भाइरलका बिरामीको बृद्धिका कारण अस्पतालको एउटा बेडमा दुई जना बिरामीको उपचार

डेंगु, स्क्रबटाइफस, मलेरिया र भाइरल ज्वरोका कारण हेटौँडा अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा बिरामीको चाप बढेपछि एउटै बेडमा दुई जनासम्म बिरामी राखेर उपचार गर्दै आएको अस्पतालले जनाएको छ ।

 

मकवानपुरगढी गाउँपालिका–३ निवासी ६५ वर्षीया बाटुली सञ्जेललाई निमोनियाको समस्या देखिएपछि हेटौँडा अस्पतालका चिकित्सक कमल दवाडीले भर्ना हुन सिफारिस लेखे । तर, अस्पतालमा भर्ना गर्न वार्डमा शैया नभएपछि उनले भर्ना हुन निकैबेर कुर्नुपर्‍यो ।

 

अस्पतालमा आउने बिरामीलाई शैया अभावमा भर्ना लिन अस्पताल व्यवस्थापनलाई कठिन भइरहेको छ । अस्पतालले नजिकका बिरामीलाई नियमित फलोअपमा रही औषधि सेवन गर्न र आराम गर्न लगाइरहेको छ ।

 

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएसँगै हेटौँडा अस्पतालमा बिरामीको सङ्ख्या बढ्दै आएको छ । दुई महिनाअघि हेटौँडामा डेंगु, स्क्रबटाइफस तथा मौसमी ज्वरोको कारण बिरामीको चाप बेढेको हो ।

 

दुइ वर्षअघि दैनिक मुस्किलले ३ सय बिरामी उपचारका लागि आउने अस्पतालमा हाल ५ सय देखि ७ सय सम्म बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।

 

अस्पतालमा पर्याप्त शैया नहुँदा आकस्मिक कक्षमा एउटै शैयामा तीन जनासमेत राखेर उपचार भइरहेको छ ।

 

हाल १ सय १० शैया रहेको अस्पतालले नयाँ निर्माणाधिन भवन तयार नभएसम्म स्थानको अभावमा शैया थप गर्न नसक्ने हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलको भनाई छ ।

 

अस्पतालको गुणस्तर सुधार गर्न प्रदेश ३ सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा अस्पतालको स्तर उन्नतीको पहल थालेको छ ।

photo20190907makawanpur (1)

photo20190907makawanpur (2)

photo20190907makawanpur (3)


पुष्पराज अधिकारी