भदाको हत्या गरेको कसुरमा फूपुलाई जन्म कैदको फैसला

  ०७३ मङ्सिर २७ गते

विजौरी गाविस-२ सक्रामका आठ वर्षीय बालक दिपक केसीको हत्या घटनामा उनकै फूपु २६ वर्षीया गोमती खत्रीलाई दोषी ठहर गर्दै दाङ जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको फैसला गरेको छ ।

न्यायाधीश चुरामन खड्काको इजलासले मङ्सिर २७ गते खत्रीलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको हो । खत्रीले धारिलो हतियार प्रहार गरी ०७३ असार २४ गते बालकको हत्या गरेकी थिइन् ।

असार २५ गते मृतकका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि हत्यामा संलग्न भएको आरोपमा गोमतीलाई प्रहरीले असार २६ गते गिरफ्तार गरेको थियो ।

बुवा-आमा काममा गएको बेला घरमा रहेका बालकको हत्या गरेको आरोपमा असार २७ गते जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको थियो ।


जे.एन.सागर