भयरहित वातावरणमा बाँच्न पाउने अधिकारको संरक्षण गर्न मानव अधिकार आयोगको आग्रह

बम विष्फोट, आगजनी तथा तोडफोडका घटनाहरूबाट भएको जनधनको क्षतिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

राजधानी काठमाडौँ तथा मोरङ, मकवानपुर, तनहुँ, पोखरा, नवलपरासी (पूर्व), बैतडी, सुर्खेत, सर्लाही, सिन्धुलीलगायतका जिल्लाहरूमा जेठ १२ गते साँझ र जेठ १३ गते भएका बम विष्फोटका घटनाहरूप्रति जेठ १३ गते विज्ञप्ति प्रकाशन गरेर आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

जेठ १२ गते काठमाडौंमा चार जनाको मृत्यु भएको, विभिन्न ठाउँमा भएका विष्फोट, आगजनी तथा बम बिस्फोट लगायतका घटनाबाट आठ जना घाइते भएको आयोगले जनाएको छ ।

देशका विभिन्न ठाउँमा भेटिएका विष्फोटक पदार्थका कारण नागरिकमा भय र त्रासको वातावरण सिर्जना भई स्वतन्त्र र निर्भयपूर्वक आवतजावत गर्न कठिनाई सिर्जना भएको आयोगले जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा जेठ १३ गते आह्वान गरिएको बन्दले जनजीवन कष्टप्रद बनेको छ भने सार्वजनिक यात्रुबाहक बसलगायत विभिन्न सवारी साधनहरूलाई लक्षित गरी बम आक्रमण गर्दा केही सवारी साधनमा क्षति पुगेको पाइएको बताइएको छ ।

‘यी घटनाहरूबाट मानव अधिकारको विश्वव्यापी घोषणा पत्र १९४८, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध १९६६, नेपाल पक्ष बनेका अन्तर्राष्ट्रिय महासन्धिहरू, नेपालको संविधान २०७२ को धारा १६ मा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको अधिकारको समेत उल्लङ्घन भएको छ ।’–विज्ञप्तिमा उल्लेख छ ।


दीपकप्रसाद घिमिरे