नेपाली कांग्रेसका सभापतिमाथि आक्रमण, आरोपित गिरफ्तार

  ०८१ वैशाख २ गते

नेपाली कांग्रेसका जिल्ला सभापति ५६ वर्षीय केशबहादुर विष्टमाथि बोतल प्रहार गरी घाइते बनाएकाे आराेपमा पुर्वाधार विकास कार्यालयका प्रमुख हरि बहादुर वलीलाई प्रहरीले वैशाख २ गते गिरफ्तार गरेको छ । आरोपितले ०८० चैत २९ गते टाउकोमा बियरको बोतल प्रहार गरेको पीडितले आरोप लगाउनु भयो ।

सल्यान प्रदेश सभा (ख) का सांसद सुरेश अधिकारीसहित सभापति विष्ट सुर्खेतबाट सल्यानतर्फ फर्कँदै गर्दा राति ९ बजे बनगाड कुपिण्डे नगरपालिकाको बालुवासंग्रही स्थित कृष्ण होटेलमा पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख वली, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय सल्यानका प्रमुख ज्वाला शाही लगायतको समूह बीच विवाद हुँदा विष्टमाथि बियरको बोतल प्रहार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो।  पीडितको टाउकोमा चोट लागेको छ । सल्लीबजार र सुर्खेतमा उपचार पश्चात थप उपचार काठमाडौँमा भइरहेको छ।

पीडितले ०७९ चैत ३० गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । मेलमिलाप गर्नेगरी घटनालाई गुपचुप राखिए पनि सहमति हुन नसकेपछि घटना बाहिरिएको हो । पीडितको उजुरीका आधारमा आरोपितलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनुभयो ।

दोषीलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले पार्टीका सभापति केशबहादुर बिष्टमाथि हातपात गरी घाइते बनाएका पुर्वाधार विकास कार्यालय सल्यानका प्रमुख हरि बहादुर वलीलाई प्रचलित कानुन अनुसार हदैसम्मको कारबाहीको माग गरेको छ । पार्टी कार्यालयमा वैशाख २ गते पत्रकार सम्मेलन गर्दै पार्टीका कार्यवाहक सभापति सन्तोष केसीले पार्टी सभापतिको ज्यान मार्ने उद्धेश्यले पुर्वाधारका हाकिमले आक्रमण गरेकाले दोषीलाई कडा कारबाही हुनुपर्ने बताउनुभएको छ ।

‘यदी घटनाका दोषीलाई कानुनी दायरामा नल्याउने, आलटाल गर्ने कार्य सम्बन्धित निकायले गरेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्थानीय प्रशासन र सम्बन्धित निकायको हुने व्यहोरा सबैमा जानकारी गराइन्छ’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यस्तै गरी, दोषीलाई हदैसम्मको कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।
Photo20240414Salyan (3)

Photo20240414Salyan (2)

Photo20240414Salyan (1)


बुद्धिमान पुन