बोटे बालबालिका जसले कष्टकर जीवन गुजार्दैछन् (फोटोसहित)
खरको छानो लगाइएको एकतले घर पानीले चुहिने भएपछि माथिबाट प्लाष्टिकले ओताइएको छ । घरको लिपपोत नभएको पनि वर्षौँ भएजस्तो देखिन्छ । पुरानिएको घरले विश्राम लिन खोज्दैछ । त्यही घरमा दुई जना बालबालिकाले आफ्नो कष्टकर दैनिकी गुजार्दै आएका छन् ।
पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका-७ खानीगाउँ दैलातुङको बोटे गाउँको दृश्य हो यो । बावु आमाको मृत्युपछि यहाँका दुई जना बोटे बालबालिका बेसाहारा मात्रै भएका छैनन् उनीहरू बेवारिसे जस्तै भएका छन् । १४ वर्षीया हेमा बोटे र उनका १० वर्षीय भाइ सन्तबीर बोटेले अहिले आमा बावुको अभावमा कष्टकर रूपमा दिनरात गुजार्दै आएका हुन् ।
हेमा शारिरीक रूपले समेत अशक्त छन् । उनी सहज रूपमा हिँड्डुल गर्न र विद्यालय जानसमेत सक्दिनन् भने कक्षा १ मा पढ्ने सन्तबीर महिनामा मुस्किलले एक/दुई दिन मात्रै विद्यालय जान्छन् । स्थानीय दैलातुङ आधारभुत विद्यालय पैदल ५ मिनेटमै पुग्न सकिन्छ तर उनीहरूलाई शैक्षिक वातावरणले आकर्षित गर्न सकेको छैन ।
जन्म दिने आमाले सदाका लागि छोडेर गएको पनि तीन वर्षभइसक्यो । आमाको मृत्युपछि गोडासम्बन्धी रोगले ग्रस्त भएका बावुको एक वर्षअघि निधन भएको थियो । बावु आमाको निधनपछि उनीहरू आफ्नै घरमा हजुरआमासँगै बस्दै आएका थिए । हजुरआमाको पनि तीन महिनाअघि निधन भएपछि उनीहरू थप समस्यामा परेका हुन् ।
समस्या भान्छादेखि सुत्ने लुगाफाटासम्मको
कात्तिक २५ गते शनिबार बिहान १० बज्दासम्म उनीहरूको चुल्होमा आगो बलेको थिएन । भान्छाकोठाको छेउमा एउटा बोरामा चामल थियो तर पकाउने तरकारी थिएन । न त नुन नै थियो न त मसला नै ! अब खाना पकाउने होला नि भन्ने जिज्ञाशामा सन्तबीरले भने-"चामल त छ तर तरकारी केही छैन ।" उनका अनुसार अभावकै कारण कैयौँ रात भोकै सुत्नु परेको छ ।
उनीहरूसित ओढ्ने ओछ्याउनेसमेत छैन । काली गण्डकी किनार छेउमा रहेको उनीहरूको घरले हावा समेत राम्रो गरि छेक्दैन । पानी पर्दा उनीहरूको घर चुहिन्छ । हेमाले भनिन्-"यही गुन्द्री ओछ्याएर सुत्छौँ ।" सन्तबीरका दुई जना दाइहरू पनि छन् । उनीहरू नेपालगञ्जतिर मजुदरी गर्छन् । दाइले पठाएको पैसाले उनीहरूले चामल किनेका हुन् । दुईजना दिदीहरूको बिहे भइसक्यो । दिदीहरूलाई दुःखसुख आफ्नो घर चलाउँदै ठिक्क छ ।
धेरै पटक पानीले कापी किताव भिजायो
हेमाको खासै पढ्ने मन पनि छैन र बिद्यालय पनि जाँदिनन् । उनले आफ्नो समेत राम्रो गरी भन्न जान्दिनन् । शिक्षकहरूका अनुसार सन्तबीरको टाठा छन् । तर, उनले विद्यालय जाने समय सधै अप्ठेरो नै भोग्नुपर्यो । यसकारण पनि उनी अहिलेसम्म कक्षा एक मै छन् । सकी नसकी घरको माथिल्लो तलामा निस्केर बाकसबाट किताव कापी निकाल्दै सन्तबीरले भने-"आकाशको पानीले धेरै कापी भिजाइदियो, अहिले बाकसमा राखेर जतन गरेको छु ।"
हेमा र सन्तबीरको बिकल्प के हो त ?
