भजन मानव अधिकार पुरस्कार छनौट सिफारिस समिति गठन

  ०७९ मङ्सिर ९ गते

भजन मानव अधिकार पुरस्कार छनौट सिफारिस समिति गठन भएको छ । भजनराम स्मृति अक्षय कोषको मङ्सिर ९ गते बसेको बैठकले बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा उक्त संस्थाका सदस्य निर्मला सुनार र प्रदीप चौधरी सदस्य रहेका छन् ।

सिफारिस समितिले साबिकको मध्य पश्चिमाञ्चल क्षेत्रमा मानव अधिकार र समाजिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरू मध्येबाट छनौट गरी कमिटिमा पेश गर्ने छ । लामो समयसम्म इन्सेक नेपालगञ्जमा कार्यरत भजनराम चौधरी ०६९ जेठ १६ गते प्रात भ्रमणमा रहेको समयमा बसको ठक्करबाट मृत्यु भएको थियो ।

नेपालगञ्जलगायतका सङ्घ, संस्थामा आवद्ध अधिकारकर्मी तथा सञ्चारकर्मीहरूले संस्थागत र व्यक्तिगत  सहयोगमा अक्षय कोष स्थापना गरी प्रत्येक दुई वर्षको फरकमा एक जनालाई पुरस्कृत गर्ने गरिएको संस्थाका अध्यक्ष अधिवक्ता बसन्त गौतमले बताउनु भयो ।

भजन मानव अधिकार पहिलो पुरस्कार ०६९ बर्दिया जिल्लाकी मङ्गलाकुमारी श्रेष्ठलाई प्रदान गरिएको संस्थाका सचिव तथा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।

सिफारिस समितिका संयोजक बरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठले समाजिक र मानव अधिकारका क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वको छनौट गरी मङ्सिर १८ गते कमिटिका पेश गर्ने जानकारी दिनु भयो ।

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस १० डिसेम्बरको अवसर पारेर प्रत्येक दुई वर्षमा दिने भजन मानव अधिकार पुरस्कारको राशी २५ हजार रूपियाँ रहेको छ ।


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज