भाँडा नमाझेको आरोपमा दलितमाथि निर्घात कुटपिट गरेको आरोप

  ०७४ असार २७ गते

मुसिकोट नगरपालिका-४ बडागाउँ हलोगाडेका ४२ वर्षीय कर्णबहादुर सार्कीमाथि असार २४ गते निर्घात कुटपिट भएको पीडितले आरोप लगाएका छन् ।

हलोगाडे बजारको एक पसलमा खाना खाएको भाँडा नमाझेको आरोपमा आफूमाथि ४० वर्षीया शोभा कार्की र उनका २५ वर्षीय छोरा कृष्ण कार्कीले कुटपिट गरेको पीडित सार्कीले बताए ।

पीडित पक्षले आरोपितविरुद्ध कुटपिट गरेको आरोपमा असार २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

पसलमा खाना खाएको भाँडा नमाझेको र पिसावसमेत फेरेको आरोपमा कुटपिट गरेको भन्दै उजुरी आएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका असई सत्यनारायण यादवले बताए ।

दुवै पक्षलाई असार २६ गते जिल्ला प्रहरी कार्यालयमा छलफलका लागि बोलाएको भएपनि वर्षातका कारण सडक अबरुद्ध हुँदा आउजाउमा कठिनाइ भएकाले छलफल गराउन नसकिएको उनले बताए ।

पीडित सार्कीको अहिले जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको र आँखामा रगत जमेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । त्यसैगरी ढाडमा लाठीका निलडाम छन् । बायाँ पट्टीको सातौ नम्बरको करङसमेत भाँचिएको उनको उपचार गरिरहेका डाक्टर सुरेन्द्र रायमाझीले बताए ।

पसल सञ्चालक तथा कुटपिट घटनाका आरोपित शोभा कार्कीले आफ्नो पसलमा पीडितले रक्सी किनेर नखाएको बताइन् । 'अन्यत्रैबाट रक्सीले मात्तिएर आएका थिए ।'-उनले भनिन्-'जथाभावी बोलेपछि मैले सम्झाएँ । अझ बढी बोल्दै गएपछि धक्काएको मात्र हो ।'

स्थानीय मिरा बिकले यहाँका होटल तथा पसलमा दलितहरूले सधैँ अनिवार्य भाँडा माझ्नु पर्ने बाध्यता रहेको बताइन् । 'दमन र अत्याचार नौलो होइन ।'-उनले भनिन्-'निर्घात कुटेर बेहोस हुँदासमेत अस्पताल लैजान अवरोध भयो ।'

त्यस्तै सोही स्थानका अमृत नेपालीले अहिले सम्म पनि आफूहरूलाई होटल र चिया पसलहरूमा भाँडा नमाझेको खण्डमा याताना दिने गरिएको बताए ।

मुसिकोट नगरपालिका-४ का नवनिर्वाचित वडाध्यक्ष ओमबहादुर केसीले घटनाका दुवै पक्ष सुध्रिनुपर्ने बताए । 'कसैलाई कुटपिट गर्न पाइँदैन र रक्सी खाएर जे पायो त्यहि बोल्न पनि मिल्दैन ।'-उनले भने-' सामाजिक कुरालाई राजनीतिसँग नजोडौँ ।'


टोपलाल अर्याल