भरतपुर निर्वाचन पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन प्रकाशन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले भरतपुर महानगरपालिका-१९ मा आज सम्पन्न स्थानीय तहको निर्वाचनको प्रारम्भिक प्रतिवेदन प्रकाशन गरेको छ ।

इन्सेक क्षेत्रीय कार्यालय काठमाडौँका संयोजक कृष्ण गौतम नेतृत्वको टोलीले निर्वाचन पर्यवेक्षणका क्रममा प्राप्त गरेका तथ्यका आधारमा उक्त प्रतिवेदन जारी गरिएको जनाइएको छ ।

प्रतिवेदनमा भनिएको छ-'यस निर्वाचनमा ७५ प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक सूचना छ ।'

गत वैशाख ३१ गते नै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २०७४ जेठ १४ गते राति नेकपा माओवादी केन्द्रका कार्यकर्ताले ९० थान मतपत्र च्यातेपछि विवादित बनेको भरतपुरमा सर्वोच्च अदालतको फैसलापछि आज मतदान भएको हो ।

निर्वाचन आयोगले जेठ २० गते सो वडामा पुनः मतदान गर्ने निर्णय गरेकोमा निर्वाचन आयोगको निर्णय विरुद्ध अर्थात पुनः मतदान होइन, पुनः मतगणनाको माग गर्दै भरतपुर-१९ का वडा सदस्य पदका उम्मेदवार गुञ्जमान बिक र सोही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले जेठ २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

झण्डै दुई महिनाको बहसपछि साउन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले मतपत्र च्यातिएको वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो । अदालतको फैसलापछि सो वडाको निर्वाचन साउन २० गते गर्ने निर्णय राजनीतिक दलहरूको सहभागितामा जिल्ला निर्वाचन कार्यालयले गरेको थियो ।

पर्यवेक्षण प्रतिवेदनमा भनिएको छ-'मौसम अनुकूल मतदान केन्द्रको व्यवस्था नगरिँदा मतदानमा अवरोध हुनुका साथै मतदाताले सास्ती भोग्नु परेको थियो । वर्षात्का कारण तीनवटै मतदानस्थलमा केही समय ढिला गरी मतदान प्रारम्भ भएको पाइयो ।'

त्यसैगरी निर्वाचन आचारसंहिता विपरीत अरु नै प्रयोजनका लागि सवारी पास लिएका गाडीलाई मतदाता ओसार्न प्रयोग गरेको र सवारी पास किर्ते बनाएको समेत पाइएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी एउटा मात्रै वडामा निर्वाचन भए पनि अत्यधिक सुरक्षाकर्मी परिचालन गरिएका कारण मतदातामा केही संशय र त्रास उत्पन्न भएको पाइएको प्रतिवेदनमा जनाइएको छ ।


अनलाइन डेस्क