीय देवर परमेश्वर साहलाई जेठ १५ गते गिरफ्तार गरेको छ ।

इलाका प्रहरी कार्यालय बोदे बर्साइन सप्तरीबाट खटिएको प्रहरी टोलीले गाउँघरमा लुकीछिपी बसेको अवस्थामा आरोपितलाई गिरफ्तार गरेको जनाएको छ ।

आरोपितले ०७८ माघ २१ गते बिहान खाना पकाई रहेकी भाउजुमाथि पेट्रोल छर्केर आगो लगाएको आरोप छ ।

आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा माघ २२ गते राति विराटनगरमा मृत्यु भएको थियो । शवको पोष्टमार्टम ०७८ माघ २३ गते कोशी अस्पताल विराटनगरमा गरिएको थियो ।

बोतलमा खुल्ला पेट्रोल ल्याएका आरोपित परमेश्वरले खाना पकाइरहेकी पीडितको शरीरमा पेट्रोल छर्केर आगो लगाएको भन्दै मृतकका बुबा बोदे बर्साइन नपा–६ का बद्री साहले इलाका प्रहरी कार्यालय कडरबोनामा माघ २३ गते उजुरी दिनु भएको थियो ।

इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २६ गते उजुरी दर्ता गरेको थियो । मृतकका दुई वर्षीया छोरी र आठ वर्षीय छोरा छन् ।


मनोहरकुमार पोखरेल