भवन नहुँदा खेतमै पढ्न बाध्य

विद्यालयमा भवन नहुँदा बालबालिका खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन् । नाै महिनादेखि स्थानीयको बाँझो खेतमै बसेर पठनपाठन भइरहेकाे छ तर पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन ।

सदरमुकाम सिमकोटबाट ३५ किलोमिटर टाढा पर्ने सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँमा रहेको गणतन्त्र प्राथामिक विद्यालयको भवन गत वर्ष असोजमा भएको अविरल वर्षासँगै आएको बाढीपहिरोले विद्यालय भवन भत्काउँदा विद्यार्थीहरु अर्काको बाँझो खेतमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।

६ कोठे माटोले छाएको विद्यालय भवन भए पनि बाढीपहिरोले तीन ओटा कोठा भत्काएको र बाँकी तीन वटा कोठा जीर्ण भएर कोठामा बस्नै नमिल्ने अवस्थामा रहेका कारण गत असोजबाट नै सबै विद्यार्थीहरूलाई अर्काको बाँझो खेतमा बसालेर पठनपाठन गराउनु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक मिनबहादुर रावतले बताउनु भयो ।

बालविकासदेखि कक्षा पाँच सम्म पढाइ हुने यस विद्यालयमा घाम लागेको समयमा विद्यार्थी खेतमा राखेर पठनपाठन गरिए पनि पानी परेको दिन विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक रावतले गुनासो गर्नु भयो ।

विद्यालय पुनःनिर्माणका लागि सर्केगाड गाउँपालिका, सामाजिक विकास कार्यालय हुम्ला, कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश योजना आयोगमा पटक पटक अनुरोध गर्दा पनि कसैले सुनुवाइ नगरेको प्रधानाध्यापक रावतले आरोप लगाउनु भएको छ ।

विद्यालय भवन बाढी पहिरोले भत्काएपछि राम्रोसँग पठनपाठन नहुँदा विद्यार्थी संख्या १ सय २ जनाबाट घटेर ७८ जना मात्र रहेका छन् । ‘ती विद्यार्थीलाई पनि घाम–पानी छेक्ने कक्षा कोठा व्यवस्था कुनैपनि निकायबाट पहल नभएपछि केही सिप नलागेर घाम लागेको दिन मात्र खेतमै बसालेर पठनपाठन गर्नु पर्ने बाध्यता भएको प्रधानाध्यापक रावतले दुःखेसो पोख्नु भयो ।

पाँच कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा चार जना शिक्षकले घाम लागे मात्र चौरमा पठनपाठन गराउँदै आएका छन् । विद्यालयमा दुई जनाको दरबन्दी, बालविकास शिक्षक एक, पालिकाबाट अनुदान शिक्षक एक र विद्यालय कर्मचारी एक गरी जम्मा पाँच जना कार्यरत छन् ।

विद्यालय भवन अभावमा अहिले अर्काको बाँझो खेतमा विद्यार्थीलाई तीन ठाउँमा भेला गरी पढाउँदै आएको छ । हिउँदको मौसममा जसोतसो गुजारा चलाए पनि वर्षातको मौसममा भने कठिन हुने गरेको कक्षा ६ मा अध्यायनरत छात्रा पार्वति रावतले गुनासो गर्नु भएको छ । बाँझो खेतमा बसेर अध्ययन गर्नुपर्ने भएपछि कपडासमेत चाँडै फोहोर हुने हुँदा घरबाट काठको टुक्रा बोकेर ल्याइ भुइँमा राखेर बस्ने गरेको छात्रा रावतले बताउनु भयो ।

यस विद्यालयको समस्याको समाधानका लागि पहल भइरहेको सर्केगाड गाउँपालिका–१ का वडा अध्यक्ष बलबहादुर कार्कीले बताउनु भएको छ ।

सो विषयमा सर्केगाड गाँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीले आगामी साउनबाट विद्यालयको व्यवस्थापन गर्ने र विद्यार्थीका लागि पठनपाठनमा सहजता अपनाउने जानकारी दिनु भएको छ ।

Photo20230614Humla (1)

Photo20230614Humla (2)

Photo20230614Humla (5)


नन्द सिंह