भवन अभावमा कैदीबन्दीलाई सास्ती

  ०७८ पुस २२ गते

जिल्ला कारागार जाजरकोटमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्दा केदीबन्दीहरूले सास्ती भोग्नु परेको छ ।

१५ जना राख्ने क्षमताको कारागारमा ६३ जना राखिएको र आफूहरूको लागि शौचालयको अभाव, सुत्ने कोठा अभाव, ओढ्ने कपडाको कमी लगायतका समस्या भोग्नु परेको कैदीबन्हरूले गुनासो गरेका छन् ।

कैदी दिर्घबहादुर नेपालीले कैदीबन्दीहरूको अधिकारको विषयमा संविधानमा लेखिएका कुराहरू व्यवहारमा लागु नभएको बताउनुभयो ।

नेपालीले भन्नु भयो, -‘कारागारमा क्षमता भन्दा झण्डै ६ गुणा बढी कैदीबन्दी हुँदा सुत्न र शौचालय प्रयोग गर्न अत्यन्त समस्या छ ।’ ६३ जनाको लागि दुइवटा मात्र शौचालय हुँदा पीडा खपेर कुर्नु परिरहेको उहाँको दुःखेसो छ ।

कारागारका जेलर तेज विक्रम शाहले जाजरकोट कारागारको सुधारमा सहयोग गर्न सरोकारवालालाई आग्रह गर्नु भयो । महिला कैदीबन्दीको भवन नहुँदा महिला कैदीबन्दीलाई बाँके वा दैलेख जिल्लामा पठाउने गरेको उहाँको भनाइ छ ।

उहाँका अनुसार १५ जना क्षमताको कारागारमा ६३ जना राख्दा व्यवस्थापन गर्न कठिनाइ भएको छ । जाडोको समयमा ओढ्ने कपडाको कमी भएकोले एउटै ओढ्ने कपडामा ३/४ जना कोच्चिएर सुत्नु परेको पनि जेलर शाहले बताउनुभयो ।

कारागार प्रशासनका लागि नयाँ भवन बनेपनि कैदीबन्दी बस्ने भवन भने जिर्ण अवस्थामा रहेको छ । जसको छतबाट पानी चुहिने गरेको हुँदा वर्षातको समयमा सास्ती हुने गरेको जेलर शाहले जानकारी दिनुभयो ।

मानव अधिकार रक्षक सञ्जाल जाजरकोटका संयोजक राजेन्द्र विक्रम शाहले कारागारको सुधारका लागि सम्बन्धित मुख्य सरोकारवाला निकायले ध्यान दिनुुपर्ने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले कारागार प्रशासनले त्यहाँको समस्याबारे जिल्ला सुरक्षा समितिको बैठकमा कुरा राखेमा आफूले कारागार व्यवस्था विभागमा जानकारीसहित अनुरोध गर्ने बताउनुुभयो ।

यस सन्दर्भमा कर्णाली प्रदेश सभाका सदस्य कृष्णा शाहले क्षमताभन्दा बढी कैदीबन्दी भएको भन्नेबारे सामान्य जानकारी भएको भन्दै थप झकझक्याएकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।

कारागारको समग्रम विषयमा संसदमा कुरा राख्नुको साथै कर्णाली सरकारबाट भौतिक संरचना निर्माणका लागि आफूले पहल गर्ने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।


दिनेशकुमार श्रेष्ठ