त्यही भत्किनै लागेको घर बाहेक उनीहरूको सम्पत्ति केही छैन । उनीहरूको दैनिकी झनै कष्टकर बन्दै आएको छ । स्थानीय बोटे समुदायका अगुवा गजबीर बोटेले भने-"यिनीहरूले यहाँ साह्रै दुःख पाएका छन् । जिल्लातिर यस्ता बालबालिकाहरूलाई राख्ने बालगृहहरू पनि छन् । तिनै बालगृहहरूमा राखेर उनीहरूलाई पढाउने व्यवस्था गर्न सके धेरै राम्रो हुने थियो ।"
इन्सेकको पहलमा गठन भएको मानव अधिकार निगरानी समूह खानीगाउँका सदस्य पदमराज बस्यालले उनीहरूले साह्रै दुःख पाएकोले सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले भने-"यो गाउँमा ६ जना बालबालिका यस्तै अभिभावकविहीन भएका छन् । तर, सबैभन्दा अप्ठेरो यिनै हेमा र सन्तबीरले भोगेका छन् ।"
वडा कार्यालय खानीगाउँका वडा सचिव हरि बस्यालले हेमाको अपाङ्गता परिचयपत्र बनाई उनलाई अपाङ्गता भत्तासमेत प्रदान गर्न सकिने बताए । उनले वडा कार्यालयले यस विषयमा तदारूकताका साथ काम गर्ने बताए ।
महिला तथा बालबालिका कार्यालय पाल्पाका निमित्त प्रमुख मनोज आचार्यले यस विषयमा उनीहरूकै घरमा पुगेर अध्ययन गरी कार्यालयको तर्फबाट गर्न सकिने सहयोग गर्ने प्रतिबद्वता जनाए । उनले वडा सचिवमार्फत सबै जानकारी लिई कार्यालयको तर्फबाट अन्य सरकारी तथा गैरसरकारी निकायहरूसित समेत समन्वय गरी उनीहरूको समस्या समाधान गरिने बताए ।
बोटे बस्तीका बालबालिकामा अझै समस्या
दैलातुङ फाँटको बोटे गाउँमा अहिले १७ घर परिवार बस्छन् । यहाँ नजिकै कक्षा ८ सम्म पढाई हुने आधारभुत विद्यालय पनि छ । विद्यालयमा सबै बोटे बालबालिका भर्ना भएका छन् । तर, बिद्यालय जाने क्रम भने ज्यादै न्यून छ । अधिकांश बालबालिकाहरूले घरमै खेलेर वा कालीगण्डकीमा माछा मारेर समय बिताउने गरेका छन् ।
जसो तसो कक्षा ८ सम्म पढेका बोटे बालबालिकाहरू माध्यमिक शिक्षा लिनका लागि झण्डै २ घण्टाको उकालो पैदलबाट खानीगाउँ मावि रामबगैचामा निस्कनुपर्छ तर यो बिद्यालयमा अहिले माध्यमिक शिक्षा लिन आउने बोटे बालबालिकाको सङ्ख्या दुई जना छात्रा मात्रै रहेको विद्यालयकी प्रधानाध्यापक कल्पना भुसालले बताइन् ।
माध्यमिक शिक्षा लिने बेलासम्म धेरैले विद्यालय छोडिसकेका हुन्छन् । स्थानीय दैलातुङ आधारभुत विद्यालयका प्रधानाध्यापक केशव खरालले सरकारले बोटे बालबालिकाका लागि खाजा खर्चलगायतका सुविधा दिएपनि यसले उनीहरूलाई आकर्षित गर्न नसकेको बताए । अहिलेसम्म यहाँका बोटे समुदायबाट दुई जनाले मात्रै एसएलसी उत्तीर्ण गरेका छन् ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका कसुरदार गिरफ्तार
सात वर्षीया बलिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ५ महिना २९ दिन कैद सजायको फैसला भएको १३ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २८ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर उमनपा–४ का २८ वर्षीय सुमन भन्ने मनोज भण्डारीलाई दोषी ठहर गर्दै जिल्ला अदालतले १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
घोडाघोडी नगरपालिकाद्वारा दलित र मुक्त कमैयालाई घर हस्तान्तरण
घोडाघोडी नगरपालिकामा मुक्त कमैया र अवासबिहिन दलित गरी १२ परिवारलाई सुरक्षित आवासको लागि ०८१ माघ २८ गते घर हस्तान्तरण गरिएको छ । घोडाघोडी नगरपालिका, हेविट्याट फर ह्युमानिटी नेपाल र राष्ट्रिय…
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…